वर्तमान राजनीतिक संकटको समाधानका लागि नेपाली विशेषताको समाजवाद उत्तम विकल्प

२०८० चैत्र ३० गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले वर्तमान राजनीतिक संकटको समाधान नेपाली विशेषताको समाजवाद अहिलेको उत्तम विकल्प भएको ठोकुवा गरेका छन । समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले नेपालमा पाँचबटा समाजवादको बारे कुरा उठेपनि अहिलेको लागि नेपाली विशेषताको समाजवाद नेपालका लागि सहि र बस्तुवादी भएको ठोकुवा गर्दै भने- ‘नेपालमा अग्रगामी निकासको लागि चार पार्टीले समाजवादी मोर्चा मार्फत अगाडि सारेको नेपाली विशेषताको समाजवाद अहिलेको उत्तम विकल्प हो । नेपालमा कानुन लुटेराहरुको हितमा भयो, यी खिया लागेका कानुन हुन ,यिनलाई बदल्ने समाजवाद चाहियो । आज सरकारमा मात्र कम्युनिष्ट गएर केही हुदैन,राज्यका निकायमा साम्राज्यवादी पुँजीवादी कानुन छ,यसलाई बदल्ने समाजवाद चाहिएको छ,त्यो समाजवादी मोर्चाले पुरा गर्नेछ ।’
महासचिव विप्लव सीले नेपालमा सबै कम्युनिष्ट समाजवादीहरुको साझा एजेण्डाको रुपमा समाजवाद स्थापित भएकाले कुनै पनि मुल्यमा यसलाई नेपाली जनताको आँखामा कमजोर हुन दिन नहुने बताउदै भने – ‘जनयुद्ध र जनआन्दोलनले प्राप्त गरेको गणतन्त्र पनि समाजवादको आधार हो । यसलाई दलाल पुँजीपति वर्गले आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेका छन । नेपालका कम्युनिष्ट समाजवादीहरुले गणतन्त्रलाई समाजवादी गणतन्त्रमा बदल्ने अभियानमा लाग्नु पर्छ । नेपालमा दलाल पुँजीवादी व्यवस्थाले नेपाली जनताको चाहाना कुनै पनि हालतमा पुरा गर्न सक्दैन,साम्राज्यवादीले दलाल पुँजीवादलाई संरक्षण गरेको छ,यसका विरुद्ध सड्क,सदन र सरकारको मोर्चाबाट सघर्ष गर्नुको विकल्प छैन। ‘
महासचिव विप्लव सीले ले नेपालमा ०४७ साल र यथास्थितिवाद दुबै हुन नसक्ने बताउदै नेपालको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र भएको उद्घोष गर्दै एमसीसीमार्फत साम्राज्यवादले नेपालमा सैन्य अखडा राख्न चाहिरहेको खुलासा गर्दै त्यसविरुद्ध सबै कम्युनिष्ट,क्रान्तिकारी, देशभक्त शक्तिहरुले प्रतिवाद गर्नुपर्ने बताए ।
महासचिव विप्लव सीले नेपालको कम्युनिष्ट जनमत समाजवादी जनमत भएको बताउदै नेपालका कम्युनिष्ट नेता, कार्यकर्ता र जनतामा विकास भईरहेका समाजवादमा भ्रणहरु एकीकृत गरेर कम्युनिष्टहरुको एकीकृत मोर्चा बनाउनु पर्नेमा जोडदिए ।


यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्ध लडन लडाईका सबै मोर्चा खोल्नुपर्ने बताए । उनले यसका लागि सडक,सदन र सरकारको मोर्चा भएको भन्दै यी सबै मोर्चा कम्युनिष्टहरुले प्रयोग गर्नु पर्ने बताए ।
महासचिव गुरुङले समाजवादी मोर्चा नेपालका सचिवालय सदस्य समेत रहेका नेता गुरुङले साम्राज्यवादले दोस्रो विश्वयुद्ध पछि माओको निधनयता कम्युनिष्ट समाजवादी विरुद्ध लड्ने नयाँ रणनीति विकास गरेको चर्चा गर्दै कम्युनिष्टहरुले पनि नयाँ रणनीतिको विकास गरेर साम्राज्यवाद विरुद्ध लड्नुपर्ने बताउदै भने – ‘दर्शनमा र रणनीतिमा साम्राज्यवाद पहिलो र दोस्रो विश्वयुद्धको जस्तो छैन,वहुलवाद र उदारपुँजीवादको नीति मार्फत विश्वलाई कव्जा गर्न खोज्दैछ । उ कम्युनिष्ट विरुद्ध माओपछि तिव्र रुपमा आएको छ,उसले चारैतिरबाट कम्युनिष्ट विरुद्ध आक्रमण गरेको छ । त्यसो भएर कम्युनिष्टहरुले पनि साम्राज्यवाद विरुद्ध लडेर जित्न सबै मोर्चाको प्रयोग गर्नुपर्छ ।’
महासचिव गुरुङले कम्युनिष्टहरुले विगतको माक्र्सवादको आधारभूत कुरामा टिकेर आफूलाई रिभ्यू गर्नुपर्ने र साम्राज्यवादले कम्युनिष्टहरुलाई विखण्डन गर्ने सिद्धान्त विकास गरिरहेको भन्दै त्यस विरुद्ध लड्न कम्युनिष्टहरु युनिफाईड हुनुपर्ने बताउदै भने- ‘आत्मकेन्द्रीत व्यक्तिवाद पुँजीवादले जन्मायो, कम्युनिष्टहरु केही विग्रिए,यसलाई सुधार्नुपर्छ, कम्युनिष्टहरुले प्रतिस्पर्धा र सहमति दुवै गर्नुपर्छ । हामी फुटेर होइन जुटेर दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्ध लडौं ।’
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद दुर्गबहादुर रावतले कम्युनिष्ट नेताहरुको सम्पत्ति पार्टीकरण नगरे सम्म जनता र कार्यकर्ताले विश्वास गर्ने आधार नहुने बताए । उनले नेताहरु र कार्यकर्ताको समाजवाद फरक हुन खोजेको चर्चा गर्दै कम्युनिष्टहरुको सामुहिक पुँजी कि व्यक्तिगत पुँजी कुन प्राथमिकता दिएको हो ? भनि प्रश्न गरे ।
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द)्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले समाजवादका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए । उनले कम्युनिष्ट नेतामा विग्रिदै गएको व्यक्तिगत सम्पत्ति मोहलाई निरुत्साहित गर्नुपर्ने बताए ।
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका नेता कुलदिप भट्टले कम्युनिष्टहरुले सिद्धान्त अनुसार व्यवहार गर्नुपर्ने सुझाव दिंदै भने – ‘आज कम्युनिष्टहरुको सिद्धान्त अनुसार व्यवहार भएन,हामी विग्रियौ,भ्रष्टिकरण भयौं,समाजवादको आधार भएन, सबैले व्यवहारबाटै समाजवादको थालनी गरौं ।’
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै हरी सीले केही कम्युनिष्ट भन्नेहरुबाटै कमाउ धन्धा भएकोमा कटाक्ष गरे । उनले नेपालमा ५०० र १००० का नोटहरु बन्द गर्नुपर्ने भन्दै अबैद्य कालो धन जनताका बिचमा सार्बजनिक हुने तर्क गरे । उनले कम्युनिष्ट एकता अनिवार्य भएको तर्क गर्दै कम्युनिष्टहरु पुरानो आधारमा नभई नयाँ आधारमा नयाँ एकता गर्नेतिर जानुपर्ने बताए ।
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता मोहन शाहीले कम्युनिष्ट नेताहरुको व्यवहार र संस्कृति फरक हुने गरेको बताए । उनले व्यक्तिगत सम्पत्तिमा लुप्त हुने कम्युनिष्ट नेता हुन नसक्ने दाबी गरे । उनले भने ‘कम्युनिष्ट नेताको सम्पत्ति सामुहिक बनाऔं,राष्ट्रिय पुँजीको विकास गरौं, नेताहरुले बोल्ने एक गर्ने अर्काे नगरौं ।’
उक्त कार्यक्रममा प्राध्यापक हरी थापाले नेपालमा समाजवाद आवश्यक भएको जिकिर गरे । उनले समाजवादका लागि जागरण फैलाउनु पर्ने बताए । किसान हर्कबहादुर बुढाले कम्युनिष्ट भन्ने नेताहरुका महल लगाएको देख्दा दुख लागेको भन्दै सामुहिकतातिर भन्दा व्यक्तिगत पद प्रतिष्ठा र धनसम्पत्ति कमाउनेतिर केही नेताहरु लागेको भन्दै आलोचना गरे ।
स्वास्थ्यकर्मी विजय डाँगीले काल्पनिक समाजवादको घेरामा कम्युनिष्टहरु हुन नहुने भन्दै सचेत गराए । उनले भने ‘कसरी कमाउने ? कसरी ठुलो नेता हुने ? कसरी शासन सत्तामा पुग्ने ? भन्ने उपभोक्तावादी संस्कृति भयो । यसरी समाजवाद कसरी आउछ ? आफ्नो बानी सुधार गरौं ।’
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगी व्यवसायीको तर्फबाट बक्ता सूर्यविक्रम थापाले व्यवसायीहरु यो व्यवस्थाले उठ्न नसक्ने भएको बताए । उनले बैङ्क तथा वित्तिय संस्थाहरुको चर्को व्याजले व्यवासायीहरु निकै मारमा परेको बताउदै यसको अन्त्य हुने समाजवाद चाहिएको बताए ।
कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट, साहित्यकार गणेश भण्डारी,शिक्षक सर्पराजसिंहले बोल्दै निरन्तर बर्गसंघर्ष र क्रान्ति जरुरी भएको बताउदै उनीहरुले माओवादी कम्युनिष्टहरु विचार र सिद्धान्तमा स्खलित हुदै गएकाले समाजवादमा पुग्न समस्या भएको विचार राखे ।

प्रतिक्रियाहरु