पाटेबाघ गणना कार्य सम्पन्न

२०७० फाल्गुन २६ गते, सोमबार


काठमाडौं, २६ फागुन । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एक महिना अघिदेखि क्यामेरा ट्रयापिङको सहायताले सुरु गरिएको पाटेबाघ गणनाको कार्य सकिएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति कोषको संयुक्त सहकार्यमा पाटेबाघ गणनाको कार्य गरिएको हो । पाटेबाघ गणनाका लागि ५५ जोर क्यामेरा, २१ जना प्राविधिक र दुई वटा हात्तीको प्रयोग गरिएको आरक्षका मुख्य संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।“गणना कार्य सम्पन्न भई क्यामेरामा देखिएका बाघको विश्लेषण गरी सङ्ख्या यकिन गर्ने कार्यमा जुटेका छौँ,” मुख्य संरक्षण अधिकृत रेग्मीले भने , “पाटेबाघ गणनाको नतिजा १५ दिनभित्रै सार्वजनिक हुन्छ ।”यस वर्षको अनुगमनबाट पाटेबाघको सङ्ख्या बढेको देखिएको उनले बताए । चोरी सिकारी नियन्त्रणका लागि प्रतिरोध एकाइहरु, यथेष्ट आहारा र उपयुक्त बासस्थान रहेकाले यहाँ बर्सेनि पाटेबाघको सङ्ख्या बढिरहेको छ । गत वर्ष गरिएको पाटेबाघ गणनामा यहाँ १७ वटा वयस्क पाटेबाघ र दुई वटा डमरु फेला परेका थिए । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष पाटेबाघको बढी घनत्व भएको क्षेत्र मानिन्छ । पाटेबाघ गणनाको कार्य यहाँ माघ २२ गतेदेखि सुरु भई आज सम्पन्न भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु