नेताहरुमा बढ्दै गएको पागलपन र देश दुर्घटनामा पर्ने संभावना

२०८० चैत्र ४ गते, आईतवार

डा. केशव देशकोटा

नेपाल आर्थिक, सामाजिक र राजनीतिकरुपमा समेत संकटपूर्ण बन्दै गएको र कतिपय कोणहरुबाट देशको अस्तित्वका माथिनै प्रश्न उठाउन थालिएपछि सबैतिरबाट यसको मूल कारणको खोजी शुरु भएको छ । जसका बिविध कारणहरु रहेका छन् । त्यसमध्ये सत्ता र शक्तिमा रहेका अधिकांश नेताहरुमा धेर–थोर पागलपन बढेर गएको देखिएको छ । कसमा कति पागलपन रहेको छ, त्यो चिकत्सकीय जाँचपछि मात्र बताउन सकिने कुरा हो । तर, पागलपनका लक्षणहरु देखिएका छन् । देशको सत्ता र शक्तिमा रहेकाहरुमा नै पागलपन बढेर गयो भने त्यसले क्रमशः सर्बसाधारणलाई पनि पागल बनाउने अवस्था आउन सक्छ र देशलाई नै अकल्पनीय दुर्घटनामा पनि पार्नसक्छ । त्यसैले यसप्रति समयमानै सतर्कता अपनाउनु जरुरी देखिएको छ । कतिपय नेताहरुको बोली र ब्यवहारको ठेगान नहुने, कतिपयमा हावादारी गफ धेरै गर्ने र कतिपयमा मानिससँग धेरै बोल्न नचाहने लक्षणहरु देखिएका छन् । विश्व स्वास्थ्य संगठनका ताजा अध्ययन प्रतिवेदनहरुले पछिल्ला दिनमा विश्वमै मानसिक रोगीहरुको संख्या बढ्दै गएको देखाएको छ । जसमा बताइएअनुसार हरेक आठजना मानिसमध्ये एकजनामा मानसिक रोग भएको पाइएको छ । हुन त गतवर्षको स्वास्थ्य संगठनको नारानै ‘मानसिक स्वास्थ्य हाम्रो अधिकार’ भन्ने रहेको थियो । तर, नेपालमा त्यसको प्रचारप्रसारसमेत कम भएको देखियो भने मानसिक स्वास्थ्य जाँच गराउनेहरुको संख्यामा पनि त्यसअघिका बर्षहरुको तुलनामा के कति बढ्यो भन्ने कुनै आधिकारिक तथ्यांक बाहिर आउन सकेन । विश्वमा करीब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित रहेको बताउने गरिएको छ । अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरुले विश्वमा झण्डै ३० करोड मानिस एन्जाईटी डिसअर्डरबाट पीडित रहेको बताएका छन् । त्यसैगरी डिप्रेसनबाट २८ करोड, बाईपोलर डिसअर्डरबाट चारकरोड, सिजोफेनियाबाट दुईकरोड ४० लाख पीडित रहेको विभिन्न आलेखहरुमा उल्लेख भएको पाइएको छ । नेपालजस्ता विकासोन्मुख देशहरुमा मनोरोगीको संख्या ६० देखि ७० प्रतिशत रहेको अनुमान गरिएको छ ।

मानसिक रोगका पनि विभिन्न प्रकार र तहहरु रहेका हुन्छन् । मनोरोगमा सामान्य टेन्सनदेखि अति कडा मानिएको सिजोफोर्नियासम्मलाई लिने गरेको देखिएको छ । नेपालमा त्यसै पनि मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी रहेको छ । तथापि पागलपनको उपचार गर्ने अस्पतालहरुको कमी छैन । केन्द्रिय तहमा पाटनको लगनखेलमा रहेको पाटन मानसिक अस्पताल छभने अन्य विभिन्न अस्पताल र क्लिनिकहरु पनि रहेका छन् । नेपालमा पहिलो पटक सन् १९६१ मा वीर अस्पतालबाट मनोरोगको ओपिडी सेवा शुरु गरिएको थियो । हाल पाटन मानसिक अस्पतालमा ५० शैया रहेको छ भने वीर अस्पताल र त्रिबि शिक्षण अस्पताललगायतमा पनि सो सेवा रहेको पाइन्छ । छिमेकी भारतमा शुरुमा राँची धेरै चर्चाका रहेको थियो । हाल अन्यत्र पनि चर्चित अस्पतालहरु रहेका छन् । पछिल्लो समयमा नेपालीहरुको पहुँच चीन, अमेरिका र बेलायतसम्म बिस्तार भएकाले जाँच र उपचार गराउन चाहनेहरुका लागि सुबिधाको कुनै कमी रहेको छैन । पागल भन्नासाथ समाजमा हेयको दृष्टिले हेर्ने चलन छ । तर, त्यो राम्रो चलन होइन । पागलपन पनि विभिन्न किसिमका छन् भने पागल हुनुका पनि विभिन्न काणहरु रहेका छन् । जसको उपचार संभव छ । नेपालका नेताहरुमध्ये कतिपयमा डिप्रेसन पनि देखिन्छ । जुन रोगका बिरामीहरु निराश हुने, दिक्क मान्ने खालका हुन्छन् । त्यसैले उनीहरु सकेसम्म अरुसँग बोल्न नरुचाउने खालका रहेका छन् । धेरैजसोमा मेनिया भन्ने रोग लागेको देखिएको छ । सो रोग डिप्रेसनको ठीक उल्टो खालको मानिन्छ । त्यस्ता मनोरोगीहरुमा हावादारी कुरा गर्ने र बोली र ब्यवहारको ठेगान नहुने हुन्छ । एक दिनमा एउटै विषयमा चार ठाउँमा गरेको भाषण चारथरी हुने हुन्छ । मै ठूलो, मै जान्ने, मै सर्वेसर्वा भन्ने खालको मनोभावना बढी देखिन्छ । जो जतिबेला जे पनि निर्णय गर्नसक्ने र जथाभावी बोल्ने खालको हुन्छ । नेपालका धेरै नेताहरुमा देखिएको मनोरोग पछिल्लो खालको हो । मानिसक रोगका अनेक कारणहरु हुन्छन् । नेपालका प्रायः नेताहरुमा मानसिक रोग बढ्नुका खास–खास कारणहरु रहने गरेका छन् ।

सबैभन्दा पहिलो कारण रातारात नवधनाढ्य हुनु हो । रातारात नवधनाढ्य भएकाहरुमा पैसाको उन्माद यति बढेको हुन्छ कि उनीहरुमा के गरौं र कसो गरौं भन्ने छट्पटी रहेको हुन्छ । त्यसैले उनीहरुमा अत्यधिक रक्सी सेवनको लत बढेको देखिएको छ । यस्तो अवस्थामा जुवा, तास र यौन क्रियाकलापहरु पनि बढीनै हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । ठूलाबडाहरुमा बढेको मानसिक रोग उनीहरुमा महसुस नभए पनि उनीहरुका बोलाई र काम गराईले देखाएका हुन्छन् । जसलाई सर्बसाधारणले महसुस पनि गरेका हुन्छन् । तर, उनीहरुले ठूलाबडालाई प्रत्यक्ष भेटेर पागलपन बढेको भन्न र उपचार गराउ भनेर सुझाव दिन नसकिने हुन्छ । पछिल्लो समयमा कसरी मानसिकरुपमा स्वस्थ रहने भन्ने उपायहरु पनि सुझाइएका छन् । कस्तो खालको मनोरोग कति हदसम्म बढेको छभन्ने कुराको निक्र्योल गरेपछि मात्र त्यसको उपचारका बिधिहरु तय गर्न र अपनाउन सकिने हुन्छ । त्यसैले मुख्यत पार्टीको नेतृत्व र शासन सत्तामा बसेकाहरुले बेलाबखत आफ्नो पागलपन अथवा मनोरोगको जाँच गराउनु पर्दछ । विभिन्न समयमा गरिएका अध्ययन र अनुसन्धानहरुले मानसिक रोग लागेको कसरी चिन्ने भन्नेबारेमा पनि कतिपय सूचकहरुको विकास गरेको पाइन्छ । धेरैजसो ब्यक्तिको बोलाई र ब्यहारका साथै शरीरको अवस्थाबाट पनि पागलपनको पहिचान गर्न सकिने हुन्छ । अनौठो व्यवहार देखापरेमा उसमा पागलपन बढेको अनुमान गर्ने गरिन्छ । मानसिक रोगको उपचारका लागि काउन्सिलिङ (साइकोथेरापी) लाई बढी उपयोगी मानिन्छ । जुन काम सम्बन्धितका अत्यन्त निकटका ब्यक्ति वा मनोचिकित्सकहरुबाट हुनसक्छ । सम्बन्धितहरुले आफ्नो मान्छेमा पागलपन बढेको लागेमा तत्कालै मनोचिकित्सकसँग सम्पर्क गर्नु÷गराउनु राम्रो हुन्छ । मानसिक रोगको उपचारमा साइकोथेरापी, औषधिको प्रयोग र बिद्युतीय उपचार बिधि प्रयोग गर्नेगरेको देखिएको छ । जसको निर्धारण सम्बन्धित चिकित्सकबाट मात्र हुनसक्छ । कतिपय बिरामीहरुलाई आपूm रोगी भएको ज्ञान हुन्छ र उ भित्रभित्रै उपचारको खोजीमा पनि रहेको हुन्छ । तर, ठूला नेताहरुमा त्यस्तो पागलपन बढेको प्रचार भएमा त्यसले उत्पन्न गर्ने सामाजिक एबं राजनीतिक असरका कारण उ खुलेर अस्पताल वा मनोचिकित्सककहाँ जान सकिरहेको हुँदैन । जसका लागि उसका आफन्त र निकटका ब्यक्तिहरुले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्दछ । उसले आफ्नो जिम्मेवारीबाट हटेर केही समय आराम गर्नु राम्रो हुन्छ । कतिपय कडा मानसिक रोग लागेकाहरुले त अरु साधारणलाई पो पागल ठान्ने गरेको पनि देखिएको छ । मानसिक रोगीले आपूmलाई सो रोग लागेको औपचारिकरुपमा स्वीकार नगरे पनि उसको दैनिक जीवन, काम गराई र सामाजिक सम्बन्ध सबै खल्बलिँदै गएको हुन्छ । उनीहरुले आपूmलाई रोगी नठान्ने भएका कारणले हत्तपत्त उपचार गर्न पनि मान्दैनन् ।

मानसिक रोगीहरुमा बेलाबखत चिडचिडाहट, कब्जियत र थकान हुनेलगायतका अन्य शारीरिक संकेतहरु पनि रहेका हुन्छन् । जसकाबारेमा चिकित्सा बिज्ञानमा उल्लेख छ । तर, कस्तो खालको रोग हो र कुनस्तरमा पुगेको छ भन्ने कुरा चिकित्सकीय जाँचबाट मात्र खुट्याउन सकिने हुन्छ । नेपालमा पद र नेतृत्वमा रहेका कतिपय नेताहरुमा बढ्दो तनावले पनि पागलपन बढाएको हुनसक्ने संभावना रहेको छ । त्यस्तो तनावको अवस्था उनीहरु आफैँले सिर्जना गराएका हुन्छन् । तनावले सिधै मस्तिष्कमा असर गर्ने र त्यस्तो क्रम बारम्बार दोहोरिँदा पागल बनाउने पनि हुनसक्छ । मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सुस्वास्थ्यलाई समेटेको हुन्छ । जसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछभन्ने कुरालाई प्रभाव पार्दछ । त्यसैले मानसिकरुपमा स्वस्थ्य रहन व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई सधै सन्तुलनमा राख्ने प्रयास गर्नुपर्दछ । जस्तो मानिसका खाने, बोल्ने, हिँड्ने र ब्यवहार गर्ने सबै कुराका सीमाहरु हुन्छन् । राजनीतिका पनि आआफ्नै खालका सीमाहरु छन् । त्यसैले सबैले आआफ्ना सीमाहरुको सधैँ ख्याल गर्नुपर्दछ । कुनैबेला मौका पर्नासाथ आफ्ना सीमाहरु उल्लंघन गरियो भने फेरि सो ठाउँमा फर्केर आउन कठीन हुन्छ । किनकि पद र नेतृत्वमा रहेका नेताहरुका कृयाकलापको बिज्ञदेखि जनसाधारणले समेत मूल्यांकन गरिरहेका हुन्छन् । नेताहरुको भनाई र गतिबिधिको बिवरण संकलन भैरहेको हुन्छ र कतिपयले इतिहास पनि बनाएका हुन्छन् । मानिसको जीवनमा सबैभन्दा ठूलो विचार हो । आफ्नो विचार र सिद्धान्तबाट स्खलित भैसकेका नेताहरु फेरि सुध्रिने र पुरानै शाखमा पुग्ने संभावना कमै हुन्छ । हाल सत्ता र शक्तिमा रहेका कतिपय नेताहरुमा पागलपन अत्यधिक बढेको धेरैले अनुभव गरेको देखिएको छ । जसका बारेमा विभिन्न सञ्चार माध्यममार्फत् सामान्य चर्चा पनि भैरहेको छ । त्यसैले सम्बन्धित पार्टी र परिवारजनलेसमेत समयमै सावधानी अपनाउने र उपचारमा लाने प्रयास गर्नु जरुरी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु