नेपालमा संशोधनवाद

२०८१ बैशाख २ गते, आईतवार

हस्तबहादुर केसी

संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हुनुको कारण त्यसको प्रभाव नेपालमा पर्नु स्वाभाविकै थियोे र प¥यो पनि । बि. सं. २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । २०१० देखि नै नेपालमा संशोधनवादको थालनी भएको पाइन्छ । पहिलो महाधिवेशनबाट निर्वाचित महामन्त्री मनमोहन अधिकारीद्वारा विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी भित्र संशोधनवादलाई घुसाएको पाइन्छ ।

नेपालमा अहिलेसम्म आइपुग्दा बहुदलीय संशोधनवाद, जडसूत्रीय संशोधनवाद, दक्षिणपन्थी संशोधनवाद र नवसंशोधनवादको विकास हँुदै आएको छ । नेपालमा अहिले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै नवसंशोधनवादमा पुगेर प्रतिक्रियावादमा पतन हुन पुगेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको रुपमा क्रियाशील छन् । र, महान् क्रान्तिको तयारीमा जुटिरहेका छन् ।

नेपालमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरूद्वारा सबैखाले संशोधनवादको विरोध र माक्र्सवादको पक्षमा क्रान्तिलाई अगाडि बढाउने काम हुँदै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको यो ७४ वर्षको लामो इतिहासमा खासग नेपालमा संशोधनवादको विस्तृत अध्ययन गर्न आवश्यक छ र परास्त गर्न भीषण वैचारिक संघर्ष सञ्चालन गर्न जरुरी छ ।

फ्रेंकफुर्ट स्कुलदेखि उत्तर आधुनिकवादसम्म

संशोधनवादले विविध कलेभर फेर्ने क्रममा फ्रेंकफुर्ट स्कुलदेखि उत्तर आधुनिकवादसम्मका विचारहरु निम्न पुँजीवाद, पुँजीवाद र माक्र्सवादी विचारधाराको घोलका रुपमा देखापर्दै आएको छन् । यसप्रकारका विचारहरु मूलतः क्रान्तिकारी माक्र्सवाद सर्वहारावर्गको मुक्तिको विरोध र साम्राज्यवादका पक्षमा रहेका छन् । यी मध्ये कतिपय दार्शनिक धारालाई नववाम, नव माक्र्सवादी वा उत्तर माक्र्सवादी पनि भन्ने गरिन्छ । तर वास्तविक अर्थमा ती निम्न पुँजीवादी तथा पुँजीवादी विचारधाराका पक्षपोषक र साम्राज्यवादका सेवक बाहेक अरु केही पनि होइनन् ।

(क) फ्रेंकफुर्ट स्कुल

फ्रेंकफुर्ट स्कुल जर्मनीको फ्रेंकफुर्ट विश्वविद्यालयमा स्थापना गरिएको एक सामाजिक अनुसन्धानमूलक संस्था हो । सन् १९२३ देखि १९३३ का बीच यो स्कुल विकसित भएको थियो ।

फ्रेंकफुर्ट स्कुलका प्रमुख चिन्तकहरुमा म्याक्स होर्खेइमर (१८९५ – १९७३), थियो डोर अर्डोनो (१९०३–१९६९), हर्बर्ट म्याकुर्ज (१८९८–१९७९) आदि रहेका छन् ।

यो स्कुलले माक्र्सवाद, समाजशास्त्र, दर्शन, संस्कृति जस्ता विषयमा अध्ययन र अनुसन्धान गर्ने नाममा तिनलाई विकृत तुल्याउने काम गर्दै आएको हो ।

विशेषगरी फ्रेंकफुर्ट स्कुल माक्र्सवाद, शून्यवाद, फ्रायडवाद, हेगेलवाद र अस्तित्ववाद मिलेर बनेको सारसंग्रहवादी स्कुल हो । यश स्कुलका मुख्य मान्यताहरुमा–समाजको आलोचनात्मक सिद्धान्त, निषेधात्मक द्वन्द्ववाद, शून्यवाद, युटोपियाको अवधारणा र सारमा माक्र्सवाद तथा रुपमा पुँजीवादको पनि विरोधी रहेको छ । फ्रेंकफुर्ट स्कुल मूलतः निरासावादी रहेको छ ।

तत्वमीमांसा (ज्ञानसिद्धान्त) का क्षेत्रमा फ्रंकफुर्ट स्कुल हेगेलको आदर्शवाद र नित्सेको शून्यवादबाट प्रभावित रहेको छ । यो स्कुलको आलोचनात्मक सिद्धान्तले न भौतिकवाद नत आदर्शवादलाई नै प्राथमिक मान्दछ । सारमा यो स्कुल आदर्शवादी रहेको छ ।

(ख) संरचनावादी माक्र्सवाद

यहाँ संरचनावादी माक्र्सवाद भनेको माक्र्सवादलाई भाषावादी वा जैविक संरचनावादका आधारमा अध्ययन गर्ने भन्ने रहेको छ । संरचनावादी माक्र्सवादका मुख्य प्रतिनिधि लुइस अल्थ्युसर र जैविक संरचनावादका मुख्य प्रतिनिधि लुसिँए गोल्डमानलाई लिइन्छ ।

अन्ततः अल्थ्युसरले माक्र्सवादलाई विकृत तुल्याउने काम गरेका छन् । गोल्डमानले माक्र्सवाद र संरचनावादलाई मिलाएर उत्पतिमूलक संरचनावादको निर्माण गरेका छन् । उनले सर्वहारावर्गको विश्वदृष्टिकोणका रुपमा माक्र्सवादको परित्याग गरी मानवतावादको पक्षपोषण गरेका छन् । उनले साहित्यको विश्लेषणका लागि माक्र्सवाद, फ्रायडवाद, संरचनावाद र समाजशास्त्रलाई मिलाउने कुरामा जोड दिएका छन् ।

(ग) साँस्कृतिक भौतिकवाद

सन् १९८० तिर बेलायतमा साँस्कृतिक भौतिकवादको अवधारणा विशेष चर्चामा आएको पाइन्छ । यो अवधारणाका प्रमुख प्रवक्ता दार्शनिक रेमण्ड विलियम्स (१९२–१९८८) हुन् । उनको भनाइमा साँस्कृतिक भौतिकवाद भनेको सामाजिक र भौतिक उत्पादन प्रक्रिया, विशिष्ट व्यवहार कलाका रुपमा संस्कृतिको सिद्धान्त हो । उनले “साँस्कृतिक भौतिकवाद” लाई ऐतिहासिक भौतिकवाद अन्तर्गतको भौतिक, साँस्कृतिक र साहित्यिक उत्पादनका विशिष्टताहरुको सिद्धान्त बताएका छन् । उनको विचारमा त्यही नै माक्र्सवादी सिद्धान्त हो । माक्र्सवादी दर्शनमा साँस्कृतिक भौतिकवाद पदावलीको प्रयोग भएको छ, त्यो माक्र्सवादको विकृतिकरण नै हो । किनकि यसले माक्र्सवादलाई विकृतिकरणमा गिराउने काम गरे ।

(घ) उत्तर माक्र्सवाद

उत्तर माक्र्सवादी चिन्तन माक्र्सवाद पुरानो भयो, माक्र्सवाद काम नलाग्ने भइसक्यो, अब माक्र्सवादको औचित्य समाप्त भइसक्यो भन्ने हो । उत्तरको अर्थ हो समाप्ति । यसरी हेर्दा उत्तर आधुनिकतावादको जगमा उत्तर माक्र्सवादको विकास भएको पाइन्छ । मूलतः उत्तर माक्र्सवादले माक्र्सवाद रुढीबादी, पुरानो र काम नलाग्ने भइसकेको भन्दै आमूलवादी तथा बहुलवादी प्रजातन्त्रको पक्षपोषण गर्दछ र यसले वर्गीय समाजमा वर्गको निषेध गरी पहिचाहनको राजनीतिलाई अंगालेको छ । उत्तर माक्र्सवादले सर्वहारा वर्गीय आन्दोलनलाई कमजोर पार्ने र जातीय आन्दोलनलाई बलियो बनाउने काम गर्दछ ।

उत्तर माक्र्सवादका प्रमुख चिन्तकहरुमा फ्रेडरिक जेमसन र टेरी इगलटन हुन् । फ्रेडरिक जेमसन (१९३४) अमेरिकी चिन्तक हुन् । उनले उत्तर आधुनिकवादको विरोध गर्ने सन्दर्भमा आपूmलाई माक्र्सवादी देखाउने प्रयास गरेका छन् ।

टेरी इगलटन (१९४३) बेलायतका एक प्रमुख वाम चिन्तक तथा समालोचक मानिन्छन् । उनी एकातिर फ्रेंकफुर्ट स्कुलदेखि विकसित हुँदै आएको नववामपन्थ तथा उत्तर आधुनिकतावादद्वारा प्रभावित देखिन्छन् भने अर्कोतिर उनी उत्तर आधुनिकतावादका विरोधी पनि रहेका छन् ।

(ङ) उत्तर–आधुनिकतावमद

उत्तर–आधुनिकतावादी दर्शन समाजशास्त्र, साहित्य, कला, सौन्दर्यशास्त्र भाषाविज्ञान लगायतका क्षेत्रमा फैलिएको पाइन्छ । उत्तर आधुनिकतावाद साम्राज्यवादी विचारधाराको एउटा रुप हो ।

उत्तर–आधुनिकतावाद आधुनिकतावाद र विशेषगरी माक्र्सवादको विरोधी रहेको छ । उत्तर–आधुनिकतावादका प्रमुख विचारकहरुमा–मिशेल फुको (१९१६–१९८४), ल्योत्यार्द (१९२६–१९९८), ज्याँ बोडिलार्ड (२९२९) र ज्याक् डोरिडा (१९३०–२००४) रहेका छन् । यी मध्ये केन्द्रीय स्थानमा डेरिडा रहेका छन् ।

ज्ञानसिद्धान्तका क्षेत्रमा उत्तर–आधुनिकतावादीहरु अतर्कबुद्धिवादी तथा अज्ञेयवादी रहेका छन् र उत्तर आधुनिकतावाद ऐतिहासिक भौतिकवादको विरोधमा खडा हँुदै आएको छ ।

उत्तर–आधुनिकतावादशीत नारीवादी आन्दोलन पनि जोडिएको छ । नारीवादी आन्दोलनको थालनी पश्चिममा फ्रान्स, बेलायत र अमेरिका लगायतका देशहरूमा भएको पाइन्छ । नारीवादी आन्दोलनका मुख्यतः तीन धारा रहेका छन्– उदारवादी, आमूलवादी र माक्र्सवादी । उत्तर– आधुनिकतावादसित उत्तर उपनिवेशवाद पनि जोडिएको छ । उत्तर–आौपनिवेशिक चिन्तन पद्धति अनुसार सर्वहारावर्गको भूमिका समाप्त भइसकेको छ र त्यो ठाउँ किनारमा पारिएका मानिस, आप्रवासी र जातीय बुद्धिजीविहरु र महिलाहरुले लिन पुगेका छन् । समग्रमा उत्तर–उपनिवेशवादीहरु आजको भूमण्डलीकृत

विश्व अवस्थामा उत्पीडित मुलुकहरुको पहिचान समाप्त भएको छ र उत्पीडित राष्ट्रहरु असहाय एवम् दुर्बल बन्न गएका छन् । अब उत्पीडित राष्ट्रहरुको मुक्ति सम्भव छैन भन्नेमा रहेका छन् ।

आज विज्ञान र प्रविधिको क्षेत्रमा अपूर्व प्रगति र क्रान्ति भएको छ । तर उत्तर–आधुनिकतावादीहरु यो प्रगति र क्रान्तिलाई उल्टो कोणबाट व्याख्या गर्दछन् । उनीहरूका दृष्टिमा अब मानिस प्रविधिको दास बन्न पुगेको छ र मानिसलाई प्रविधिले विस्थापित गरिसकेको छ । इतिहासको निर्माता मानिस होइनन् र प्रविधि नै सबैथोक हो । उनीहरूको यो विचार ऐतिहासिक भौतिकवाद विरोधी रहेको छ र यसलाई नियत्ववादका रुपमा लिन सकिन्छ । यसप्रतिको प्राविधिक नियत्ववाद उत्तर–आौद्योगिक समाज, विचारधाराको अन्त्य, मानिसको अन्त्य जस्ता उत्तर– आधुनिकतावादी चिन्तनमा आधारित रहेको छ । माक्र्सवाद यसप्रकारको प्राविधिक नियत्ववादको विरोधी रहेको छ र त्यसले मानिसका सामाजिक तथा उत्पादनमूलक गतिविधिहरुमा समाज विकासका नियम खोज्ने गर्दछ । माक्र्सवादले इतिहासको निर्माणमा प्रविधि होइन मानिसलाई मुख्य मान्दछ । समग्रमा भनणनुपर्दा उत्तर–आधुनिकतावाद यथार्थ विचारधारा, इतिहास र मानव जातिकै विरोधी रहेको छ ।

नेपालमा पनि उत्तर–आधुनिकतावादले बलियो जराहरु गाड्दै आएको छ र नेपाली समाजमा निकै मौलाएको छ । र नेपालमा यसप्रकारको उत्तर– आधुनिकतावादको सशक्त रुपमा विरोध र वैचारिक संघर्ष हुँदै आएको छ ।

(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु