शुल्क वृद्धि गर्ने आठ विद्यालयमाथि कारबाही

२०७१ जेष्ठ २० गते, मंगलवार

काठमाडौँ ,२० जेठ। केन्द्रीय शुल्क अनुगमन समितिले मापदण्डविपरीत शुल्क वृद्धि गर्ने काठमाडौँ उपत्यकाका आठ संस्थागत (निजी) विद्यालयलाई हदैसम्मको कारबाहीको सिफारिस गरेको छ ।समितिको मंगलबार बसेको बैठकले निर्देशक टेकनारायण पाण्डे संयोजक रहेको अध्ययन तथा अनुगमन कार्यदलको सुझावका आधारमा यस्तो निर्णय गरेको हो । सर्वाेच्च अदालतको आदेशलाई पनि अटेर गरी निजी विद्यालयले शुल्क वृद्धि गरेको गुनासो आएपछि सो अनुगमन गरिएको थियो ।
अनुगमन समितिका सदस्य एवम् अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार कारबाही गरिने विद्यालयमा राजर्षी गुरुकुल, युरोकिड इन्टरनेसनल, त्रियोग, काष्ठमण्डप, चेल्सी इन्टरनेसनल, पाठशाला, काव्य स्कुल र रोजवर्ड छन् ।
शुल्क बढाउँदा पनि मौन बस्ने सम्बन्धित विद्यालय निरीक्षक र स्रोत व्यक्ति पनि कारबाहीमा पर्ने छन् । समितिले विद्यालय हाताभित्र पाठयपुस्तक बिक्री गर्नेलाई पनि कारबाही गर्ने, निजी विद्यालयका शिक्षकलाई लाइसेन्स प्रणाली लागू गर्ने तथा निजी विद्यालयका शिक्षकलाई अबदेखि बैंकबाट तलब वितरण गर्ने निर्णय पनि गरेको छ । – रासस

प्रतिक्रियाहरु