संविधानसभा भवन अगाडी ३३ दलको नाराबाजी

२०७० माघ ८ गते, बुधबार

काठमाडौं ,८ माघ । दोस्रो संविधानसभाको पहिलो बैठक बस्दै गर्दा नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा अगाडी नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका कार्यकर्ताले ‘राष्ट्रघाती संविधानसभा खारेज गर’ भन्दै नाराबाजी गरेका छन् । नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चाले संविधानसभा भवन अगाडि विरोध प्रदर्शन गर्नुका साथै सभासदलाई कालो भण्डा देखाउने कार्यक्रम तय गरे अनुसार सो बिरोध कार्यक्रम गरिएको हो ।सो बिरोध सभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले आजको विरोध कार्यक्रम प्रतिकात्मक भएको र यसको सुनुवाइ नभए आँधीबेहरी ल्याउनेचेतावनी दिएका थिए ।
यसैबीच ,दोस्रो संविधानसभाको पहिलो बैठक केही बेरअघि सकिएको छ । सभाका जेष्ठ सभासद सुर्यबहादुर थापाको अध्यक्षतामा करिब १० मिनेट बसेर बैठक सकिएको हो ।पहिलो बैठकले संविधानसभा निर्वाचन सफल पार्न सहयोग गर्नेलार्इ धन्यबाद प्रस्ताव, सविधानसभा नियमावली ०७० जारी नभएसम्म संविधानसभा नियमावली ०६५ बमोजित बैठक सञ्चालन गर्ने र अध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालनका लागि समिति गठनको प्रस्ताब पारित गरेको छ । बैठक सञ्चालक समितिमा मानवहादुर विक, विद्या भण्डारी, जेवी जुहुरे, आशा चर्तुदेवी, विक्रम पाण्डे र अकवाल अहमद साह लगायत रहेका छन् ।
अध्यक्ष थापाले बैठककमा सप्तरीका २ का एमाओवादी सभासद अशोककुमार मण्डललाई सभासदको हैसियतका काम गर्न संविधानसभा अदालतले रोक लगाएकोबारे जानकारी गराए ।
बैठकलार्इ सम्बोधन गर्दै अध्यक्ष थापाले इतिहासलार्इ स्मरण गर्दै गम्भीरता अपनाउन आग्रह गरे। जनआकांक्षा अनुरुप संविधान बनाउन सफलता मिलोस् भन्ने थापाले कामना गरेका छन् । अध्यक्ष थापाले चाँडो भन्दा चाँडो संविधान बनाउन सभासदहरूलार्इ शुभकामना पनि दिएका थिए ।
००७ सालदेखि ०१४ सालसम्मको राजनीतिक अस्थिरताबारे बताउँदै अध्यक्ष थापाले त्यो अवधिमा दलहरु गम्भीर नभएकाले राजाले संविधानसभाको सट्टा संसदको निर्वाचन गरेर संविधान राजाले दिने प्रावधान राखेको बताए ।
‘संविधान निर्माणमा ढिलो गरेमा जनताले अपजसको भारी बोकाउने छन्’ , अध्यक्ष थापाले भने, ‘संविधान बन्न नसके इतिहास र वर्तमानमा हामी असफल सावित हुने पक्का छ।’
बैठकमा ५ सय ६६ सभासद सहभागी थिए । ६०१ मध्ये २६ जना मन्त्री परिषदबाट मनामेनयन हुन बाँकी छ । ५ जनाले सपथ ग्रहण गरेका छैनन् । चार स्थानबाट दुई/ दुई जना निर्वाचित भएकाले ५७५ मध्ये ५६६ सभासद मात्रै आजको बैठकमा सहभागी भएका हुन् ।
बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहित मन्त्रिपरिषद्का पदाधिकारीहरू उपस्थित थिए । संविधानसभाको अर्को बैठक माघ १५ गते बस्ने भएको छ ।

प्रतिक्रियाहरु