यस्तापनि शिक्षक…

२०७१ जेष्ठ २८ गते, बुधबार


काठमाडौं, २८ जेठ । जिल्ला शिक्षा कार्यालय इलामले मादकपदार्थ सेवन गर्ने शिक्षकलाई कारबाही सुरु गरेको छ ।शिक्षकले विद्यालयमा मापसे गरेर पढाउने गरेको जिशिकाले थाहा पाएपछि त्यस्ता शिक्षकलाई विभागीय कारबाही सुरु गरेको हो ।शिक्षक आचारसंहिता र कानुनविपरीत मापसे गरेर पढाउने शिक्षकको विवरण लिएर कारबाही सुरु गरिएको जिशिकाले जनाएको छ । मापसे गरी विद्यालयमा पढाउने २२ जना शिक्षकलाई कार्यालयले विभागीय कारबाही थालेको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए । मापसे गर्ने शिक्षकले विद्यालयलाई जानकारी नै नदिई लामो समयसम्म अनुपस्थित हुने गरेको समेत पाइएको छ ।
मापसे गर्ने २२ जना शिक्षकमध्ये १० जना कारबाहीमा परेका छन् । तीमध्ये तीनजनाले आफैँ जागिर छाडेको जिशिकाले जनाएको छ । सातजनाले मापसे गर्न छाडेर बानी व्यहोरा परिवर्तन गरेको जिशिअ पुरीले बताउए ।
जिशिकाले स्थानीय एफएम रेडियो, दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा सूचना प्रकाशन गरेको थियो । त्यस्ता शिक्षकको जानकारी दिने व्यक्तिको नाम गोप्य राख्न थालेपछि उजुरी बढ्दै गएको बताइएको छ ।
उजुरी पर्न थालेपछि कार्यालयले त्यस्ता विद्यालयको अनुगमन गर्न थालेको छ । अनुगमनका क्रममा जिशिअले मापसे गर्ने शिक्षकलाई प्रत्यक्ष रूपमा आचरण सुधार्न निर्देशन दिने र आचरण सुधार नगरे विभागीय कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।
सञ्चारमाध्यममा सूचना प्रकाशन तथा प्रसारण गर्न थालेपछि थप १२ जनाविरुद्ध कार्यालयमा उजुरी परेको छ । विद्यालय ढिलो जाने, विद्यालयमा कार्यालय समयावधिभर नबस्ने शिक्षकलाई छड्के अनुगमन गरेर कारबाही सुरु गरिएको छ ।
मापसे गरी कारबाही गरिएका शिक्षकको नाम भने गोप्य राखिने कार्यालयले जनाएको छ । एक÷दुईजनालाई कारबाही गरेपछि अन्य धेरैले आचरण सुधार गरेको पाइएको जिशिकाले बताएको छ ।

प्रतिक्रियाहरु