चार सय पक्की पुल बन्ने

२०६९ चैत्र १८ गते, आईतवार


काठमाडौँ । सरकारले करीब रु. ३० अर्ब लागतमा मुलुकका विभिन्न स्थानमा चार सयवटा पक्की पुल बनाउन सुरु गरेको छ । यी पुल आगामी ५ वर्षभत्र बनिसक्ने भौतिक पर्ूवाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए । पुल निर्माणका लागि विश्व बैङ्कले रु. ५ अर्ब ऋण दिने भएको छ । बाँकी रकम नेपाल सरकारले बेहोर्नेछ । ‘थप चार सयवटा पक्की पुल निर्माणका लागि डिजाइन तयार भइरहेको छ,’ सिटौलाले भने, ‘डिजाइन तयार भएलगत्तै रकम जुटाएर निर्माणको काम थालिनेछ ।’ प्रमुख सडकका प्रत्येक पाँच किलोमिटरदेखि छ किलोमिटरसम्मको खण्डमा कम्तीमा एउटा पुल निर्माण गर्नुपर्ने मन्त्रालयले बताएको छ । सबै जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने उद्देश्यअनुसार सरकारले पुल निर्माणको कामलाई तीव्रता दिएको सिटौलाको भनाइ छ । ‘विकासको मेरुदण्ड नै सडक हो,’ उनले भने, ‘पुलको अभावमा सबै सडक बाह्रै महिना सञ्चालन हुन सक्दैनन् ।’ नेपालमा कुल १० हजार पक्की पुल आवश्यक भएको मन्त्रालयले बताएको छ । तर, हालसम्म एक हजार पाँच सयवटा मात्र पुल छन् । नेपालमा ६० हजार किलोमिटर सडक निर्माण भइसकेको छ । त्यसमध्ये ३० हजार किमि सडक मात्र बाह्रै महिना सञ्चालनमा आउन सक्छन् । ‘पुल नभएकै कारण यी सडक बाह्रै महिना सञ्चालनमा आउन नसकेका हुन्,’ सिटौलाले भने, ‘अन्य कतिपय कारणले पनि सडक सञ्चालनमा अप्ठ्यारो परेको छ ।’ नेपालमा कुल १० हजार किमि कालोपत्रे र ५ हजार किमि ग्राभेल सडक छन् । बाँकी सबै सडक धूले नै हुन् । हाल नेपालमा सडकका लागि वाषिर्क करिब रु. ३० अर्ब लगानी हुँदै आएको छ । ‘सरकारले आगामी वर्षसडकमा लगानी बढाउने सोच बनाएको छ,’ सिटौलाले भने, ‘पुल बनिसकेपछि गाउँको उत्पादनलाई सहरमा ल्याउन सहज हुन्छ ।’ यसले ग्रामीण भेगका जनताको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुर्याउने उनको भनाइ छ । पुल नबनेकै कारण वषर्ायाममा दर्ुघटना हुने गरेको मन्त्रालयका प्राविधिकहरु बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु