नेपालको संविधान ‘बाहिर’बाट बनेर आइसकेको छ : गौरब

२०७० माघ ९ गते, बिहीबार


काठमाडौं, ९ माघ – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले नेपालको संविधान ‘बाहिर’बाट बनेर आइसकेको भन्दै त्यसको अनुवाद मात्रै गर्न बाँकी रहेको बताएका छन् ।
आज रिपोटर्स क्लबले गरेको कार्यक्रममा बोल्दै गौरबले जनताको संविधान नबने पछि पश्चगामी संविधान बन्न एक वर्ष पनि नलाग्ने बताए । गौरबले नेपाली जनता ब्यस्त रहेको बेला दशैंका फुलपातीको बेला जारी गर्ने तयारी भइरहेको आफूले जानकारी पाएको दावी गरे ।
अहिलेको संविधानसभामा एमाओवादी, कांग्रेस, एमाले, राप्रपाजस्ता पश्चगामी शक्तिको दुई तिहाई बहुमत रहेकाले त्यसले जनताको संविधान बनाउन नसक्ने गौरबले ठोकुवा गरे । ‘अहिलेको संविधानसभा सेतो हात्ती जस्तै हो,’ गौरबले भने , ‘सेतो हात्ती चढ्न मिल्दैन जंगलतिर लगेर छाडिदिए हुन्छ ।’
गौरबले जनआन्दोलनको आँधिबेहरीबाट अहिलेको संविधानसभालाई खारेज गरिदिने बताए । अबको आन्दोलन राष्ट्रिय स्वाधिनता, जनजीविका र जनसंविधानको लागि हुने गौरबको भनाइ थियो ।

प्रतिक्रियाहरु