अनलाइनबाटै मुद्दाको सुनुवाइ !

२०८० चैत्र १६ गते, शुक्रबार


काठमाडौँ । विशेष अदालतले आगामी आइतबारदेखि अनलाइन प्रणालीमार्फत मुद्दाको सुनुवाइ गर्ने भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो । यसैक्रममा अधिवक्ता अपूर्व खतिवडाले बिहीबार सुरेन्द्रबहादुर सिंह विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनलाइनबाटै बहस गरेका थिए । त्यही मुद्दामा सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता गोपाल लामिछानेले विशेष सरकारी वकिलको कार्यालयबाट अनलाइन बहस गरेका थिए ।
अनलाइनबाटै मुद्दाको सुनुवाइको बिषयलाई प्रष्ट्याउदै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले भने- ‘हामीले परीक्षणको रुपमा सुनुवाइ थालेका हौं, आइतबारदेखि दुईवटै इजलासमा अनलाइन बहस प्रणाली कार्यान्वयनमा आउनेछ। यसबाट काठमाडौं बाहिरका सेवाग्राहीहरुलाई ज्यादा सहज हुने अपेक्षा गरेका छौं ।’

योसंगै विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ । कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् ।
अनलाइन सुनुवाइको सुरुवातबारे प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश श्रेष्ठले टाढाका सेवाग्राहीलाई अदालत परिसरमै उपस्थित हुनुपर्ने बाध्यता हटेको बताउदै भने- ‘देशभर क्षेत्राधिकार भएको विशेष अदालतले सुरुवात गरेको अनलाइन सुनुवाइ प्रणालीले सेवाग्राहीहरु अदालतमै आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यसबाट छिटोछरितो न्यायसम्पादनमा सहयोग पुग्ने विश्वास छ। ’
यसअघि नै विशेष लगायतका अदालतहरुमा अनलाइनबाट बकपत्र गर्ने व्यवस्था सुरु भइसकेको छ । चार वर्षअघि कोरोना महामारीको समयमा अदालतहरुमा अनलाइन बहस सुरु भएको थियो । तर यसले निरन्तरता पाउन सकेको थिएन । बकपत्र गर्ने र तारेख लिने काम भने अन्य अदालतमा पनि अनलाइन प्रणालीबाट भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु