कम्प्युटरको स्थान ट्याब्लेटले लिदै

२०७० मंसिर १० गते, सोमबार

काठमाडौ – डेस्कटप कम्प्युटर (पीसी) लाई म्युजियममा थन्क्याउनुपर्ने अबस्था आउन लागेको छ / कम्प्युटरको त्यो अवस्था आउनुमा ल्यापटपलाई लिन सकिन्छा तर ल्यापटपलाई समेत ट्याब्लेटले विस्थापित गर्दैछ । पीसी (डेस्कटप/ल्यापटप) को सिपमेन्ट सन् २०१३ को तेस्रो क्वाटरमा इतिहासमै धेरै ११ प्रतिशतले घटेको विश्वको ठूलो आईटी रिसर्च कम्पनी गार्टनरले जनाएको छ । गार्टनरको दाबीमा पीसीको बिक्रीलाई सस्ता ट्याब्लेटको लोकपि्रयताले ध्वस्त पारेको हो ।हुन पनि आईटीमा अभ्यस्त धेरैजसोले आफ्नो पहिलो कम्प्युटिङ डिभाइस ट्याब्लेट/फ्याब्लेटलाई लिन थालेका छन् । ब्रोडकास्टिङ उपकरणहरूको व्यापार गर्ने सुस्मित इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुशील पोखरेललाई भेटौं । उनको पहिलो कम्प्युटिङ डिभाइस सामसुङको ग्यालेक्सी ग्रान्ड हो । उनी उठेर फेसबुकमा साथीहरूलाई ‘गुडमर्निङ’ स्टाटस पोस्ट गर्नदेखि, व्यावसायिक इमेल लेख्न, रिप्लाई गर्न, एप्सहरूमार्फत कम्प्युनिकेसन गर्न यही डिभाइस युज गर्छन् ।त्यसपछि उनलाई सघाउँछ, आइप्याडले । लामो यात्रामा निस्कँदादेखि कार्यालयबाट कफी/खाजा खान बाहिरिँदासमेत उनलाई आइप्याडले साथ दिन्छ । स्लिम, चिटिक्क परेको यो डिभाइसले उनलाई ल्यापटप बोक्ने झन्झटबाट मुक्ति दिएको छ ।उनीसँग रहेको म्याकबुक (ल्यापटप) एयर कार्यालयको टेबलमा रहन्छ । उनी अफिसको कुर्सीमा बसेका बेला मात्र यसको प्रयोग गर्छन् ।
‘म्याकबुकले ब्याकअपका रूपमा मात्रै काम गरेको छ,’ उनले सुनाए, ‘फ्याब्लेट, आइप्याडजस्ता डिभाइसले अधिकांश कम्प्युटिङ काममा सघाउँछन् ।’ सानो डिभाइसमा औंला खेलाउँदै कम्प्युटरले गर्ने काम गर्नुको मज्जै बेग्लै । बोक्न सजिलो, जहाँसुकै बसेर चलाउन सकिने, पावर (विद्युत्) थोरैले पुग्ने ट्याब्लेटलगायतका डिभाइसले सबैलाई लोभ्याएका छन् । ट्याब्लेटमा सिम हालेर इन्टरनेट चलाउने देखि कल गर्नेसम्मका सुविधा थपिएका छन् ।फोन र ट्याब्लेटको मिश्रति रूप प्याब्लेटमा काम गर्न गाह्रो भए त्यसभन्दा ठूलो स्क्रिन भएका ट्याब्लेट छँदैछन् । अर्को कुरा ती डिभाइस ल्यापटप/पीसीको तुलनामा निकै सस्ता पनि छन् । ल्यापटप त कुनै कुरा टाइप गर्नका लागि मात्र प्रयोगमा आउन थाल्यो । इन्टरनेट चलाउन, इमेल गर्न, गीत सुन्न, भिडियो हेर्न, बुक पढ्न, फोटो खिच्नलगायत अनगिन्ती एप्स राखेर काम गर्न औंलाले छोएर काम गर्ने यिनै साना डिभाइस उपयोगी भएका छन् ।विश्व बजारको ट्रेन्ड हेर्दा पीसी सेल्स डाउन र ट्याब्लेट सेल्स अप देखिएको छ । ‘विकसित मुलुकमा ट्याब्लेटले पीसीलाई विस्थापित गर्दै लगेको छ,’ आईसीटी एसोसिएसन नेपालका उपाध्यक्ष भेषराज पौडेल भन्छन्, ‘विश्व बजारको ट्रेन्ड नेपालमा तत्काल त देखिएको छैन । नेपालले २/३ वर्षमा ती मुलुकलाई पछ्याउने भएकाले यहाँ पनि पीसीको हालत त्यस्तै नहोला भन्न सकिन्न ।’