चार दल चार तिर ,असारमा निर्वाचन असम्भव

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ । चार दलले आगामी असारको पहिलो साताभित्र नै निर्वाचन गर्ने जिम्मेवारीका साथ सरकारको बागडोर सम्हाल्न पुगेका अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी चार दलकै कारण असफल हुने भएका छन् । चार दलले अपेक्षाअनुरुप सहयोग नगर्दा सरकारले निर्वाचनको मितिसम्म तोक्न सकेको छैन । चार दल खिलराज रेग्मीलाई सरकारको नेतृत्व सुम्पन जति आतुर देखिएका थिए अहिले त्यही अनुपातमा खिलराजलाई असहयोग पुर्याउनेतिर उद्यत छन् । चार दलले आशातित रुपमा सहयोग नगरेपछि अध्यक्ष खिलराज रेग्मीसमेत दलसँग रुष्ट भएको स्रोतले बताएको छ । चार दलले सरकारको नेतृत्व लिन जसरी अनुनय-विनय गरेका थिए । तर, अहिले निर्वाचनको वातावरण बनाउन त्यहीरुपमा सहयोग नपुर्याएपछि अध्यक्ष रेग्मी चार दलसँग सशंकित भएको बताइन्छ । चार दलबाहेक निर्वाचनमा भाग नलिने जनाएका दलहरुको मागलाई सम्बोधन गरी निर्वाचनको बाटोमा लाग्नुको साटो आफूहरु नै र्सर्वेर्सवा भएको जनाउँदै असन्तुष्ट दलहरुसँग वार्ता गर्न थाल्नुले पनि रेग्मीको असन्तुष्टिको पारा चढेको स्रोतले बताएको छ । सरकार र चार दलसँग वार्ता नगर्ने जनाइरहेका असन्तुष्ट दलहरुलाई उनीहरुको मागबमोजिम राष्ट्रपतिसहित वार्तामा बस्ने वातावरण बढाउनुको सट्टा झन् चिढ्याउने काम गरेपछि अध्यक्ष रेग्मी चार दलसँग झनै सशंकित बन्न पुगेको स्रोतको दाबी छ ।
नेकपा-माओवादीसहितका ३३ दल र मधेसी जनाधिकार फोरम उपेन्द्र यादवलगायतको समूहले समेत चार दलले आहृवान गरेको वार्ता अस्वीकार गरेपछि निर्वाचनको झिनो सम्भावनासमेत तुहिएको छ । चार दलले राष्ट्रपति र सरकारलाई समेत बाईपास गरी सरकार आफैँ चलाउने नीति लिएपछि अहिले राष्ट्रपति डा. रामवरण यादव र अध्यक्ष खिलराज रेग्मीसमेत चार दलको पछि लागेर गलत गरिएछ भन्दै पछुताउने गरेको स्रोतको दाबी छ । र्
वर्तमान संकटको निकासको लागि भन्दै प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको बागडोर सुम्पने चार दल अन्ततः खिलराज रेग्मीलाई असफल सावित गर्दै पुनः आफ्नो राजनीतिक एकाधिकार कायम गर्दै सरकार हत्याउने दिशामा उद्यत भएको राजनीतिक विश्लेषकहरुको ठहर छ । अब चार दल यो वा त्यो वहानामा अध्यक्ष खिलराज रेग्मीलाई असफल बनाई सरकारबाट हटाउने र पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रपञ्चमा लागेका छन्, जसको प्रमाण एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरु नै असारमा चुनाव हुन नसके सरकार असफल हुने बताइरहेका छन् भने कतिपय नेताहरुले अन्ततः खिलराज रेग्मीको खुलेरै विरोध गर्दै आवश्यक परे रेग्मी सरकारविरुद्ध सडकमा ओर्लने बताउन थालिसकेका छन् ।

प्रतिक्रियाहरु