एक सय ७४औँ दिनसम्म अनशन बस्दा पनि सुनुवाइ भएन

२०७१ जेष्ठ २७ गते, मंगलवार

काठमाडौँ – शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने माग राखी रिले अनशन बसेको १७४ दिनसम्म पनि सरकारले कुनै चासो नदेखाएको भन्दै अनशनकर्मीले गुनासो गरेका छन्। शिक्षा ऐन र सहमतिलाई नियमावली बनाई कार्यान्वयन गर्नुपर्ने र सेवा अवधि गणना गरी अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने माग गर्दै गत पुस ३ गतेदेखि रिले अनशनमा बसेका अनशनकर्मीले आज पत्रकारसँग कुरा गर्दै सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको गुनासो गरे। सरकारले पटकपटक गरेका सहमतिसमेत कार्यान्वयन नगरेको अनशनकर्मीको भनाइ छ। अनशन अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिको अगुवाइमा सुरु गरिएको हो।
कुनै पनि बहानामा अस्थायी शिक्षकलाई हटाउन नहुने, विद्यालय शिक्षक कर्मचारी पोसाक भत्ता उपलब्ध गराउनुपर्नेलगायतका माग व्यावहारिक रुपमा कार्यान्वयन नभएसम्म आफूहरुको अनशन नरोकिने अनशनकर्ता बिन्दाकुमार दास चौधरीले बताए। सुरुका केही महिनासम्म तीन जनाका दरले अनशन बस्न सुरु गरिए पनि पछिल्लोपटक भने एक जनामात्र बस्न थालिएको छ।

प्रतिक्रियाहरु