कुकुरलाई मरणोपरान्त उच्च सैन्य सम्मान

२०७१ बैशाख १७ गते, बुधबार


काठमाडौं । बेलायती सेनाको एक कुकुरलाई मरणोपरान्त उच्च सैन्य सम्मान प्रदान गरिने भएको छ ।सो कुकुरले अफगानिस्तानमा ड्यूटीका क्रममा ज्यान गुमाएको थियो । पिपुल्स डिस्पेन्सरी फर सिक एनिमल (पिडिएसए)ले यो पुरस्कारलाई पशुलाई दिइने भिक्टोरिया क्रस भनेको छ ।विष्फोटक पदार्थ पत्ता लगाउन तैनाथ गरिएको सासा नाम गरेको ४ वर्षको येल्लो लेब्राडोर कुकुरलाई ‘पिडिएसए डिक्किन मेडल’ प्रदान गरिने भएको हो । यो मेडल पाउने सासा ६५ औं पशु रहेको गार्जियन पत्रिकाले जनाएको छ ।संस्थाले सासाले देखाएको कर्तव्यप्रतिको समर्पण, अटुट सेवा र बलिदानीका लागि यो पुरस्कार दिने निर्णय गरिएको जनाएको छ । सन् २००८ को जुलाईमा नियमित गस्तीका क्रममा ग्रेनेड आक्रमणमा परी सासा र रोवेको एकैसाथ ज्यान गएको थियो ।
सासाको जिम्मेवारी सेनाका लागि सुरक्षित मार्ग तय गर्न गस्ती गर्ने र विष्फोटक पदार्थ पत्ता लगाउने थियो । सासाले एकपल्ट दुईवटा मोर्टार र ठूलो परिमाणको विष्फोटक पदार्थ पत्ता लगाएर धेरै सैनिक र नागरिकको ज्यान बचाएको घटनालाई संस्थाले विशेष रुपमा उल्लेख गरेको छ ।
सासालाई बेलायतको सेकेन्ड बटालियन प्यारासुट रेजिमेन्ट अन्तर्गत रोयल आर्मी भेटेरीनरी कर्पस्मार्फत सन् २००८ मा ल्यान्स कर्पोरल केनेथ रोवेसंगै अफगानिस्तानको कान्दाहार क्षेत्रमा खटाइएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु