नेकपाको मिसन ८४ समाजवाद

२०८० चैत्र १६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका अध्यक्ष विप्लव सीले नेकपाको मिसन ८४ समाजवाद भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिद्वारा शुक्रबार आयोजित कम्युनिस्टहरुबिचको एकता तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले संसदिय पार्टीहरुले मिसन ८४ को नारा दिएर जनतामा भ्रम छर्ने काम गरेको बताउदै नेकपाको मिसन ८४ समाजवाद भएको बताए । उनले नेपालका सम्पुर्ण स्वाभिमानी जनता र नेपालका सच्चा देशभक्त कम्युनिस्टहरु आफ्नै हड्डी, पाखुरी खियाएर आत्मनिर्भर हुन सक्ने भएकाले अमेरिकी र भारतियले नेपालमा भिख फाल्नु नपर्ने बताउदै भने – ‘नेपालमा कम्युनिस्ट ध्रुवीकरण अभियान जारी छ, यो अभियानबाट नेपालका सम्पुर्ण कम्युनिस्ट, माओवादीघटक एकीकृत भएर यो देशलाई विदेशीको गुलामीबाट मुक्त गर्ने अभियान सुरु भएको छ । यसले नेपालको विद्यमान दलाल पुजिवादी संसदिय व्यवस्था फालेर समाजवाद ल्याउने र जनतालाई आत्मनिर्भर सुखी समुन्नत बनाउने बाटो खन्न सुरु गरेको छ। यसैको निरन्तरता आजको ध्रुवीकरण हो । यो ध्रुवीकरण देशमा नेपाली विशेषताको समाजवाद ल्याउने महान यात्राको ध्रुवीकरण हो । यो देशबाट दलालहरु, साम्राज्यवादीहरुको दबदबाबाट मुक्त गर्ने ध्रुवीकरण हो । यो एकताको सवाल भन्दापनि देशको सवाल हो ।’

महासचिव विप्लव सीले अहिले समाजवादको बहस कम्युनिस्टहरुमा मात्र नभएर प्रत्येक घरघरमा बस्तीबस्तीहरुमा गर्नु पर्ने बेला भएको तर समाजवादको वकालत गर्ने समाजवादमा विश्वास गर्ने समाजवादका अनुयायी कम्युनिस्टहरु नै छिन्न भिन्न भएकाले सबै कम्युनिस्ट, वामपन्थी, क्रान्तिकारी, देशभक्तहरुले सबै तिक्तता निरासा कुन्ठा त्यागेर एकाकार हुनुपर्ने बताए । उनले विश्वको इतिहासमा आफ्नो देशको स्वाधिनता, दासता, जनतन्त्र, जनजीविकाका विषय, समुन्नत स्वाधिन देश बनाउन सबैभन्दा बढी बलिदान कम्युनिस्ट हरुको छ, त्यसकारण अब नेपाललाई समाजवादी देश बनाउन राष्ट्रिय स्वाधिनताको रक्षा गर्न, सबै कम्युनिस्टहरुले महत्वपुर्ण योगदान गर्नु पर्ने समय आएको औंल्याए ।
महासचिव विप्लव सीले विदेशी शक्तिहरुले नेपाललाई आफ्नो सैन्य रणमैदान बनाउन खोजेको उल्लेख गर्दै त्यसको प्रतिरोध गर्नुपर्ने बताउदै भने- ‘हामी बरु हड्डी घोट्छौँ पसिना बगाउँछौँ तर विदेशीले दिएको भिख थाप्ने नाममा आफ्नो देशलाई साम्राज्यवादको रणमैदान हुन दिदैनौँ । हरेक प्रकारका बितिष्णा कुन्ठा नैराश्यतामा जकडिएका जनताहरुको सपना पूरा गर्न कम्युनिस्ट आन्दोलनलाइ नयाँ सिराबाट उठाउछौँ त्यसैको निरन्तरता समाजवदी मोर्चा हो ।’
महासचिव विप्लव सीले अहिले बुर्जुवा साहित्यकारहरुले साहित्यको नाममा मुक्ति आन्दोलनलाइ अपराध हो भन्ने भ्रम छर्न उद्द्त रहेको भन्दै जनताको बिरुद्धमा छाटिने बुर्जुवा साहित्यलाइ तरबारले छिनाल्नु पर्ने बताए ।


नेकपाका स्थायी समिति सदस्य सुशील सीद्वारा संचालित उक्त कार्यक्रममा काभ्रे, भक्तपुर ,नुवाकोट र रसुवालगायतका जिल्लाहरुबाट ५ दर्जन भन्दा बढी नेता – कार्यकर्ता विभिन्न पार्टी परित्याग नेकपामा ध्रुवीकृत भएका थिए । नवप्रवेशीहरुलाई महासचिव विप्लव सीले खादा र अबिरले स्वागत गरेका थिए।
नवप्रवेशीहरुले नेकपाले पछिलो समय विकास गरेको नयाँ कार्यदिशा वैज्ञानिक सोच,नेपालमा नेपाली बिशेषताको समाजवादको अपरिहार्यता आत्मनिर्भर पार्टी, आत्मानिर्भर नेता कार्यकर्ता, आत्मा निर्भर उत्पादन, यो सबै आजको आवश्यकता हो भन्ने ठहरसहित नेकपामा ध्रुवीकृत भएको बताएका थिए।


कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य विशम सी, अनिल सी, शिलु सी, पोलिट ब्युरो सदस्य कृति सी, कान्छाराम सी लगायत केन्द्रीय सदस्यहरुको आतिथ्यता रहेको थियो।

प्रतिक्रियाहरु