१९५० देखिका असमान सन्धिहरु खारेज गर

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन, युवा संगठन नेपालले १९५० देखिका असमान सन्धिहरु खारेज गर्न माग गरेको छ । चैत २४ गतेदेखि २७ गतेसम्म धनगढीमा सम्पन्न सम्मेलनले १९५० देखिका असमान सन्धिहरु खारेज गर्न माग गरेको हो ।
सम्मेलनले राष्ट्रिय स्वाधिनताको आन्दोलनमा गोलवद्ध हुनसमेत आह्वान गरेको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनबाट पारित निर्णय सार्वजनिक गर्दै संगठनले यस्तो आह्वान गरेको जनाएको हो । युवा संघ नेपालको उक्त सम्मेलनले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र किसानलाई समयमै मल र बीउ सर्वसुलभ उपलब्ध गर्न सरकारसँग माग गरेको छ । बेरोजगार युवाहरुका लागि रोजगारीको ग्यारेन्टी गर्न, बन्द कलकारखाना सञ्चालन गर्न पनि युवा संगठनले सरकारको ध्यानाकार्षण गराएको छ ।
उक्त सम्मेलनले दलाल पुजीवादी व्यवस्थालाई अन्त्य गरि त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामवद्ध हुन आह्वान गरेको छ । सम्मेलनले भूमीहीन सुकुम्बासी, भूमीहिन दलित, श्रमिकवर्ग र अव्यवस्थित बसोवासी नागरिकहरुको समस्या यथासीघ्र सम्बोधन गर्न समेत सरकारको ध्यानाकार्षण गराएको छ । त्यसैगरी, बढ्दो क्रममा रहेको सवारी दुर्घटना, पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार, कमिसन, महंगी कालोवजारी लगायतका विषयमा सम्मेलनमार्फत ध्यानाकार्षण गराइएको छ ।
युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले आफूहरुले यो देश दलालहरुको हातबाट खोसेर श्रमिक वर्ग र स्वाभिमान युवाहरुको हातमा ल्याउनका लागि संघर्ष गरिरहेको बताए । विगत केही समययता नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था चलिरहेको र यसलाई मिल्काउन आफूहरु लागिरहेको उनले बताए । नेपाली विशेषताको समाजवाद आफूहरुको मूल एजेण्डा रहेको उनले बताए । अहिलेको दलाल पुँजीवादी व्यवस्थाले युवाहरुलाई विदेश लखेटिरहेको उनले बताए । संगठनको पाँच सम्मेलनले यस्ता प्रकारका समस्याका विरुद्ध लड्ने उद्घोष गरेको उनले बताए ।
युवा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सीले यतिबेला देशमा ठूलो राष्ट्रिय संकट पैदा भएको बताए । विकासको नाममा एमसीसीजस्तो राष्ट्रघाती परियोजना भित्र्याइएको उनको आरोप छ । उनले अहिले देशमा बाह्य शक्तिहरुको ठूलो हस्तक्षेप सुरु भएको बताए । एमसीसीजस्तो राष्ट्रघाती परियोजनाका विरुद्धमा आफुहरु निरन्तर संघर्षमा नै रहेको उनले बताए । एमसीसी आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । उपाध्यक्ष विश्लेषणले आफूहरु सीमा अतिक्रमणको विरुद्धमा पनि आफूहरु निरन्तर संघर्षमा नै रहेको बताए ।
साथै, मिटरव्याज, सहकारी र बैंकको चर्को व्याजले वित्तीय क्षेत्रलाई आक्रान्त बनाएको उनले बताए । साथै, विगतका संघर्षबाट प्राप्त उपलब्धीका विरुद्ध केही शक्तिहरु लागिरहेको भन्दै उनले यसका विरुद्ध आफूहरु कफन बाँधेर लागिरहने बताउदै भने- ‘यो सबै परिवर्तनलाई संस्थागत गर्नुको विरुद्ध आज भत्काउन खोजिएको छ । विभिन्न नामबाट, विभिन्न उपमा दिँदै भत्काउन खोजिएको छ, अपराधीकरण गर्न खोजिँदै छ । यसको विरुद्ध कफन बाँधेर लड्न युवा संगठन तयार । ’-शाहस भट्ट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु