लाटोकोसेरो उत्सव हुँदै

२०७० फाल्गुन २२ गते, बिहीबार

काठमाडौं, २२ फागुन ।नेपालसहित अमेरिका र इटालीमा मात्र हुँदै आएको लाटोकोसेरो उत्सव यस वर्ष आजदेखि नवलपरासीको अग्यौली गाविस–५ बाघखोरमा हुँदैछ । लाटोकोसेरो संरक्षणका लागि विगत तीन वर्षदेखि गरिँदै आएको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव आज र भोलि हुने भएको हो ।अमलटारी मध्यवर्ती होमस्टे गाउँ र प्रकृतिका साथीहरु नामक संस्थाको आयोजनामा उत्सव आयोजना गरिएको हो । महोत्सवअन्तर्गत पहिलो दिन चरा अवलोकन प्रतियोगिता, प्रकृतिको फोटो खिच्ने तरिकाको प्रशिक्षण, लाटोकोसेरोको जानकारी दिने प्रदर्शनीलगायतका प्रस्तुतिहरु रहने अमलटारी होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताए ।
त्यसैगरी, दोस्रो दिन सरंक्षणसम्बन्धी गतिविधिबारे जानकारी दिने प्रदर्शनी हुनेछ । साथै, उत्सवमा विद्यालयव्यापी लाटोकोसेरोसम्बन्धी चित्रकला, कविता, निबन्ध तथा कथा प्रतियोगितासमेतको आयोजना र प्रदर्शनी गरिनाका साथै लाटोकोसेरोको जानकारी भएको सूचना पाटी, चित्र तथा फोटोको प्रदर्शनी गर्ने तयारी गरिएको छ ।
त्यसैगरी उत्सवमा विभिन्न प्रजातिका आठ वटा लाटोकोसेरोको आवाज सुनाउने कार्यक्रमका साथै नेपालमा दोस्रोपटक १० घण्टे चरा अवलोकन प्रतियोगितासमेतको आयोजना गरिएको छ ।विश्वमा पाइने २२५ प्रजातिमध्ये नेपालमा २१ प्रजातिका लाटोकोसेरो तथा हुचिल पाइने गरेको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले बताए ।
सो संस्थाले ३० वटा जिल्लामा गरेको प्रारम्भिक अध्ययनमा नेपालमा वार्षिक कम्तीमा दुई हजार वटासम्म लाटोकोसेरो तथा हुचिल मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रुपमा पठाइने गरेको भेटिएको थियो ।
नवलपरासीमा मात्रै वार्षिक कम्तीमा ६० वटा लाटोकोसेरो तथा हुचिलको अवैध व्यापार हुने गरेको बताइन्छ ।उत्सवको समापनका दिन चितवन बछ्यौलीका सोमबहादुर जिसी, वन कार्यालय कास्कीमा कार्यरत सहायक वन अधिकृत माधवप्रसाद बराल र विराटनगरका पत्रकार भीमप्रसाद घिमिरेलाई रु दुई हजार ५०० को प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु