न्यायाधीश गिरी पुर्पक्षका लागि थुनामा

२०८१ बैशाख ३ गते, सोमबार


काठमाडौँ । वैवाहिक बलात्कारको अभियोग लागेर निलम्बनमा परेका न्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो। सर्वोच्च अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले नेपालखबरलाई जानकारी दिए।
सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो।
काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। जिल्ला र उच्च अदालतको आदेश बदर गरी सर्वोच्चले पुर्पक्षका लागि थुनामा पठाउन भनेपछि गिरीले आत्मसमर्पण गरेका छन्। गिरीलाई धरौटीमा छाड्ने आदेशबाट असन्तुष्ट उनकी श्रीमतीले अनशन र प्रदर्शनसमेत गरेकी थिइन्। घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी पत्नीले २०७९ मंसिरमा कपिलवस्तु जिल्ला अदालतका तत्कालीन न्यायाधीश गिरीविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु