लुटको अखडा बन्दैछ संविधानसभा

२०७० माघ ११ गते, शनिबार


काठमाडौँ । दोस्रो संविधानसभाका सभासदहरु यतिबेला एभरेष्ट बैंकमा खाता खोल्न व्यस्त देखिएका छन् । संसद् सचिवालयले सभासद्को तलब भत्ता निकासाको लागि बैंक खाता खोल्न भने पछि सभासद्हरु लर्को लागेर एभरेष्ट बैंकमा खाता खोल्न पुगिरहेका छन् । बिगतमा चार वर्षम्म संविधान बनाउने नाममा राष्ट्रको ढुकुटीमा लुट मच्चाएका गरीव देशका धनी राजनीतिक दल तथा नेताहरुले दोस्रो संविधानसभामा पनि असीमित सुविधा लिँदैछन् । अहिले सभासद्हरुको मासिक तलब ४० हजार मात्र ठान्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खिलराज रेग्मी सरकारले गत साउनमै बढाइदिएको सुविधाअनुसार एकजना सभासद्ले राज्यबाट मासिक एक लाखभन्दा बढी पाउनेछन् । संविधानसभा सचिवालयले उपलब्ध गराएको सभासद्हरुको मासिक पारिश्रमिक तथा सुविधा हिसाव गर्दा मासिक एक लाखभन्दा बढी हुन्छ । संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको त झन् कुरै नगरौँ ।
सभासद्को मासिक सुविधा-
पारिश्रमिकः ४०१६०
धारा बिजुलीः १२४८
टेलिफोनः २०००
आवाशः ६५००
मसलन्दः १०००
पत्रपत्रिकाः ३००
निजी सचिवालय कर्मचारीः २२१८०
दैनिक बैठक भत्ताः २००
परिवहन भत्ताः १५०
फर्निचरः १५०००
कार्यकालमा एक पटक विशेष भत्ताः १००० र सभासद्लाई तलबका रुपमा मासिक ४० हजार १ सय ६० रुपैयाँ तोकिएको छ ।
तलवबाहेक विशेष भत्ता एक हजार छ, घरभाडा छ हजार पाँच सय पाउँछन् भने धारा, पानी बिजुलीको बिलदेखि पत्रपत्रिकाको खर्चसमेत राज्यले व्यहोर्छ । सभासद्का स्वकीय सचिवलाई सरकारले मासिक २२ हजार १ सय ८० रुपैयाँ दिन्छ । सभासद्हरुले स्वकीय सचिवमा श्रीमती, छोराछोरी र नातागोतालाई नियुक्त गरेर यो सबै सुविधा आफ्नै भागमा पार्ने गरेका छन् । संविधानसभा र व्यवस्थापिका संसद्को बैठक बस्नकै लागि भनेर राज्यले मासिक तलब खुवाइसकेपछि पनि एकजना सभासद्लाई संविधानसभा र समितिका बैठकहरुमा जाँदा दैनिक २ सय रुपैयाँ भत्ता दिनेछ । संसद्मा आवतजावत गर्न गाडी भाडा एक सय ५० रुपैयाँ तोकिएको छ । आफ्नो निर्वाचन क्षेत्र वा वासस्थानबाट अधिवेशन वा समितिको बैठकमा जाँदा दर्ुइजनाको भ्रमण खर्च पनि सरकारले नै व्यहोर्ने छ । संसद् सचिवालयको लेखा शाखाले दिएको जानकारीअनुसार हरेक सभासद्लाई एक कार्यकालमा १५ हजार फर्निचर खर्चसमेत दिइने गरेको छ । सत्तारुढ दलका मुख्य सचेतकले गाडी र पेट्रोलसहितका थप सुविधा पनि पाउनेछन् । मासिक सुविधा एक लाख ३९ हजार ७ सय ३७ रुपैयाँ छ, जसमा एक उपसचिव, दुइ ड्राइभर र एक कार्यालय सहायक पनि पर्ने छ । २ सय ३० लिटर पेट्रोल र मोबिलसमेत दिइने छ । यसरी हेदा २ लाख पुग्छ । विपक्षी दलका मुख्य सचेतक, सत्तारुढ दलका सचेतक र समितिका सभापतिहरुले स्वकीय सचिवको तलबसहित मासिक एक लाख १९ हजार २ सय ५३ रुपैयाँ पाउँछन् भने गाडीसँगै मासिक १ सय ५० लिटर पेट्रोल पनि दिइनेछ । ऐनमा सत्ता पक्षका एक सचेतकको कल्पना गरिएको भए पनि मन्त्रिपरिषद्को निर्ण्राा आधारमा अघिल्लो संविधानसभामा ७ दलका सचेतकलाई यो सुविधा दिइएको थियो ।
यसैगरी, मुख्य सचेतक, विपक्षी दलका सचेतक, सत्तारुढ दलका सचेतक र समितिका सभापतिहरुले अन्य सभासद् जस्तै संविधानसभा र समितिको बैठकहरुमा जाँदा २०० दैनिक भत्ता पनि पाउने छन् भने आफ्नो निर्वाचन क्षेत्र वा वासस्थानबाट अधिवेशन वा सिमितिको बैठकमा जाँदा २ जनाको भ्रमण खर्च पनि सरकारले नै व्यहोर्ने छ । संविधानसभाका अध्यक्षले झण्डै २ लाख नगद पाउने छन् । मासिक पारिश्रमिक ४८ हजार ९ सय ५० भए पनि अन्य सेवा सुविधा जोड्दा १ लाख ९६ हजार ४ सय २० रुपैयाँ हुन आउँछ । उपसभामुखले १ लाख ६६ हजार ३ सय ६५ रुपैयाँसहित कर्मचारीहरु पाउँछन् । विपक्षी दलका नेताले ४४ हजार ३ सय ३० पारिश्रमिक बुझछन् भने निजी सचिवालयसहितका अन्य सुविधा जोड्दा १ लाख ५५ हजार ४३ हुन आउँछ । यसमा उपसचिव, दुइ ड्राइभरसहितको गाडी र कार्यालय सहायकको सुविधा पनि पर्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरु