सरकारी खर्चमा कर्मचारीलाई सयर

२०७० चैत्र ११ गते, मंगलवार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यक्रमअनुसार निजामती कर्मचारीलाई देशका विभिन्न स्थानमा घुमाउन १ करोड रुपैयाँ विनियोजन गरिएको बताइएको छ । कर्मचारी सँधै काममा व्यस्त रहने भन्दै सरकारले आफ्नै आफ्नै खर्चमा कर्मचारीलाई घुमाउन लागेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका विभिन्न २० गन्तव्यमा कर्मचारीलाई घुमाउन कार्यक्रम तयार पारिसकेको छ । यो वर्ष तीनसय भन्दा बढी कर्मचारीलाई घुमाउने सरकारी लक्ष्य छ । कर्मचारीको पहिलो टोली यही महिना घुम्न निस्कने छ । घुम्ने कर्मचारीका लागि सरकारले प्रतिव्यक्ति १६ हजार रुपैयाँ खर्च गर्नेछ । कर्मचारीसँगै उसको परिवारको एकजना सदस्यको खर्च पनि सरकारले नै बेहोर्ने छ ।
पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता मोहनकृष्ण सापकोटाका अनुसार बिदा पर्यटन (लिभ टुरिज्म) कार्यविधि स्वीकृत भएकाले सोही कार्यविधिलाई पछ्याउँदै कर्मचारीलाई घुमाउन लागिएको हो । पहिलो पटक घुम्न जाने टोली मध्ये ९० जना पर्यटन मन्त्रालयका र अरु विभिन्न मन्त्रालयका हुने सापकोटाले बताए ।
कर्मचारीलाई घुमाउन सरकारले बनाएका २० गन्तव्यका बेग्ला बेग्लै रुट तय गरिएको छ । जसमा काठमाडौंबाट बेसीसहर हुँदै घलेगाउँ, काठमाडौंबाट चितवन, लुम्बिनी हुँदै पोखरा, काठमाडौंबाट इलाम, काठमाडौंबाट दैलेखसम्मका रुट छन् । घुम्न जाने कर्मचारीले आफू जान चाहने गन्तव्य आफैं रोज्न पाउने व्यवस्था गरिएको छ ।
आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न सरकारले यो योजना ल्याएको प्रवक्ता सापकोटाले बताए । तीन वर्षदेखि सञ्चालन गरेको यो अभियानमा पाँचसय कर्मचारी र तीनका परिवारगरी एकहजार जनाले यो सुविधा लिइसकेका छन् । यो सुविधा सचिवदेखि कार्यलय सहयोगीसम्मले प्रयोग गर्न पाउनेछन् । कर्मचारीलाई घुमफिरमा पठाएपनि कार्यालयको कामकाजमा भने कुनै असर नपर्ने पनि सापकोटाले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु