भारतिय हस्तक्षेपले निम्त्याएको बिनास : माओवादी

२०७० असार ८ गते, शनिबार

काठमाडौं , ८ असार ।भारतले एकपक्षीय रुपमा धौलीगंगा बाँध खोल्दा दार्चुला सदरमुकाम खलंगा नै ध्वस्त हुने गरी महाकाली नदीमा विनासकारी बाढी आएको नेकपा-माओवादीले दावी गरेको छ ।
माओवादीका महासचिव रामबहादुर थापा बादलले विज्ञप्ति जारी गरि सम्भाव्य अरु क्षती रोक्न पहल गर्न माग गरेका छन् । ‘’सीमा नदी महाकाली पारी भारतीय पक्षले एकपक्षीय रुपमा धौलीगंगा बाँध बाध्नु, नदी किनारमा तटबन्ध बनाउनु र वर्षातपछि नेपाललाई जानकारी नदिई बाँध खोल्नुले भाएको क्षति हस्तक्षेपकारी बिनास हो ।’
माओवादीले मनसुनमा लक्ष्मणपुर, खुर्दलौटन, गण्डक र कोशी बाँधले पुर्‍याउन सक्ने क्षतिथबारे तत्काल भारतीय पक्षसँग वार्ता गर्न माओबादीले माग गरेको छ ।साथै बाढी पहिलो पीडित जनतालाई उद्दार, राहत र व्यवस्थापनले राज्यले ढिलाई गरेको र राहत पुनःस्थापनाका लागि छुट्टाएको रकम ज्यादै न्यून भएको बताएको छ । माओवादीले बाढी पहिरो पीडितलाई सहयोग गर्न र राहत संकलन गर्न पार्टी कार्यकर्तालाई अपील समेत गरेको छ ।

माओवादीका महासचिव रामबहादुर थापा बादलले विज्ञप्ति जारी गरेको प्रेस वक्तव्यको पूर्ण विवरण यस प्रकार छ – “हालै दार्चुला जिल्ला लगायत देशका विभिन्न भागहरुमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिबारे हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी–माओवादीको पोलिटब्युरो बैठकले गरेका निम्न निर्णयहरु सार्वजनिक गरिएको छ ।

१) पश्चिम नेपालका दार्चुला, कञ्चनपुर, कालिकोट, दैलेख, डडेलधुरा, कैलाली र बर्दिया लगायतका जिल्लामा बाढी र पहिरोबाट भएको धनजनको क्षतिप्रति हाम्रो पार्टी पुनः गहिरो दुःख व्यक्त गर्दछ । मृतकप्रति गहिरो शोक र परिवार तथा आफन्तजन गुमाउने परिवारप्रति समवेदना प्रकट गर्दछ ।

२) मनसुनी वर्षाका कारण भएको बाढी पहिरोबाट पीडित जनतालाई उद्दार, राहत र व्यवस्थापनमा राज्य पक्षले गरेको ढिलाई र राहत पुनःस्थापनाका लागि छुट्टयाएको रकम ज्यादै न्यून भएको जनगुनासो र आक्रोशप्रति हाम्रो पूर्ण समर्थन छ । र पीडित परिवारलाई उचित राहत पुनस्र्थापना र पुनर्निर्माण कार्यमा राज्यद्वारा यथाशीघ्र कदम चालियोस् भन्ने माग गर्दछ ।

३) वर्षातको कारण बाढी पहिरो आउने कुरालाई स्वभाविक मान्न सकिन्छ तर दार्चुला जिल्लाको सदरमुकाम नै ध्वस्त हुनेगरी भएको घटना भने प्राकृतिक कारणले मात्र नभएको कुरा जनस्तरबाट समेत उठिरहेको छ । सिमा नदी महाकालीपारी भारतीय पक्षले एकपक्षीय रुपमा धौलीगंगा बाँध बाँध्नु, नदी किनारमा तटबन्ध बनाउनु र वर्षातपछि नेपाललाई जानकारी नदिई बाँध खोल्नुले भएको क्षति हस्तक्षेपकारी बिनास हो । यसबारे भारतीय पक्षसित सम्बाद गरी क्षति र सम्भाव्य अरु क्षति रोक्न यथाशीघ्र पहल गरियोस् । पूर्ण मनसुनमा लक्ष्मणपुर, खुर्दलौटन, गण्डक र कोशी बाँधले पु¥याउन सक्ने क्षतिबारे तत्काल भारतीय पक्षसँग वार्ता गरी पूर्व सचेत पहल गरियोस् ।

४) बाढी पहिरोका घटनामा स्थानीय स्तरबाट हाम्रो पार्टी कार्यकर्ताले उद्दार र राहत कार्यमा लिएको पहल प्रशंशनीय छ । यो पहललाई उचित राहत प्राप्ति, पुनर्निर्माण र पुनस्र्थापनासम्म जारी राख्न निर्देशन जारी गर्दछ । साथै सम्पूर्ण पेशा, व्यवसायका जनताको सहयोगमा बाढी पहिरो पीडित जनतालाई सहयोगका लागि राहत सङ्कलन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई विशेष आग्रह गर्दछ ।

५) तिर्थ गर्न तथा रोजगारीका लागि भारत गएका समयमा आएको बाढी पहिरोका कारण अलपत्र परेका नेपालीहरुलाई यथाशीघ्र उद्दार गरियोस् ।”

प्रतिक्रियाहरु