माध्यमिकी परिक्रमा सुरु

२०७० फाल्गुन १७ गते, शनिबार


काठमाडौं, १७ फागुन । मिथिलाको बहुचर्चित माध्यमिकी परिक्रमा आजबाट सुरु भएको छ । धनुषास्थित कचुरीको मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरी जीको डोलासाथ धार्मिक झाँकी र भजनकीर्तनसहित सीमावर्ती भारतीय गाउँ कलानेश्वरबाट आज सो परिक्रमा सुरु भएको हो ।सो डोला भारत फुलहरको गिर्जास्थान हुँदै तेस्रो दिन मङ्गलबार महोत्तरीको मटिहानी आइपुग्ने छ ।सो परिक्रमामा सहभागीहरू क्रमशः जलेश्वर, मडै, धु्रवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर पुगी फागुन पूर्णिमाका दिन जनकपुर फर्किन्छन् ।
परिक्रमामा सहभागी हुनेहरूको सुविधाका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ ।
नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवम् पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।मिथिला महात्म्यअनुसार १८ आँै शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवम् भारतका २६ गरी १३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।
परिक्रमामा नेपाललगायत भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, बैजनाथधामलगायतका साधुसन्त, महन्थ र सर्वसाधारणको उल्लेख्य रुपमा सहभागिता रहेको छ ।
फाल्गुन शुक्ल प्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमामा समापन गरिने परम्परा छ । सो परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मद्वारा भएका पाप नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ ।
मिथिला महात्म्यअनुसार अठारौं सताब्दीदेखि माध्यमिकी परिक्रमा मनाइँदै आएको र यस धर्मयात्राका सहयात्रीहरू राति भजनकीर्तन गरी १५ दिन बिताउने गर्दछन् ।
विश्वकै सर्वाधिक लामो समयसम्म चल्ने यस परिक्रमाका यात्रुहरू भारतको कलना, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदैै धनुषाको पर्वता धनुषाधाम, सतोषर र औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् । पूर्णिमाको बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिवसीय यो यात्रा सम्पन्न गरिन्छ ।
परिक्रममा सहभागी हुनेहरूलाई सुख, समृद्धि, मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने विश्वास रहेको छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निमार्ण गरिएका कल्याणेश्वर , जलेश्वर , क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानि यो परिक्रमा यात्रा सुरु गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु