विश्वभरी चलिरहेका युद्ध रोक्न माग

२०८१ जेष्ठ १४ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर समितिले तत्काल सबै युद्धहरु रोक्न माग गर्दै शान्ति र्याली गरेको छ । आइतबार तुलसीपुरको बसपार्कस्थित तिनकुने चोकबाट सुरु भएको शान्तिका लागि समाजवाद र्याली बिपि चोक पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ इन्चार्ज प्रदिप सीले अहिले विश्वभरी अमेरिकी साम्राज्यवादले युद्ध मच्चाइरहेको भन्दै तत्काल सबै युद्धहरु रोक्न माग गर्दै भने– ‘ अहिले विश्वभरि अशान्ति छ । रुस-युक्रेन, इजरायल -प्यालेस्टाइन युद्ध लगाएत तमाम युद्धहरुले आम मानिसहरु सन्त्रासमा बाचिरहेका छन् । शान्तिपूर्ण ढंगले बाँच्न पाउने जनताको अधिकारलाई आफुलाई प्रजातान्त्रिक शक्ति ठान्ने पुजीवादका नाइके एवम् अमेरिकी साम्राज्यवादले युद्धको नेतृत्व गरिरहेको छ ।’
उनले वास्तविक शान्ति समाजवादमा मात्रै सम्भव भएको बताउदै भने- ‘ अमेरिकाले शान्तिको नाममा संसारभरी युद्धको व्यापार गरिरहेको छ । अमेरिकाले एउटा हल्ला जबर्जस्त गर्ने गरेको छ त्यो हो समाजवादीहरुले अशान्ति चाहान्छन् तर यो कुरा सत्य होइन वास्तविक शान्ति चाहने शक्ति समाजवादी हुन्, शान्ति केवल समाजवादमा मात्रै सम्भव छ । विश्वका श्रमिक जनतालाई थाहा नै छ कि अहिले विश्वभरी चलिरहेका युद्धहरुको कारण अमेरिकी साम्राज्यवाद हो । अमेरिकाले दक्षिण एसियालाई पनि अहिले जबर्जस्त युद्धमा तान्न खोजिरहेको छ, त्यसको पुष्टि एमसिसी लाद्नुलाई हेर्न सकिन्छ । एमसिसीमार्फत अमेरिकाले नेपाललाई जबर्जस्त युद्ध मैदानमा परिणत गर्न खोजिरहेको छ । अमेरिकाले सामरिक महत्वका भू-भागलाई रणनीति ढंगले उपयोग गर्न खोजिरहेको छ, नेपाली जनता सचेत हुन जरुरी छ ।’
नेता प्रदिप सीले अहिले विश्व साम्राज्यवादले चलाइरहेको पुजीवादी राज्यव्यवस्था र नेपालको दलाल पुजीवादी संसदीय व्यवस्थाले श्रमिक जनताको प्रतिनिधित्व गर्न नसकेकाले यसको विकल्प समाजवादी राज्यव्यवस्था भएको ठोकुवा गरे ।
उक्त कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम् शान्तिनगर गाउँकमिटीका इन्चार्ज जनक सीले साम्राज्यवादले कम्युनिस्टहरुलाई नै अशान्तिको मिथ्या आरोप लगाएको बताए ।
कम्युनिस्टहरु वास्तविक शान्ति चाहने शक्ति भएको तर दमन, उत्पीडन र शोषणका विरुद्ध सचेततापूर्वक लड्ने भएकाले साम्राज्यवादले कम्युनिस्टहरुमाथि अनर्गल प्रचारबाजी गर्ने गरेको समेत स्पष्ट पारेका थिए ।
शान्तिका लागि समाजवादका शान्ति र्यालीपछिको कोणसभालाई सहजीकरण नेकपा तुलसीपुर नगर सेक्रेटरी भुवन सीले गरेका थिए ।

प्रतिक्रियाहरु