सोलुखुम्बुमा गुलेलीमाथि प्रतिबन्ध

२०७० फाल्गुन २४ गते, शनिबार


काठमाडौँ । चराचुरुङ्गीको संरक्षण गर्ने उद्देश्यले जिल्ला वन कार्यालय सोलुखुम्बुले जिल्लालाई गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । जसका लागि अहिले सदरमुकाम सल्लेरीलगायत मुख्य बजारहरू नेले, सोताङ र नेचा बिहिबारेमा गुलेली बिक्रीवितरण गर्न प्रतिबन्ध लगाइएको छ । सो कुराको अनुगमन सोही क्षेत्रका रेञ्जपोस्टका कर्मचारी तथा प्रहरीले गर्दै आएको जिल्ला वन कार्यालयले जनाएको छ । चराचुरुङ्गीको संरक्षण गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएकाले अभियानमा सहयोग गर्न जिल्ला वन कार्यालयले सबैसँग अनुरोध गरेको छ । बालबालिका तथा चराको सिकार गर्नेहरूले गुलेलीको प्रयोग गरी चरा मार्ने गरेकाले चरा जोगाउनका लागि जिल्लालाई गुलेलीमुक्त क्षेत्र बनाउन लागिएको जिल्ला वन कार्यालयका प्रमुख सरोज खनालले बताए । सल्लेरी-७ नयाँबजारमा होलसेल पसल गरिरहनुभएका व्यापारी विष्णुकुमार श्रेष्ठले पनि गुलेलीका कारण बालबालिकालाई चोटपटकसमेत लाग्ने भएकाले यो अभियान राम्रो भएको बताए । जिल्ला वन कार्यालयले एक पटकका लागि बजारमा भएका सबै गुलेली होलसेल मूल्यमा खरिद गर्ने र त्यसपछि गुलेली बिक्रीका लागि ल्याएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण ऐनअनुसार दण्ड जरिवाना गर्ने कार्यालयका निमित्त प्रमुख खनालले बताए । विशेषतः चरा मार्न प्रयोग गर्ने गुलेली चलाउँदा कहिलेकाहीँ बालबालिकालाई चोटपटकसमेत लाग्ने भएकाले वन कार्यालयको यो अभियानलाई धेरैले सकारात्मक भनेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु