एमाओवादी केन्द्रीय समिति विघटन गर्ने तयारि

२०७० पुष ३० गते, मंगलवार

काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई सय ६७ सदस्यीय केन्द्रीय समिति विघटनको प्रस्ताब ल्याएका छन्। सबै कमिटी निर्वाचित गराउने योजनाअनुसार प्रचण्डले केन्द्रीय समितिसहित राज्य, जिल्ला र गाउँ कमिटी विघटनको प्रस्ताव ल्याएका हुन्।सातौं महाधिवेशन भएको एक वर्ष पूरा नहुँदै दाहालले केन्द्रीय समिति विघटन गरी संगठनात्मक राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने प्रस्ताव ल्याएका छन्। दाहालको राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यालयमा सोमबार छलफल गरिएको छ। त्यसमाथि मंगलबार पूर्वपोलिटब्युरो सदस्यबीचमा छलफल हुनेछ।
‘अहिलेका कमिटी विघटन गरी आयोजक समिति बनाउने, तीन अंकमा रहेका कमिटीलाई दुई अंकमा झार्ने, नौवटा ब्युरो विघटन गर्ने, जनतासँग जोडिने खालको कार्ययोजनासहितको प्रस्ताव छ’, दाहालले केन्द्रीय समितिमा पेस गर्न तयार पारेको प्रतिवेदनको संगठनात्मक संरचनाबारे एक वरिष्ठ नेताले अन्नपूर्णसँग भने, ‘जेठभित्र राष्ट्रिय सम्मेलन गरी दुई अंकको केन्द्रीय समिति बनाइनेछ। सबै कमिटी आन्तरिक प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्।’
ती नेताका अनुसार केन्द्र र जिल्लालाई जोड्ने राज्यस्तरमा समन्वय कमिटी रहनेछ। एमाओवादीका अहिलेका कमिटी भद्दा छन्। दाहालको प्रस्तावको मूल भावप्रति समर्थन रहे पनि केही विषयमा थप छलफल गर्नुपर्ने महसुस नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले गरेका छन्। दुवै नेताको आग्रहपछि केन्द्रीय कार्यालयमा रहेका नेताहरूबीच मंगलबार बिहान छलफल गर्ने समझदारी भएको छ। केन्द्रीय कार्यालयमा दाहाल, भट्टराई, श्रेष्ठ र पोस्टबहादुर बोगटी छन्।

प्रतिक्रियाहरु