टुडिखेलमा माघी महोत्सव मनाइने
काठमाडौं– टुडिखेलमा माघ १ गते माघी महोत्सव हुने भएको छ। विभिन्न जिल्लाबाट काम विशेषले काठमाडौं आइ बसोबास गर्ने थारुहरुले माघी महोत्सव मनाउने भएको हो। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानाकारी दिइयो। करिब १२ लाख खर्च हुने महोत्सवको उद्घाटन मन्त्रिपरिषका अध्यक्ष खिलराज रेग्मीले गर्नेछन्। महोत्सव मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरीले महोत्सव तयारी पूरा भएको बताए। उनले पर्चा, पम्पलेट, सांस्कृतिक झलक, महोत्सव टिकट छपाई, हस्तकलाका सामग्रीहरु तथा स्टल निर्माणका लागि आवश्यक पर्ने तयारी पूरा भएको बताए।
थारुको नयाँ वर्षको रुपमा रहेको माघी पर्वमा थारुहरुले सरकारसँग सार्वजनिक विदा माग गरेपछि सरकारले माघेसंक्रान्तिका दिन ०६४ सालदेखि सार्वजनिक विदा दिँदै आएको छ। महोत्सवमा हरेक साल करिब ३० हजार थारुले सक्रियतापूर्वक भागलिने गर्छन्।
मूल आयोजक समितिका संयोजक चौधरीका अनुसार यस वर्षको महोत्सवमा ८० वटा स्टलहरु रहनेछन्। स्टलमा थारुको हस्तकला झल्किने थारु सामग्री, विभिन्न थारु खानाका पाकवान, थारु संस्कृति झल्काउने खालका थारु पहिरनका सामग्री एवं थारुको इतिहास झल्किने विभिन्न पुस्तक, पम्पलेट, पर्चा तथा पत्रपत्रिकाहरु स्टलमा राखिने आयोजकले बताएको छ। महोत्सवमा प्रवेश शुल्क ४० रुपियाँ तोकिएको छ।