सौर्य प्रविधिबाट खानेपानी

२०७१ जेष्ठ १ गते, बिहीबार

काठमाडौं ,१ जेठ। खानेपानीको पहुँच नपुगेका जिल्लाका दक्षिणी क्षेत्रका गाविसमा सौर्य प्रणाली जडान गरी खानेपानी विस्तार गरिएको छ । खानेपानी नपुगेका दानाबारी, महमाई गाविसमा सौर्य प्रविधिबाट ग्रामीण बस्तीमा खानेपानी पुर्‍याएको हो ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) को प्राविधिक सहयोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक लगानी तथा समुदायको श्रमदानमा महमाई-२ र ३, दानाबारी-९, महमाई-३ र महमाई-९ लोसेमा सौर्य प्रणाली जडान गरी खानेपानी आयोजना सञ्चालन गरिएको हो ।
महमाई-३ मा ४४ घरधुरीका लागि मूलधारा ग्रामीण सौर्य खानेपानी आयोजना सञ्चालन गरिएको छ । ९६० वाट क्षमताको सोलारमार्फत तलको पानी माथि ल्याई खानेपानी टयाङ्कीमार्फत समुदायमा वितरण गरिन्छ ।
कुल १७ लाखको लागतमा निर्माण भएको आयोजनाका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १२ लाख अनुदान प्राप्त भएको एनसिडिसीका कर्मचारी गोविन्द पौडेलले जानकारी दिए । विद्युत् सेवा नपुगेको, बस्तीबाट तल खानेपानी मुहान भएको, खानेपानीबाट वञ्चित उपभोक्तालाई एनसिडिसीले सौर्य प्रविधिमार्फत खानेपानी सुविधा पुर्‍याउँदै आएको छ ।
महमाई-९ स्थित लोसे भन्ने स्थानमा भञ्ज्याङ खोला ग्रामीण सौर्य खानेपानी आयोजनाबाट ४६ घरधुरीका उपभोक्ता लाभान्वित भएका छन् ।
एक हजार १ सय ४० वाट क्षमताको सोलार प्यानलबाट पानी तानेर गाउँमा वितरण गरिएको छ । कुल १९ लाख ५० हजारमध्ये वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट १४ लाख ६२ हजार ५ सयरुपैयाँ प्राप्त भएको र बाँकी स्थानीयले सङ्कलन गरी आयोजना सम्पन्न गरिएको हो ।
सौर्य प्रविधिबाट खानेपानी सेवा विस्तार गर्ने प्रविधि प्रभावकारी देखिएकाले अहिले गाउँ-गाउँबाट माग आउन थालेको एनसिडिसीले जनाएको छ । इलामबाहेक पाँचथरको आरूबोटे, कुरूम्वा र रबीमा सौर्य प्रणालीबाट खानेपानी अभाव भएका गाउँमा आयोजना सञ्चालन गरिएको छ ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार