तत्काल पाठ्यपुस्तक पुर्याउन निर्देशन

२०७० जेष्ठ ४ गते, शनिबार

काठमाडौँ । ‘हेलो सरकार’ मा पाठ्यपुस्तक नपुगेकामा गुनासा आएपछि सरकारले १५ दिनभित्र पाठ्यपुस्तक नपुर्याए सम्बन्धित अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । ‘हेलो सरकार’ मा पाठ्यपुस्तक नपुगेकामा देशका विभिन्न जिल्लाबाट धेरै गुनासा आएपछि सरकारका तर्फाट प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले शिक्षा सचिव, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनका जिम्मेवार अधिकारीलाई शुक्रबार बोलाई तत्काल पाठ्यपुस्तक तत्काल पुर्याउन निर्देशन दिएका हुन् । बाँस्कोटाले करिब ६१ लाख विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने अधिकारमा कुठाराघात पुर्याउनेउपर कारबाही गर्ने चेतावनी दिँदै पाठ्यपुस्तकको बिक्री वितरणमा तीव्रता दिन निर्देशन दिएका हुन् । उनले चालू शैक्षिक सत्रका लागि हालसम्म नपुग रहेको १८ लाख थान पुस्तक १५ दिनभित्र मुद्रण गरी देशभरका विद्यार्थीसम्म पुर्याइसक्न निर्देशन दिएका छन् । उनले साझा प्रकाशनको केन्द्र, छवटा क्षेत्रीय कार्यालय र १९ वटा जिल्लास्तरीय कार्यालयहरूले ‘सेट’ नपुगेका पाठ्यपुस्तकहरू ‘पिस’ मा पनि तुरुन्तै बिक्री थाल्न आग्रह गरेका छन् । उनले साझाका दुइ हजार एजेन्ट र पाँच हजार स्थानीय एजेन्टलाई पाठ््यपुस्तक शीघ्र पुर्याउने गरी परिचालन गर्न र अटेरी गर्ने एवं गैरजिम्मेवारीपूवक काम गर्ने एजेन्टको इजाजत तुरुन्तै खारेज गरी कालोसूचीमा राख्नसमेत निर्देश गरे । सचिव बाँस्कोटाले दार्चुला, रामेछाप, बारा, पर्सर्ाादाङ, कैलाली, रूपन्देहीजस्ता जिल्लामा बढी समस्या देखिएकोले तत्कालै ती स्थानमा पुस्तक पुर्याउन जनक शिक्षा र साझा प्रकाशनलाई आग्रह गरे । बाँस्कोटाले मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा ६५-७० प्रतिशत मात्रै पुस्तक पुगेको आफूलाई गुनासो आएकाले ती क्षेत्रमा प्राथमिकता केन्द्रित गर्नसमेत सम्बन्धित अधिकारीलाई आग्रह गरे । छलफलका क्रममा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले केन्द्रसँग दैनिक १ लाख २५ हजार पुस्तक तयार गर्न सक्ने क्षमता भए पनि नियमित विद्युत् आपूर्ति हुन नसक्ने, समयमा कागज उपलब्ध नहुने र टेन्डरको लामो प्रक्रियामा गुज्रिनुपर्ने कारणले पुस्तक प्रकाशनमा ढिलाइ भएको जानकारी गराएका थिए । साझा प्रकाशनकी महाप्रबन्धक ममता झाले मुलुकको दुइ तिहाइभन्दा बढी स्थानमा तोकिएकै समयमै पाठ्यपुस्तक पुगिसकेको र केही ठाउँमा पुस्तकको अभाव देखिएकाले छिट्टै पुस्तक पुर्याइने प्रतिबद्धता व्यक्त गरिन् । सरकारले जनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशनबीच पुस्तक बिक्रीवितरणमा समन्वयका लागि उच्चस्तरमा संयन्त्र तयार गर्नसमेत निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु