खाडी मुलुकको रोजगारीले नेपाली समाजमा परेको नकारात्मक असर

२०८० चैत्र १८ गते, आईतवार

विक्रम सी

पछिल्लो समय नेपाली युवाहरूको रोजगारीको गन्तव्य खाडी मुलुक बनेको छ । विशेषगरी निम्न वर्गका किसान तथा मध्यमवर्गीय परिवारका युवाहरूको रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेको साउदी, कतार, यूएई, मलेसिया, कुवेत, ओमान, बहराइन आदि देशहरूमा जाने क्रम तीव्र भइरहेको छ । सामान्य लेखपढ गर्न सक्ने र पचास हजारदेखि तीन लाखसम्म मेनपावर र दलालहरूलाई तिरेर सजिलै खाडी मुलुकमा गइरहेका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूको वर्ग पनि फरक–फरक छ । पैसा र पढाई हुनेहरू अमेरिका, अस्ट्रेलिया जापान र कोरिया जाने गर्दछन । उनीहरू कोही विद्यार्थी भिजामा, कोहि डिपेन्ड त कोही ओर्कीङ् भिजामा गइरहेका छन् ।

नेपाल सरकारको तथ्याङ्कमा दैनिक १८ सय युवा कामको खोजीमा खाडी तथा अन्य मुलुकमा बाहिरिने गर्छन् । युवा जनशक्ति बाहिर पठाएर बस्तु आयात गरेर लगाएको करबाट मुलुक धानिएको छ । त्यतिमात्रै होइन, वर्षेनी ठूलो संख्यामा वौद्धिक जनशक्ति पनि विदेश पलायन हुने गरेको छ । यो जनशक्ति आफूमात्रै बाहिरिएको छैन । देशभित्रकै पैसा पनि बाहिर पठाएको छ । नेपालबाट अहिले १०३ मुलुकमा पढ्नका लागि युवा बाहिरिने गरेको सरकारी आँकडा छ । यसरी उच्च शिक्षाका लागि भनेर विगत २२ वर्षमा ४ लाख १६ हजार युवायुवती विदेशिएका छन् ।

गत वर्षको कात्र्तिक मसान्तसम्म १४ हजार २५ जनाले विदेश पढ्न जानका लागि अनुमति लिएकोमा यो वर्षको सोही अवधिमा १९ हजार ६ सय ७० जनाले यस्तो अनुमति लिएका छन् । अर्थात एक वर्षमा विदेश जानका लागि अनुमति लिनेको संख्या नै ४० प्रतिशतले बढेको छ । (सरकारी तथ्याङ्क २०७९–०८० )

गुणस्तरीय शिक्षा र रोजगारीको अभावमा मुलुकबाट बाहिरिने रकम र युवा जनशक्तिको संख्या वर्षेनी बढ्दैछ । यसले अन्ततः मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ जसका बारेमा सरकारले सचेत हुन जरुरी छ । उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेसँगै स्वदेशबाट बाहिरिने रकम पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै मुलुकबाट घुम्न र पढ्न जानेहरूबाट १९ अर्ब बाहिरिएको छ । त्यसमा पनि उच्च शिक्षाको लागि मात्रै १० अर्ब १५ करोड बाहिरिएको छ । (सरकारी तथ्याङ्क २०७९–०८० )

नेपाल राष्ट्र बैंकका अनुसार मुलुक अहिले १ खर्ब ५१ अर्बले सोधानान्तर घाटामा छ । मुलुकमा भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढि भएकोले यस्तो घाटा बढ्दै गएको हो । आयातका लागि मात्रै होइन विदेश घुम्न तथा पढ्न जानेहरूबाट बाहिरिने रकम समेत बढ्दै गएकाले सोधानान्तर घाटा बढेको हो । चालु आर्थिक वर्षको चार महिनामा मात्रै यसरी पढ्न र घुम्न जानका लागि बाहिरिने रकम गत वर्षको सोही अवधिको तुलनामा १ सय ३७ प्रतिशतले वृद्धि भएको छ । विदेशबाट घुम्न आउनेहरूबाट ६ अर्ब रकम प्राप्त भएकोमा घुम्न तथा पढ्न जानेहरूबाट भने १९ अर्ब बाहिरिएको छ ।(राष्ट्रिय वार्णिज्य वैंकको तथ्याङ्क वाट)

युवाहरूको पलाएनका साथै मुद्रा पलाइनको घाटा देशलाई छँदैछ । अहिले विकसित देशहरूमा धेरै रकम खर्च गरेर गएकाहरूले राम्रो ईन्कम पनि गरेका छन । धेरै पैसा कमाउन सकिन्छ भनेर अवैधरूपमा रुसी सेना तथा अमेरिका जाने क्रम पनि जारि नै छ । अवैधानिक रूपमा विदेश गएकाहरूले केहिले ज्यान गुमाईरहेका छन भने काही जेलमा बस्न बाध्य भएका छन । अवैध खर्चगरेको रकम पनि खेर जाने र रित्तो हात घर पर्कीने अवस्था छ ।

पहिलो विषय : खाडीमुलुकमा जानेहरूमा गरिव, कीसान, मध्यम वर्गका युवाहरूको रोजाई तीव्रतामा बढेको छ । खाडि मुलुकको रोजगारीले व्यरोजगार समस्या थोरै भए पनि हल गर्नखोजेको भएपनि समस्याहरू भयानक बन्दैछन । रोजगारीमा जाने युवाहरूको व्याक्तिगत जीवनमा धेरै चुनौतिहरू आएका छन । धेरै युवाहरू नेपाली म्यानपावरहरूबाट ठगिने र काम नपाएर घर फर्किनु पर्ने समस्या छ । विदेशीयका धेरैको सम्झौता अनुसारको तलव, भने अनुसारको काम नपाउने र दिन काट्न धौ–धौ भएको आवस्था छ । प्रत्यक दिन समस्यामा परेर खाडीमा जाने युवाहरूको मृत्यु हुने र लासको वाकसमा दैनिक नेपालको यअरपोर्ट आउने क्रम जारि छ ।

दोस्रा विषयः खाडीमुलुकमा काम गर्न जानेहरूको पारिवारहरूमा भिन्नाभिन्नै समस्याहरू आइरहेका छन् । जस्तो श्रमिक विदेश जान्छ र कमाएको सबै पैसा घर आफ्ने श्रीमतिलाई पठाउँछ । राम्रो घरव्यावहार चलाउनुपर्नेमा श्रीमतीले विदेशबाट आएको सबै पैसा लिएर बालबच्चा अलपत्र छोडी अर्कै नाठोसँग गएका घटनाहरू पनि सामाजिक सन्जालमा छरप्रस्ट देख्न पाइन्छ भने छोराछोरी र श्रीमती छोडी अर्कै केटी लिएर भगेका पुरुषका घटनाहरू पनि तीव्र रूपमा बढिरहेकै छन् । घरवार बिग्रेका बाल–बच्चा, महिला र पुरुष गरी पुरै परिवारनै डिप्रेसनका शिकार भइरहेका छन् । राम्रो परिवार र समाज बनाउन विदेशीएका युवाहरूको परिवारमा पनि यस्तो समस्या आएको छ ।

तेस्रो विषयः सन्तानहरूको लालन–पालन र शिक्षाको लागि विदेशबाट पैसा घरमा पठाउने गर्दछन् । त्यो पैसाले सानैदेखि महंगो बोडिङ्गस्कुलमा पढाउने गर्दछन् । रोजगारीमा गएकाहरूमा केही समस्या आउनेवित्तिकै बालबच्चाहरू महङ्गा स्कुलबाट सस्तो स्कुलमा सिफ्ट गर्नुपर्ने बाध्यता आउने गर्छ । जब बालबालिकाहरूलाई एक्कासी सहरबाट गाउँमा लगिन्छ या महंगो बोडिङ्बाट सरकारी स्कुलमा भर्ना गरिन्छ, अनि बालबालिका डिप्रेसनमा जाने समस्या धेरै नै आएको छ । सन्तान राम्रो बनाउने भनेर विदेश गएको तर परिणाम यस्तो आउनु पनि यो भिन्न समस्या हो ।

पहिला सन्तानलाई राम्रो संस्कार सिकाउनुपर्ने हुन्छ । अनुसाशित बनाउनुपर्ने हुन्छ, त्यसपछि शिक्षाको कुरा आउँदछ । बालबच्चाहरूलाई हामीले प्रयाप्त समय दिन नसक्दा पनि ड्रगिस्ट बन्ने, लफङ्गा बन्ने, ट्यापे–मुन्द्रे बन्ने र त्यसको परिणाम सन्तानहरू अभिभावकविहीन हुने बालबच्चाहरूले डिप्रेशनमा गएर आत्महत्या गर्नेसम्मका घटनाहरू पनि तीव्ररूपमा बढिरहेको पाइन्छ । त्यतिमात्र होई अभिभावकको प्रत्यक्ष साथ नपाउँदा बालबालिकाहरूलाई होस्टेल हाल्ने, परिणाम छोरो ड्रगिस्ट बन्ने र छोरी बलात्कारको शिकार हुनुपर्ने घटनाहरू भइरहेका छन् । चितवनस्थित एक स्कुलको होस्टेलमा घटेको सालिन पोख्रेलको घटना पनि यसैको प्रतिनिधि घटना हो ।

राम्रो परिवार बनाउने सपना देखेर खाडी पस्नेहरुको घरपरिवारमा परिणाम भयावह छ । श्रीमती पोइल जाने, श्रीमान डिप्रेशनमा गएर सामाजिक सञ्जालमा रोईकराई गर्ने, छोराछोरी कोहि ड्रगिस्ट बन्ने, कोही आत्महत्या गर्ने, कसैका बालबच्चा टुहुरा बन्ने अवस्था आएका छन् । यी यावत समस्याहरूको पछाडि अविभावकहरूले आफ्ना सन्तानहरूलाई प्रयाप्त समय दिन नसक्नुनै प्रमुख कारण हो । त्यसैले आफ्नै देशमा बसौं, मेहेनत गरौं, परिवार र सन्तानको भविस्य बनाउन लागौं । यो कुरा सबैले मनन गर्नुपर्छ ।

चौथो विषयः एउटा नयाँ र भिन्न समस्या के छ भने धेरैजसो परिवारमा बाबा विदेश जाने सँगसँगै पुरानो गाउँको बसाई र स्कुल छुटाएर आमा र छोराछोरी शहरमा डेरा लिएर बस्दछन्, अनि महंगो स्कुलमा बालबालिका पढाउँछन र झडै दसवर्ष आधारभुत शिक्षामा नै विदेशबाट कमाएको सबै पैसा खर्च गरिहाल्छन् । बचत सुक्को हुँदैन, दश वर्षपछि जब सन्तानको उच्च शिक्षामा खर्च गर्नुपर्ने बेला हुन्छ, ठीक त्यसैबेला विदेशमा गएको बाबा पनि घरमा फर्किने, वचत पनि सकिने हुन्छ । वास्तविक पैसा चाहिएको बेला पैसा नहुने समस्या छ । त्यहि समस्याले गर्दा सन्तानलाई के पर्छ भने हाम्रो आमा–बाबा गरिव भएकोले हामीले चाहेको शिक्षा पढ्न पाएनौं । कलिलो बच्चाको दिमागमा यस्ता परिदिएपछि उनीहरूको दिमागनै ड्रेन हुने समस्या छ । बरू के सुल्टो तरिका हुन्थ्यो भने आधारभूत शिक्षा गाउँको सरकारी स्कुलमा पढाउने र विदेशबाट पठाएको पैसा बचत गर्ने वा लगानी गर्ने, जब बच्चाको उच्च शिक्षामा इन्जिनियर, डक्टर पढ्ने बेला आउँछ, तब प्रर्याप्त लगानी गर्ने । यसो गर्ने हो भने विदेशबाट दुःख गरी कमाएको पैसा सही ठाउँमा सदुपयोग हुने थियो । बालबच्चाहरूले पनि दुःख गर्ने, श्रम र मेहेनत गर्ने संस्कार सिक्ने थिए । अहिले त शहरबजारमा जुता लगाइदिनुपर्ने, स्कुल पु¥याउन र लिन जानुपर्ने अवस्था छ । जुन गलत हो । यो व्यावहारले बच्चाहरूमा काम हामीले गर्ने होइन, सबै आमाबाबुले गर्ने हो भन्ने परेको छ । यस्ता बच्चाहरुनै नै पछि सामान्य श्रम गर्न पनि लजाउने हुन् । हाकीम भएर बस्ने, काम नगरी खान खोज्ने शैलीको विकास यस्तै कारण भइरहेको छ । अन्ततः बालबच्चा काम नलाग्ने हुन्छन् । यसो हुनु पनि अज्ञानता र विदेशीनुको कारण हो ।

अन्तमा ः पहिलो कुरा खाडीमा भेडा हेर्न जानेनै हो भने आफ्नै जुम्ला–हुम्लाका फाँटहरूमा भेडा पाल्न गए हुन्छ नी ! अर्काको देशमा भाडा माझ्ननै जाने हो भने आफ्नै देशमा भाडा माझेर वस्न सिकौं । युरोप अमेरिका, जापान या खाडी देशहरू आफैं विकास भएका होइनन् । त्याहाँका जनताको धेरै वर्ष गरेको मेहेनतबाट ती देशहरू विकसित भएका हुन् । नेपाललाई पनि हामी विकसित देश बनाउन सक्छौं । हामीलाई पुँजीवादले पैसाबाट पैसा कमाएर खान सिकायो । हामीले श्रम गर्ननै छोडिसक्यौं । पचास वर्षअघि हाम्रा बाजे–बज्यैहरू कति मेहेनत गर्थे, घरमा प्रसस्त अन्न उब्जाउ हुन्थ्यो । १६ वटा भैसी पाल्थे, दहिमही फालाफाल हुथ्यो । आफैंले बनाएको काठको चर्कामा बुनेको ठेटुवाका कपडा लगाउथे । सहर जाँदा आफूले उत्पादन गरेको वस्तु लिएर जाने, त्यो सामान बेच्ने र आफूलाई चाहिएको सामान खरिद गर्ने गर्दथे ।उनीहरु स्वाभिमानी पनि थिए । तर आज हाम्रो उत्पादन केही छैन । सामान्य बेसार पनि भारतको बजारबाट आउँछ । पहिला नुनमात्र आयात गर्नुपर्ने हाम्रो समाज आज नुनदेखि सुनसम्म सबै अरूको उत्पादनमा भर पर्नुपर्ने बाध्यतामा छौं । भोलि कसैले ‘मेरो उत्पादन म दिँदैन’ भनेर आयात बन्द गरिदियो भने हामीले भोकभोकै मर्नुपर्ने अवस्था आउनसक्छ ।

हरेक अभिभावकको पचास प्रतिशित खुशी आफ्ना सन्तानको प्रगतिमा हुन्छ । यदि सन्तान बिग्रे भने तपाईं जतिसुकै धनी, खरबपति हुनुहोस्, तपाईंलाई पश्चातापको आगोले जलाइरहने छ । पैसा जति भए पनि तपाईंको सन्तुष्टी नै सन्तानको सफलता हो । त्यसैले समयमै सचेत बनांै । बालबच्चाहरूलाई राम्रो संस्कार दिएर असल मान्छे बनाऔं । सन्तानलाई असल बनाउने पहिलो लक्ष्य बनाऔं । त्यसपछि उच्च शिक्षाको लागि पाँच–सात वर्षमै प्रगति गर्न सकिहाल्छन् सिकाईको चिन्ता गर्नु हुँदैन । शिक्षाको गुणस्तर महंगो शुल्कले मापन गर्दैन । स्कुलको वातावरणले गर्दछ । गाउँका सरकारी स्कुलहरूले नै नेपालको एस.इ.इ टप गरेको इतिहास हाम्रा अगाडि छन् । नेपालका उच्च पदमा पुगेका हरेक मान्छेहरूले प्राय सरकारी स्कुल पढेको इतिहाँस छ, त्यो पनि गाउँका सरकारी स्कुलमा पढेका छन् । नेपाली युवाहरूको आम चाहाना जसरी पनि विदेशमै जानुपर्ने, नेपालमा केही सम्भावना नदेख्ने छ । यो गलत र घातक समस्या हो । दिन प्रतिदिन युवाहरूको विदेश पलाएनले यति धेरै समस्या आउँदैछ की आमाबाबुको लास जलाउन पनि गाउँघरमा मान्छेहरू नपाइने सम्भावना देखिन्छ । विदेश नगएरै नेपालमै केही इलम गरौं यदि विदेश जानेनै हो भने पनि विदेशबाट गरेको कमाई फजुल खर्च नगरी वचत तथा इन्भेस्ट गर्नुहोस् । आफ्नो परिवार र बालबच्चालाई शहरका ठूलठूला महंगा स्कुलमा त्यो पनि आधारभूत शिक्षामा खर्च गर्नुभन्दा, गाउँकै स्कुलमा आधारभूत शिक्षा पढाउनुहोस् । विदेशबाट कमाएको पैसा बचत गरी जब उच्चशिक्षामा वास्तबिक लगानी गर्ने बेला आउँछ, भरपुर पढाईमा लगानी गर्नुहोस । विदेशमा कमायको पैसा आधारभूत शिक्षामा खेर फानेपछि उच्च शिक्षामा लगानी गर्ने बेलामा टाउकोमा हात राखेर गाउँ फर्किनुपर्ने अवस्थाबाट बचांै । बेलैमा ध्यान पुगाऔं । पैसा कमाउनु ठूलो कुरा होइन, बचत गरी सही ठाउँमा लगानी गर्नु माहान् कार्य हो । विदेशमा कमाऔं, कमाइलाई जोगाऔं । परिवारलाई सक्षम र सफल बनाउने जिम्मा तपाईंहरूकै हातमा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु