पर्यटन प्रवर्द्धन गर्न हवाईजहाज सङ्ग्रहालय

२०७० चैत्र १३ गते, बिहीबार

काठमाडौं,१३ चैत। पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले कैलालीको धनगढीमा नेपालकै पहिलो हवाईजहाज सङ्ग्रहालय सञ्चालनको तयारी सुरु गरिएको छ । कैलाली जिल्ला बेलादेविपुर गाविस घर भई इन्डोनेसियाको लायन एयर विमान कम्पनीमा प्रशिक्षकको रूपमा कार्यरत क्याप्टेन वेद उप्रेतीको पहलमा यो सङ्ग्रहालय सञ्चालनको तयारी सुरु गरिएको हो । सङ्ग्रहालयको तयारीको क्रममा पुरानो जेट विमानका विभिन्न पाटपूर्जाहरू ल्याइपुर्‍याइएको छ । जेट विमान नै नदेखेका स्थानीय कतिपय बासिन्दाका लागि जेट विमानका पाटपूर्जाहरू नै आफ्ना अगाडि देखेपछि दुई दिनदेखि उक्त पुरानो विमान हेर्नेहरूको घुइँचोसमेत लागेको छ ।
धनगढीको हसनपुरमा सञ्चालनमा आउने हवाईजहाज सङ्ग्रहालयमा विमानका आविस्कार गर्ने राइट दाजुभाइका पालादेखि हालसम्मका पाइलटसहित साना नमुनाका विमान अवलोकनका लागि राखिने क्याप्टन उप्रेतीले बताए ।
यसबाहेक सङ्ग्रहालयमा नेपाल र खासगरी सुदूरपश्चिमाञ्चलका पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरूको दृष्य समेटिने गरी आधुनिक प्रविधिबाट ‘क्यानभास पि्रन्ट र प|mेमिङ’ भएका तस्वीरहरूको प्रदर्शनीको सुविधासमेत व्यवस्था हुने जनाइएको छ ।
सङ्ग्रहालय सञ्चालनबाट हुने आम्दानी रकम कैलाली जिल्लाका क्षयरोगीको उपचारका साथै विद्यालयका जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नमा खर्च गरिने योजना रहेको उप्रेतीले बताए ।
सङ्ग्रहालय सञ्चालनमा आउन चारदेखि पाँच महिनाको समय लाग्ने बताइएको छ । ‘यो प्रकृतिको सङ्ग्रहालय संसारमै पहिलो हो उप्रेतीले भने, ‘केही देशमा सञ्चालनमा रहेका हवाई जहाज सङ्ग्रहालयभित्र एयर क्राप्ट राखिन्छ तर यो सङ्ग्रहालयमा एयर क्राप्टहरूका नमुनाहरू राखी सङ्ग्रहालय बनाउने लक्ष्य छ ।’
सङ्ग्रहालय निर्माणमा करिब रु एक करोड लागत खर्च हुने जनाइएको छ । सङ्ग्रहालय सञ्चालनबाट यस क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने मात्र नभई रोजगारीका अवसरसमेत सिर्जना हुने विश्वास गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु