अन्तर्राष्ट्रिय मेलामा कृत्रिम सगरमाथा

२०७० माघ ९ गते, बिहीबार


काठमाडौं ,९ माघ। विराटनगरमा यही माघ ११ गतेदेखि हुने विराट महोत्सव अन्तर्राष्ट्रिय मेलामा दर्शकलाई आकर्षित गर्न आयोजकले विभिन्न उपाय अवलम्बन गरेका छन् । यसभन्दा अगाडिका मेलाभन्दा पृथक बनाउन आयोजक मोरङ व्यापार संघले मेलास्थललाई सिंगारपटार गरिरहेको छ ।दर्शकको ध्यान आकर्षित गराउन आयोजकले सहिद रंगशालामा ४० फिट अग्लो कृत्रिम सगरमाथा निर्माण गरिरहेको छ । उत्पादक र उपभोक्ताबीच सुमधर सम्बन्ध स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा १ सय ६२ स्टल रहनेछन् । यसअघि १ सय ५० स्टल राख्ने निर्णय भए पनि स्टल थप्न तीव्र दबाब परेपछि १२ स्टल थप्न आयोजक बाध्य हुनुपरेको हो । “अझै पनि स्टलको माग आइरहेको छ,” संघका अध्यक्ष अविनाश बोहराले भने, “रंगशालाको क्षमताले गर्दा अन्य स्टल थप्ने अवस्था छैन ।” उनका अनुसार अझै ४० भन्दा बढी स्टलको माग भइरहेको छ । मेलामा बंगलादेश, भारत, पाकिस्तान, चीनलगायतका देशका उत्पादनको समेत स्टल रहनेछ ।
कृत्रिम सगरमाथाको निर्माण एक महिनाअगाडिदेखि नै सुरु भएको थियो । जसलाई रंगशालाभन्दा बाहिरकै सडकबाट देख्न सकिन्छ । “हिमाल, पहाड र तराईलाई जोड्न मेला सफल होस् भन्ने उद्देश्यले पनि सांकेतिक रुपमा कृत्रिम सगरमाथाको निर्माण गरेका हौं,” अध्यक्ष बोहराले थपे, “मेलास्थल आउने हरेक दर्शकले सगरमाथामै पुगेको महसुस गर्नेछन् ।” ४० फिट अग्लो कृत्रिम सगरमाथाको लम्बाई १ सय ४० फिट छ । जसको मध्यभागसम्म पुगेर अवलोकन गर्न सकिनेछ । त्यसको छेउमा ४० फिटको टायनासोरको पनि निर्माण भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु