कृषि, पर्यटन तथा औद्योगिक मेला माघ १५ देखि

२०७० माघ ११ गते, शनिबार


काठमाडौँ । ‘कृषि, उद्योग र पर्यटनको व्यापक सम्भावना, समृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ माघ १५ देखि २३ गतेसम्म धादिङबेसीमा बृहत् कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । उद्योग वाणिज्य संघ धादिङले आयोजना गर्न लागेको मेलाको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघले जिल्लाको व्यवसायिक तथा पर्यटकीय पहिचानलाई अभिवृद्धि गर्दै कृषि, पर्यटन र उद्योगको प्रबर्द्धन गर्न मेला आयोजना गर्न लागेको बताएको छ । संघकी अध्यक्ष कल्पना अधिकारीले कृषि र पशुपालन जिल्लाको मूख्य पेसा भएको बताउँदै राजधानीको तरकारी बजारमा धादिङ जिल्लाको योगदान २८ प्रतिशत रहेको बताइन् । मेलाले किसान र उद्यमीलाई हौसला दिने र कृषि तथा औद्योगिक क्रान्तिका निम्ति धादिङले अगुवाई लिने अपेक्षा गरिएको छ । मेलाको इभेन्ट कोअर्डिनेटर दीपक कोइरालाका अनुसार मेलामा १७० वटा स्टलहरु रहनेछन् । मेलामा धादिङ जिल्लामा उत्पादित उपभोग्य तथा घरेलु सामग्रीको प्रदर्शनी, कृषि प्रदर्शनी, पर्यटन गन्तव्यहरुको फोटो तथा डकुमेन्ट्री प्रदर्शनी, हेलिकप्टरबाट पर्यटकीयस्थलको अवलोकन, साइक्लिङ, प्याराग्लाइडिङजस्ता गतिविधिहरु गरिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु