बाढीपीडितहरु आन्दोलित

२०७० असार ९ गते, आईतवार

काठमाडौ, ९ असार । सरकारले राहत वितरणमा वेवास्ता गरेको भन्दै बर्दियाका बाढीपीडितहरु आन्दोलानमा उत्रिएका छन् ।राजापुर टप्पुका बाढीपीडितहरुको भेलाले १० बुदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन । भेलाले बाढीपीडितहरुलाई ६ महिनासम्म पुग्ने अन्नको तत्कालै व्यवस्था गर्नुपर्ने, किसानलाई धानको बिउँ निशुल्क प्रदान गर्नु पर्ने, पीडितलाई विना धितो १ लाख रुपैयाँ ऋण दिने व्यवस्था गर्नु पर्ने माग गरेको छ ।
यसैगरी, राजापुरस्थित खाद्यसंस्थानको धान, चामल अन्यत्र बिक्री वितरण नगरी बाढीपीडितलाई वितरण गर्नुपर्ने, बाढी प्रभावित गाउँहरुमा तत्काल स्वास्थ्य शिविर संचालन गर्नुपर्ने, बाढीले पु¥याएको क्षतिको उचित मुल्याकंन गरी राहत उपलब्ध गराउनु पर्नेलगायतका तत्कालीन माग राखेका छन् ।
यसैगरी, पीडितहरुले बाढी प्रभावित क्षेत्र पाताभारदेखि दौलतपुरहुदै राजापुरसम्म र गोलादेखि खैरी चन्दनपुरसम्म कर्णाली नदीमा तटवन्धनका लागि आगामी आर्थिक वर्ष २०७०÷०७१ को बजेटमा आवश्यक रकम छुट्याउनु पर्ने भन्दै दिर्घकालिन माग गरेका छन् ।
बाढीपीडितहरुको भेलाले रंजन शाहको संयोजकत्वमा १२ सदस्यीय बाढीपीडित संघर्ष समिति समेत गठन गरेको छ । १५ असारसम्म आफना तत्कालिन मागहरु पुरा नभए कडा आन्दोलनमा उत्रने निर्णय गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रमसमेत सार्वजनीक गरेका छन् ।
माग पुरा नभए असार १६ गते राजापुरस्थित इलाका प्रशासन कार्यालयलगायत राजापुर क्षेत्रका सबै सरकारी कार्यालय तालाबन्दी गर्ने, १८ गते बर्दिया जिल्ला बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम रहेको संघर्ष समितिका सदस्य लक्ष्मण ढुंगानाले बताए ।

प्रतिक्रियाहरु