जुजुभाइले यस बर्ष पनि जिब्रो छेडाउने

२०६९ चैत्र १५ गते, बिहीबार


काठमाडौं ।यसअघि लगातार चार पटक जिब्रो छेडाइसकेका बोडेका जुजुभाइ बासु श्रेष्ठले यस बर्ष पनि जिब्रो छेडाउने भएका छन् । यस पटक पनि जिब्रो छेडाउन अन्य कसैले चासो नदिएकोले आफैले छेड्न लागेको उनले बताए । आर्थिक समस्या पर्ने भएकोले अन्यले चासो नदिएको हुन सक्ने उनले बताए । जात्रा सञ्चालन गर्न करिब ८० हजार रुपैयाँ खर्च हुने उनले बताए । भक्तपुर र काठमाडौंको ७ विद्यालयमा आर्ट बिषय पढाउँदै आएका उनले जिब्रो छेडाउन कसैले चासो नदिएकोले संस्कृति धान्नकै लागि भएपनि यस बर्ष निरन्तरता दिन लागेको जुजुभाइले बताए । जिब्रो छेडाउन बोडेका स्थानीय नेवार समुदायको हुनुपर्छ । फाइन आर्टमा स्नातकसम्म अध्ययन गरेका उनी एक सन्तानका बाबु हुन् ।
जात्रा सञ्चालन गर्न प्रत्येक बर्ष आर्थिक सहयोग माग्दै हिडनु पर्ने समस्या रहेको उनले बताए । ‘जात्रा सञ्चालन गर्न आफ्नै नीजि खर्चमा सकिँदैन,’ उनले भने, ‘अरुलाई कतिन्जेल खर्च माग्नु ? सहयोग माग्न जाँदा २/४ हजार दिने गरेको छ ।’ जात्रा सञ्चालन गर्न व्यवस्थापन समिति समेत छैन । आफैँले आर्थिक संकलन गरेर रकम जोहो गरेर जात्रा चलाउनु पर्दा समस्या परेको उनले गुनासो गरे । जसले जिब्रो छेडाउँछ, उसले आफन्त र टोलछिमेकीलाई भोज खुवाउनु पर्ने परम्परा छ । त्यस्तै दुई दिन तीन रातसम्म पानी मात्रै खाएर निराहार बस्नु पर्ने बाध्यता छ । जिल्ला विकास समिति र मध्यपुर नगरपालिकामा जात्रा सञ्चालनका लागि बजेट छुट्याए पनि कम दिने गरेको उनले बताए । जात्रालाई बोडेको स्थानीय जात्राको रुपमा लिने गरेको उनले बताए । वैशाख २ गते भक्तपुर, बोडेमा यो जात्रा मनाइन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु