बिस्केट जात्राका लागि नयाँ रथ बनाइदै

२०७० फाल्गुन ३० गते, शुक्रबार


काठमाडौं, ३०फाल्गुन ।नयाँ वर्षसँगै मनाइने प्रसिद्ध बिस्केट जात्राका लागि रथ निर्माण आधा सकिएको छ । चैत २७ बाट सुरु हुने ७ दिने जात्राका लागि भक्तपुर तौमढीस्थित पाँचतले मन्दिर परिसरमा भैरव र भद्रकालीको रथ निर्माण भइरहेको छ ।गुठी संस्थान भक्तपुरको संयोजनमा माघ १६ बाट सुरु भएको रथ निर्माण ५० प्रतिशत पूरा भएको सिकर्मी नाइके लक्ष्मीप्रसाद सिलाकारले बताए । विगतमा प्रयोग गरिएको रथ पुरानो र पांग्रा जीर्ण भएपछि यस वर्ष नयाँ बनाउनुपरेको उनले जानकारी दिए । जात्राकालागि भद्रकाली देवता विराजमान गराइने बेतासीसमेत नयाँ बनाइँदै छ । त्यसका लागि गत वर्ष काठ ल्याइएको थियो । जात्रामा प्रयोग हुने लिंगो भक्तपुर चित्तपोलको सल्लाघारीबाट भेलुखेलसम्म ल्याइसकिएको छ । जात्राको सबै तयारी चैत २५ सम्म पूरा हुने गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले बताए । यस वर्ष जात्रामा २४ लाख खर्च हुने अनुमान गरिएको छ ।
सिकर्मी नाइके प्रेमलाल शिल्पकारका अनुसार पांग्रा र बेतासी निर्माणका लागि मकवानपुरको एक सामुदायिक वनबाट सानदान काठ ल्याइएको छ । उक्त काठ अग्राखभन्दा बलियो हुन्छ । रथ निर्माणमा दैनिक ६ सिकर्मी खटिरहेका छन् । यस वर्ष भैरवको रथका ३ वटा छानासमेत नयाँ बनाइने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु