छेची पर्व सम्पन्न

२०७० माघ १३ गते, सोमबार


काठमाडौं,माघ १३ – दार्खा गाविसका तामाङ समुदायले ल्होछार संस्कारको रुपमा यसवर्ष पनि छेची पर्व धुमधामसँग मनाए ।छेच्यु, छेजी र छेस्युङ जस्ता नामवाट पनि चिनिने यो पर्वमा तामाङ लोकजीवनका परम्परा समेटेर नाचगान र अभिनय गरिन्छ । माघ ८ गते सुरु भएको यो पर्व पाँचदिनपछि आइतवार राती अबेर म्हेन्दोमाया नाच देखाएपछि सकियो ।छेची पर्वमा लप्सङकर्पो अर्थात गणेश हिमाल क्षेत्रमा प्रचलित घोडचढी नाचलाई बिशेष आकर्षणका साथ प्रदर्शन गरियो । यो नाच गोर्खाली र तिब्बतबीच १७६१, १७८९ र १७९१ सालमा भएको युद्धको सम्झनामा देखाउने चलन रहेको छेची व्यवस्थापन समितिका अध्यक्ष जिम्बुवाल छेजु तामाङले बताए । त्यसबेला गोर्खाली सेनामा धादिङका तामाङको बाहुल्यता थियो । त्यस युद्धमा दुवै पक्षको ठूलो क्षति भयो । अन्तिम युद्धपछि तिब्बतले नुन र गोर्खाले भेडाका उन दिने शर्तमा सन्धी भयो । सन्धीपछि बिदा पाएका तामाङ सैनिकले आफूहरूले कसरी युद्ध लडेको हो र युद्धमा भएको क्षती कस्तो थियो भन्ने देखाउन गाउँमा त्यही बेलादेखि घोडचढी नाच देखाउन थालेका तामाङले बताए ।
‘घोडचढी नाचमा तिब्बती युद्धमा खुँडा, भाला, घोडा प्रयोग भए पनि हाल प्रतिकात्मक घोडा र अन्य सामानको प्रयोग गरिन्छ । एउटा समूहले रातो पहिरनमा तिब्बतको र अर्को समूहले सेतो पहिरनमा गोर्खाको संकेत गरेर लडाइँ गर्दै सन्धीमा पुगेपछि नाच सकिन्छ’ दार्खा गाविस २ का ९९ वर्षका मेनजोम तामाङले बताए तामाङ समुदायको संस्कार र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले हरेक बर्ष आयोजना गरिने छेची पर्व अन्र्तगत यसबर्ष लामा, दोरा र म्हेन्दोमाया नाच पनि देखाइएको थियो । छेची पर्वकै अवसर पारेर तामाङ समुदायको परम्परागत चलन मुखिया प्रथा, कृषि तथा पशुपालन, घोडचढी, सिमेभूमे व्यवस्थापन, झाङ्ग्री र लामाको नाटकीय प्रदर्शन पनि गरिन्छ ।
छेचीमा देवदेवीदेखि भुतप्रेतसम्मलाई सम्बोधन गरिने हुनाले त्यसपछिको समय फलदायी हुने जनविश्वास छ । यो पर्वमा दश वटा आशिर्वाद मागिन्छ जसले गर्दा बर्षभरी गाउँमा कुनै अनिष्ट नहुने विश्वास छ रहिआएको छ । तिथि मिति नजिकै पर्ने भएकाले छेचीलाईनै ल्होसारको रुपमा मान्न थालिएको तामाङ संस्कृतिको जर्गेनामा सक्रिय गोपाल फ्युवाले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु