मनसुन भित्रियो

२०८१ जेष्ठ २८ गते, सोमबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको जनाएको छ । हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ ।
नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।
यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि हुने गर्दछ । गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले आज कोशी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने बताए ।
कोशी प्रदेशका जिल्लाहरुमा केही दिनयता दिनहुँ वर्षा हुँदै आएको थियो । तर काठमाडौं उपत्यकासहित पश्चिम तराईका भूभागमा नियमित पानी नपर्दा अत्यधिक गर्मी छ । महाशाखाले जेठ २६ गते विशेष बुलेटिन जारी गर्दै जेठ २८ गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन भनेको थियो ।
यस्तो अवस्था अझै केही दिन जारी रहने सम्भावना रहेको मौसमविद अधिकारीले बताए । ‘रोचक त के छ भने पूर्वी नेपालमा मनसुन भित्रिँदा पश्चिमतिर तातो हावाको लहर छ,’ अधिकारीले भने, ‘अझै केही दिनसम्म पश्चिमतिर गर्मी नै हुने सम्भावना छ ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु