सहकारी नामको नयाँ पार्टी

२०६९ चैत्र ३० गते, शुक्रबार

काठमाडौं । ठूला दलहरुको अदूर्दर्शी राजनीतिको कारणले देश र जनताको दुःख पाएको दावी सहित मुलुक र नेपाली जनतालाई समृद्धशाली बनाउने उद्घोष सहित सहकारी पार्टी नेपालको घोषणा भएको छ ।रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बाटो विराएका राजनीतिक दलहरुलाई सहकार्यमा ल्याउँदै देशको आर्थिक, सामाजिक विकासलाई नयाँ दिशाबाट समृद्धशाली बनाउने उद्देश्यले पार्टीको जन्म भएको जानकारी दिईएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष हिरामणी पौडेलले विशुद्ध रुपमा नेपाली जनताको हित र उन्नतीको लागि राजनीति गर्दै आर्थिक विकासको लागि सबै नेपाली जनता, उद्योगी, व्यवसायी, व्यापारीलगायत सबै तह र तप्काका जनताहरुलाई समावेश गरी मुलुकलाई आर्थिक सम्पन्न र नेपाली जनतालाई स्वदेशमै रोजगारी प्रत्याभूति दिने दावी गरे ।
उनले भने– हामीले राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा ७ बमोजिम निर्वाचन आयोगमा गत चैत्र १९ गते दर्ता गरिसकेका छौं, यो पार्टीलाई ७५ वटै जिल्लामा विस्तारित गर्दै आर्थिक क्रान्तिको विजारोपण गर्दै मुलुकलाई समृद्धशाली बनाउँछौं ।
सहकारी विज्ञ डा. बद्रीप्रसाद गौतमले ठूला पार्टीहरुको दादागिरीले असफलताको दिशातिर धकेलिँदै गएको मुलुकलाई सही ट्रयाकमा ल्याउने दावी गरे ।
सहकारी पार्टी नेपालले आर्थिक सामाजिक क्रान्तिका लागि सम्पूर्ण सहकारीकर्मीहरु एक हौं, जनताको लागि राजनीतिक, विकासको लागि सबैसँग हातेमालो भन्ने नारा अघि सारेको छ ।

प्रतिक्रियाहरु