राष्ट्रिय सरसफाइ सप्ताह सुरु

२०७१ जेष्ठ २२ गते, बिहीबार


काठमाडौ, २२ जेठ । आजवाट १५ औं राष्ट्रिय सरसफाइ सप्ताह बिहीबार शुरु भएको छ ।‘खुला दिसामुक्त गर्दै अघि बढ्यो नेपाल, सफा सुन्दर गाउँ शहर तराई पहाड हिमाल’ भन्ने नाराका साथ विश्व वातावरणका अवसरमा सरसफाई सप्ताह पनि शुरु भएको हो ।
जेठ २८ गतेसम्म पानीका श्रोत, गाउँटोल सरसफाइ, खुला दिसामुक्त घोषणा, फोहोरको वर्गीकरण र व्यवस्थापन, संस्थागत निकायको सरसफाई लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदैछ । सरसफाइको मुख्य पक्ष मानिएको खुला दिसा गर्ने कामलाई निरुत्साहित गरी सफा गाउँ र शहर निर्माण गर्नका लागि खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रम भइरहेको छ ।
अहिलेसम्म १३ वटा जिल्ला पूर्ण रुपमा खुला दिसामुक्त घोषणा गरिएको छ । यस्तै विभिन्न नगरपालिका र गाविसहरुमा पनि शौचालय निर्माणलाई बढावा दिई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ । स्वास्थ्य, सभ्यता र विकासका लागि सरसफाइ अत्यावश्यक भएकाले नागरिकहरुलाई आ–आफ्नो क्षेत्रको सफाइमा उत्प्रेरित गर्ने काम भइरहेको राष्ट्रिय सरसफाई समन्वय समितिले जनाएको छ ।
काठमाडौ उपत्यकामा शहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय, गृह, शिक्षा, स्वास्थ्य र वातावरण मन्त्रालय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौ महानगरपालिकाले नागरिक सरकारी एवं गैरसरकारी संघसंस्थासंग मिलेर विशेष कार्यक्रम गर्दैछन् ।
नेपालमा हरेक परिवारले दैनिक सरदर २ सय ग्राम फोहर उत्पादन गर्ने गरेका भने मुलुकभर दैनिक सरदर झण्डै साढे ५ हजार मेट्रिक टन फोहर उत्पादन हुने देखिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले जनाएको छ । घरबाट निस्कने फोहरको मात्रा कम गर्ने र वर्गीकरण नगर्ने हो भने प्राकृतिक सम्पदा नष्ट हुने, वातावरणमा गम्भीर असर गर्ने र भावी पुस्ता संकटमा पर्ने भन्दै केन्द्रले सरसफाइमा ध्यान दिन आह्वान गरेको छ ।

प्रतिक्रियाहरु