विश्व बजारमा माग बढेको तथ्यांक हेरौं । सन् २०१२ मा १२ करोड ट्याब्लेटको सिपमेन्ट भएको थियो । यो संख्या सन् २०१० को तुलनामा ७ गुणा बढी रहेको गार्टनरको दाबी छ । यस वर्ष एप्पलले पहिलोपटक आइप्याड बजारमा ल्याएको थियो । विश्व बजारमा ट्याब्लेटको माग दिन प्रतिदिन बढ्दो छ । त्यसैले एप्पल, नोकिया, माइक्रोसफ्टलगायतका कम्पनीले नयाँ ट्याब्लेट बजारमा ल्याएका छन् ।
यसअघि गुगल, अमेजन, सामसुङजस्ता आईटीका हेविवेट कम्पनीले ट्याब्लेट बजारमा ल्याएका थिए । यीबाहेक लेनोभो, एचसीएल, एचपी, माइक्रोम्याक्स, आसुसलगायतका दर्जनौं कम्पनीले ट्याब्लेट बजारमा ल्याएका छन् । विश्व बजारमा आइप्याडको सेयर सबैभन्दा बढी छ । बजार सर्भे गर्ने अर्को संस्था इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) का अनुसार आइप्याडको बिक्री ट्याब्लेट बजारमा ३२ प्रतिशत छ ।दोस्रो नम्बरमा रहेको सामसुङको बिक्री १६ प्रतिशत छ । एप्पलले भर्खरै आइप्याड एयर बजारमा ल्याएको छ । त्यस्तै सामसुङले ग्यालेक्सी नोट थ्री बजारमा ल्याएको छ । यससँगै माइक्रोसफ्टले सर्फ ट्याब, नोकियाले लुमिया ट्याब्लेट बजारमा ल्याएका छन् । ट्याब्लेट उत्पादकले आफ्ना उत्पादनलाई विविधता दिएका छन् । पीसीको अपरेटिङ सिस्टम उत्पादक माइक्रोसफ्टले ल्याएको ट्याब्लेटले कम्प्युटरले जत्तिकै काम गर्छ ।
सामसुङका ट्याब्लेटमा धेरै अप्सन छ । उपभोक्ताले आफूलाई चाहिएको ट्याब्लेट/फ्याब्लेट मूल्य/उपयोगिताअनुसार छान्न सक्छ । एप्पलका आइप्याड काम गर्न/गेम खेल्न उत्तिकै उपयोगी छन् । अमेजनले ल्याएको किन्डल किताब पढ्न बढी उपयोगी छ । गार्टनरको अनुमानमा सन् २०१३ मा पूरा वर्ष १८ करोड ४० लाख ट्याब्लेट सिपमेन्ट हुनेछन् भने पीसी ३० करोड ३० लाख । सन् २०१५ मा भनेट्याब्लेटको सिपमेन्ट बढेर ३३ करोड १० लाख पुग्नेछ ।
पीसीको सिपमेन्ट भने घटेर २७ करोड २० लाखमा झर्नेछ । अर्को सर्वेक्षणकर्ता बीआई इन्टेलिजेन्सको रिपोर्टले भने ट्याब्लेटको बिक्री अभूतपूर्व रूपमा बढिरहेको देखाएको छ । ‘यति छिटो दरमा बिक्री बढेको अरू कुनै डिभाइसको थिएन,’ उसले आफ्नो रिपोर्टमा भनेको छ, सन् २०१३ मा ७४ प्रतिशतले ट्याब्लेटको मार्केट बढ्नेछ । उसले हरेक वर्ष समग्रमा ७५ प्रतिशतले बजार बढिरहेको बताएको छ ।यसले सन् २०१६ मा ५० करोड ट्याब्लेट बिक्री हुने प्रक्षेपण गरेको छ ।
नेपालमा भने मूल्य वृद्धिले पनि ल्यापटप/कम्प्युटरको बिक्रीलाई झन्डै ६०प्रतिशतले घटाएको आईसीटी एसोसिएसनका उपाध्यक्ष पौडेल बताउँछन् । ‘दुई महिनाअघि ४०/४२ हजार रुपैयाँमा पाइने ल्यापटप डलरको भाउ बढेर ५० हजार रुपैयाँभन्दा बढी पर्ने भएको छ,’ उनले भने, ‘त्यसले गर्दा उपभोक्ता मूल्य घट्ने आसले नकिनेर बसेका छन् । ल्यापटप महँगो मानेर किन बस्ने ? सस्तोमा पाइने ट्याब्लेट छँदैछ नि !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार