कम्युनिष्ट पार्टीको स्थापना र नेपालका कम्युनिष्ट

२०८० चैत्र १६ गते, शुक्रबार

डा. केशव देवकोटा

कम्युनिष्ट ल्याटिन भाषाको ‘कम्युनिस’बाट आएको शब्द हो । कम्युनिज्म फ्रेन्च भाषाको ‘कम्युन’ शब्दबाट बनेको हो । जसको अर्थ  ‘समुदाय’ भन्ने हुन्छ । कार्ल माक्र्सले सन् १८३२ तिर कम्युनिष्ट शब्दको विकास गर्नुभएको मानिन्छ । माक्र्सले त्यतिबेलामा बिभिन्न खाले समाजवादीहरु बीच आफ्नो भिन्न र मौलिक पहिचानका लागि ‘कम्युनिज्म’ शब्द प्रयोग गर्नुभएको पाइन्छ । कम्युनिष्ट पार्टीको घोषणापत्र वैज्ञानिक साम्यवादको पहिलो कार्यक्रम उन्मुख कृति हो । जसमा माक्र्सवाद र साम्यवादका आधारभूत सिद्धान्तहरुको वर्णन गरिएको छ । जुन महान् ऐतिहासिक दस्तावेज कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले तयार पार्नुभएको हो ।  त्यो पहिलो पटक सन् १८४८ को फेब्रुअरी २१ मा जर्मन भाषामा प्रकाशित भएको थियो । जुन विश्वभरीनै हालसम्म कम्युनिष्ट मेनिफेष्टोको नामले चिनिन्छ । यो विश्वविख्यात कम्युनिष्ट घोषणापत्र प्रकाशन भएसँगै विश्वसर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक मार्गदर्शक सिद्धान्त बन्यो ।  कम्युनिष्ट घोषणापत्र जारी हुनेबित्तिकै त्यसले विश्व राजनीतिमै ठूलो क्रान्ति ल्याएको थियो । विश्वको राजनीतिक रंग मञ्चमै हलचल पैदागरिदिएको थियो । आज कम्युनिष्ट मेनिफेष्टो सार्बजनिक भएको १७६ वर्षपछि पनि त्यसको महत्व र सान्दर्भिकता घटेको छैन झन बढेर गएको छ । इतिहासलाई हेर्दा के देखिन्छभने सन् १८४२ मा जर्मन आप्रवासीहरुले न्यायिक लिगको गठन गरेका थिए । तात्कालिन न्यायिक लिग कम्युनिष्ट लिगमा बदलिएपछि सन् १८४७ को नोभेम्बरमा कम्युनिष्ट लिगको जेनेभामा दोश्रो महाधिवेशन सम्पन्न भएको थियो । त्यस महाधिवेशनले कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सलाई कम्युनिष्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मा सुम्पेको थियो । एकवर्ष लगाएर माक्र्स–एंगेल्सले कम्युनिष्ट घोषणापत्रको मस्यौदा तयार पार्नुभएको थियो । आजका दिनमा संसारका सबैजसो भाषामा प्रकाशित भएको कम्युनिष्ट घोषणापत्र वैज्ञानिक साम्यवादको पहिलो र महत्वपूर्ण सैद्धान्तिक दस्तावेज मानिन्छ । उक्त कम्युनिष्ट घोषणापत्रमा चारवटा अध्यायहरु रहेका छन्  । जसको पहिलो अध्यायमा पूँजीपति र सर्वहारामा समाज विकासको नियमका आधारमा एकप्रकारको उत्पादन पद्धतिको अन्त्य भएर अर्को किसिमको उत्पादनपद्धति हुनु अत्यन्त स्वाभाविक प्रक्रिया हो । हालसम्मको मानवजातिको इतिहास आदिम साम्यवादलाई छाडेर वर्गसंघर्षको इतिहास हो । यसैका आधारमा पूँजीवादको पतन भएर समाजवाद या साम्यवादमा पुग्नु अनिवार्य छभन्ने रहेको छ । त्यसैगरी दोश्रो अध्यायमा सर्वहारा र कम्युनिष्ट आजको युगमा सबभन्दा प्रगतिशील उत्पादनशक्ति मजदुरवर्ग हो र कम्युनिष्ट तिनै सर्वहारा मजदुरवर्गको सबभन्दा संघर्षशील समुदाय हो । यसको सांगठनिक शक्तिले उनीहरुको युगान्तकारी परिवर्तनमा सबभन्दा महत्वपूर्ण नेतृत्व प्रदानगर्न सक्छ । कम्युनिष्टहरुको तत्कालीन लक्ष्य पूँजीपति वर्गको सत्ता पल्टाएर सर्वहारावर्गको राजनीतिक सत्ता कायम गर्नुपर्छभन्ने बिचार रहेको छ । त्यसैगरी तेश्रोे अध्यायमा समाजवाद र कम्युनिष्ट साहित्यमा केन्द्रित समाजवादको नाममा देखापरेको बिभिन्न किसिमका काल्पनिक बिचारधाराहरुको खण्डन गरिएको छ । त्यसैगरी चौथो अध्यायमा बिभिन्न बिरोधी पार्टीहरु र कम्युनिष्टहरुको स्थितिबारे कार्यनीतिक समीक्षा गरिएको छ । जसमा कम्युनिष्टहरु एक दलमामात्र विश्वास गर्छन्भन्ने कम्युनिष्ट विरोधीहरुले लगाउने लान्छनाको खण्डन पनि भएको पाइन्छ । कम्युनिष्ट पार्टी आफ्नो स्थिति मजबुतगर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरुसँग सम्बन्ध मजबुतगर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरुसँग सम्बन्ध कायमगर्न सक्छ । तर आफ्नो स्थिति बलियो भएको ठाउँमा समाजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छभन्ने वर्णन गरिएको छ । अन्त्यमा सर्वहारा वर्गसँग गुमाउनका लागि सिक्री बाहेक केही छैन, जीत्नका लागि सारा संसार छभन्दै दुनियाँका मजदूरहरु एक हौंभन्ने आह्वान पनि गरिएको छ र दुनियाँका मजदुरहरु एक होऔं भन्ने नाराका साथ समाप्त भएको छ ।

समग्रमा भन्नुपर्दा कम्युनिष्ट घोषणापत्र माक्र्स–एंगेल्सद्वारा अनुसन्धान गरिएको द्वन्दात्मक र ऐतिहासिक भौतिकवादको संश्लेषणको दस्तावेज हो । माक्र्सवादलाई सर्वहारा क्रान्तिको विज्ञान पनि मानिन्छ । उपरोक्त सबै कुराहरुले माक्र्सवाद पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको वैज्ञानिक तथा क्रान्तिकारी बिचार होभन्ने स्पष्ट गरेका छन् । द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । लेनिनले माक्र्सवादबारे गर्नुभएको टिप्पणीअनुसार माक्र्सवाद भनेको माक्र्सका बिचार र उहाँका शिक्षाहरुको व्यवस्थित श्रृंखला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरुको संशलेषणबाट भएको छ । जसलाई स्टालिनले माक्र्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोणको रुपमा परिभाषित गर्नुभएको पाइन्छ । कम्युनिष्ट घोषणापत्र प्रकाशित भएको तत्कालीन समयमा विश्वका सबै देशहरुमा जनविरोधी, प्रतिक्रियावादीहरुको शासन थियो । कतै सामन्ती तानाशाही थियो त कहीं गणतन्त्र आइसके पनि पूँजीपतिहरुको तानाशाही रहेको थियो । जब कम्युनिष्ट सिद्धान्त एवं बिचारको कुरा आयो तब त्यतिबेलाको अवस्थामा परस्पर लडिरहेका सामन्त र पूँजीपतिहरु पनि एक भएका थिए । कम्युनिष्ट पार्टीको घोषणापत्र माक्र्स र एंगेल्सले सबभन्दा पहिले १८४८ को फेबु्रअरी एकमै पर्चाकारुपमा निकाल्नुभएको थियो । त्यसैगरी नेपालमा कम्युनिष्ट घोषणापत्रलार्ई पुष्पलालले वि.सं. २००५ सालमा नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । त्यसपछि २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२) का दिन पुष्पलालकै नेतृत्वमा निरञ्जनगोविन्द बैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोश्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । भनिन्छ मोतीदेवी त्यतिबेला भौतिकरुपमा उपस्थित हुनुभएको थिएन । कम्युनिष्ट घोषणापत्र जारीभएको १०२ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेकपाको स्थापना भएको थियो । त्यतिबेलाको परिबेशलाई हेर्दा छिमेकी चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफलताको अन्तिम बिन्दूमा पुगेको थियो । अर्को छिमेकी भारत अंग्रेजहरुको उपनिवेशबाट मुक्त भएको र नेपाल १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको अवस्था थियो । सन् १९४९ सेप्टेम्वर १५ का दिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालले पार्टीको घोषणापत्र जारी गर्नुभएको हो ।

पार्टी स्थापना भएको दोश्रो दिन सन् १९४९ को अप्रिल २४ मा पुष्पलालले एक पर्चा प्रकाशन गर्नुभएको थियो । यसैलाई नेपाल कम्युनिष्ट पार्टीको पहिलो दस्तावेज मानिन्छ । जुन पर्चामा ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’ भन्ने शिर्षक राखिएको थियो । सो पर्चामा राणाशाहीले आफ्नो सत्ता लम्याउन वि.सं. २००५ मा विधान कानूनमार्फत जारी गरेको सुधारको घोषणा केवल नागरिक झुक्याउने चालबाजीमात्र हो । तसर्थ नागरिक स्वतन्त्रताका लागि राणासँग संझौता होइन, क्रान्ति भन्ने मूल नारा र समाजवादको लक्ष्यका साथ अगाडी बढ्न आह्वान गरिएको थियो । सेप्टेम्बर १५ मा जारी घोषणपत्रमा उल्लेख भएका १२ वटा जनवादी कार्यक्रमलाई नेपाली क्रान्तिले पूरा गर्नुपर्ने उल्लेख गरिएको थियो । जसमा साम्राज्यवादी शोषणको जुआबाट एकदम सफाचटगरी नेपाललाई पूर्ण तथा वास्तविकरुपले स्वतन्त्र वनाउने, साम्राज्यवाद र विस्तारवादका विरुद्ध, विश्वका शान्तीकामी, क्रान्तिकारी एवं लोकतान्त्रिक शक्ति र सरकारसँगको सम्बन्धलाई सुमधुर बनाउने, सामन्ती शोषणका सवै खाले रुप र तरिकाको अन्त्य गर्ने, रणनीतिक महत्वका प्राकृतिक श्रोत साधन, उद्योग खानी, उर्जा, सञ्चार, वैक तथा वित्तिय संस्थाहरुमा वैदेशिक पूँजीको सट्टा राज्यद्वारा लगानी वृद्धिगरी राष्ट्रियकरणगर्ने, श्रमिक वर्गमाथी हुने शोषणको अन्त्यगर्ने र जीवन निर्वाहगर्न पुग्ने ज्याला प्रणालीको सुनिश्चितगर्ने, जनविरोधी पुराना ऐन कानूनलाई जनवादीकरण गर्ने, जनस्तरमानै मुलुकको रक्षाका लागि प्रजातान्त्रिक फौजको गठनगर्ने र शिक्षा तथा स्वास्थ्यसेवालाई निशुल्क र सर्वसुलभगर्ने लगायतका कुराहरु रहेका थिए । आज आएर हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन पहिलो कम्युनिष्ट मेनिफेष्टो र नेकपाको स्थापनामा जारी गरिएको घोषणापत्रअनुसार चलिरहेको देखिएको छैन । जसलेगर्दा नेपाली समाजमा नक्कली कम्युनिष्टहरुको बिगबिगी बढेर गएको छ । कम्युनिष्ट राजनीतिको मूलतत्व मानिएको बर्ग संघर्षको राजनीतिलाई छाडिसकेकाहरु पनि आफूलाई कम्युनिष्ट भनेर जनतामा भ्रमदिने काम गरिरहेका छन् । नेपालका आफूलाई कम्युनिष्टभन्ने सबैले इतिहासलाई फर्केर हेरुन र आफूलाई बैचारिकरुपमा परिमार्जनगर्ने प्रयास गरुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु