घडियाल गोहीको संख्यामा उल्लेख्य वृद्धि

२०७० फाल्गुन २१ गते, बुधबार


काठमाडौं, २१ फागुन – संकटापन्न मानिएको घडियाल गोहीको संख्या बाघ र गैंडाभन्दा २० गुणा बढी बढ्न थालेको पाइएको छ ।एकताका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानमा मात्र पाइने गोही अहिले नेपाल र भारतमा थोरै संख्यामा मात्र रहेको छ । सरकारले सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल संरक्षण एवं प्रजनन् केन्द्र स्थापना गरेपछि नेपालमा घडियाल गोहीको संख्या बढ्न थालेको हो ।
त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा समेत प्रजनन् केन्द्र स्थापना गरिएको छ । यसैबीच प्रजनन् केन्द्रबाट उत्पादन घडियाललाई विभिन्न नदीहरुमा छाड्न थालिएको छ । बर्दियाका कर्णाली र बबई तथा चितवनका नारायणी र राप्ती नदीमा प्राकृतिक बासस्थानमा १ सय २३ घडियाल गोही रहेको अनुमान गरिन्छ ।
तर पछिल्लो समय कर्णाली नदीमा घडियालको संख्या घट्दै गएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो । थापाका अनुसार हिजो चितवनबाट लगेका २३ वटा अर्धवयश्क घडियाल गोहीलाई बर्दियाको बबई उपत्यकामा छाडिएको छ । भोलि थप २० वटा घडियाल बर्दिया लगेर छाड्ने तयारी छ ।घडियाल गोही सफा पानीमा मात्र बस्ने गर्छ भने ताजा माछा मात्र यसको आहारा हो । घडियाल गोही पाईने ठाउँको पानी पिउनका योग्य हुने मानिदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु