‘सन्चो ‘ बिस्थापित गर्न तस्करको साँठगाँठ

२०७० जेष्ठ १३ गते, सोमबार

काठमाडौँ, – जडीबुटी उत्पादन तथा सङ्कलन क्षेत्रका केही तस्करहरूले लोकप्रिय आयुर्वेदिक तेल (सन्चो) लाई मिसावट गर्न खोजेको तथ्य फेला परेलगत्तै सावधानी अपनाइएको छ । मिडिया इन्टरनेसनलले आयोजना गरेको छलफल कार्यक्रममा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक चन्द्रबहादुर शाहीले सन्चोको विभिन्न देशबाट माग भएपछि चाँडै धनी हुने लोभमा तस्करहरूले सन्चोको ब्रान्ड बिगार्न खोजेको बताए । तस्करहरूले नेपाली उत्पादन सन्चो भारतमा लगी अन्य रसायन मिसावट गरी दुरुस्त बनाई बिक्री वितरणमा ल्याउन लागेको तथ्य बाहिर आएलगत्तै कम्पनीले आफ्नो उत्पादनमा विशेष सतर्कता र सावधानी अपनाउनुपरेको उनले बताए ।
बेलायतबाट तत्कालै १०० कार्टुन सन्चोको माग भएलगत्तै आयुर्वेद क्षेत्रका केही तस्करहरूले भारतीय आयुर्वेद क्षेत्रका तस्करसँग साँठगाँठ गरी नेपाली सन्चोको ब्रान्ड बिगार्न लागेको महाप्रबन्धकले खुलासा गरेका हुन् ।
नेपालमा मात्र पाइने एक प्रकारको जडीबुटीबाट तयार पारिने तेलको नाम नै ‘सन्चो’ हो । यसलाई रुघाखोकी, टाउको दुखेको र शरीर दुख्दा प्रयोग गरिन्छ । सन्चोको उत्पादन नेपालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले मात्र गर्दछ ।

नेपालमा हाल सन्चोको बिक्री वार्षिक रु ३० लाखभन्दा बढीको हुन्छ भने अन्य मुलुकबाट तीन गुणा बढी माग भइरहेको छ । जडीबुटीको अथाह भण्डार रहेको नेपालमा अरु देशका मानिसले लुकीछिपी धेरै फाइदा बटुलिरहेको भए पनि नेपाल सरकारले त्यसतर्फ ध्यान दिन नसकेको जडीबुटी व्यवसायी सुभाष सुब्बाले जानकारी दिए । नेपालमा कानुनीरूपले भन्दा गैरकानुनीरूपले जडीबुटीको तस्करी हुने गरेको वनस्पति विभागका महानिर्देशक डा अन्नपूर्णनन्द दासले जानकारी दिए । राजनीतिक संरक्षणका आधारमा नेपाली जडीबुटी कौडीको मोलमा बिक्री भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

नेपालमा वैधरूपमा वार्षिक करिब रु दश अर्बको जडीबुटीको व्यापार हुने गर्दछ । तर, तीन गुणा बढी अवैध ढङ्गबाट कारोबार हँुदा राज्यले करिब एक अर्ब राजस्व गुमाइरहेको स्रोतको दाबी छ । हाल सरकारले जडिबुटीबाट वार्षिक करिब रु ३० करोड राजस्व असुल गर्ने गरेको श्री दासले बताए । नेपालबाट जडीबुटीका रूपमा सबैभन्दा बढी कुरिलोको व्यापार हुने गरेको पाइन्छ । हाल दैनिक करिब एक ट्रक कुरिलो भारत निर्यात हुने गरेको बताइन्छ । कुरिलो सुप बनाएर पिउन र अन्य विभिन्न औषधि उत्पादनमा प्रयोग हुने गर्दछ ।
नेपालबाट अमला, कुरिलो, जटामसी, पाँचऔँले, चिराइतो, रुद्राक्ष, लेमनग्रास, रिठ्ठो, गुजरगानो, सुगन्ध कोकिल, सर्पगन्धा, सतुवा, सुनाखरीलगायतका १६० प्रजातिका जडीबुटीको कानुनी तथा गैरकानुनी तरिकाबाट बिक्री वितरण भइरहेको दासले बताए ।

प्रतिक्रियाहरु