कार्ल माक्र्स ः क्रान्तिकारी जीवन यात्रा

२०८० चैत्र १ गते, बिहीबार
हस्तबहादुर केसी


उनको नाउँ र कार्य युगयुगान्तरसम्म जीवित रहनेछन्
– फ्रेडरिक एंगेल्स

आज १४ मार्च, मानवजातिकै सबैभन्दा ठूलो मस्तिष्कले विचार गर्न छोडेको दिन । आज १४ मार्च साम्यवादिका सिद्धान्तकार तथा महान् व्यक्तिले यस धर्तीबाट विदा लिएको दिन कार्ल माक्र्स ५ मई, १९१८ मा प्रशाको राइन प्रदेभित्र पर्ने ट्रियर नगरमा जन्मिनु भएको थियो । वहाँका पिता वकिल र यहुदी थिए, पछि १८२४ मा उनले ईसाई प्रोटष्टेन्ट धर्म स्वीकार गरे र उनको नाम हाइनरिख माक्र्स बन्यो । माक्र्सको परिवार सुखी र सुसंस्कृत थियो । ट्रियरका विशिष्ट पाठशालाको अध्ययन पुरा गरी माक्र्स पहिले बोन र पछि बर्लिन विश्वविद्यालयमा दाखिल हुनु भयो । त्यहाँ माक्र्सले कानुन इतिहास र दर्शनको अध्ययन गर्नु भयो । माक्र्सले १९३५ मा पेशाको छनोटको सन्दर्भमा एउटा महत्वपूर्ण निबन्ध लेख्नु भएको थियो । त्यस निबन्धमा माक्र्सले भन्नुभएको थियो – “इतिहास त्यसैलाई महान् मानव मान्दछ, जो सामान्य लक्ष्यका लागि काम गरेर स्वयम् उच्च बन्दछ, अनुभवले सर्वाधिक सुखी मानिसका रूपमा त्यसैको स्तुति गर्दछ, जसले बहुसंख्यक मानिसहरूका लागि सुखको सृष्टि गरेको छ ।” माक्र्सको यो मान्यता अत्यन्तै उदात्त रहेको छ ।
१८४१ मा माक्र्सले पिएचडी डिग्री प्राप्त गर्नका लागि “प्रकृतिसम्बन्धी डेमोक्राइस र एपिक्युरका दर्शनमा भिन्नता” शीर्षकमा एउटा शोध प्रबन्ध लेख्नुभएको थियो । त्यसमा वहाँले प्राचीन युनानी नाटक“बन्दी प्रमिथियस”को क्रान्तिकारी पात्र प्रामिथियसको विशेष चर्चा गर्नुभएको थियो । प्रीमथिमस देवताहरूका विरोधी थिए र उनलाई राजद्रोहको मुद्दा लागेको थियो । सो शोध प्रबन्धमा प्रमिथियसबारे माक्र्सले भन्नुभएको थियो – “दर्शनको इतिहासमा प्रमिथियस सर्वाधिक प्रखर सन्त र शहीद हुन् ।” यहाँ माक्र्सले प्रमिथियसको निर्भिकता, त्याग र बलिदानको उच्च मूल्याङ्कन गर्नु भएको छ । माक्र्स वास्तविक माक्र्स बन्नका लागि पेशाको छनोटका सन्दर्भमा १८३५ मा अभिव्यक्त धारणा र १८४१ को शोधपत्रमा प्रमिथिसबारे प्रस्तुत विचार साँच्चै महत्वपूर्ण सैद्धान्तिक आधार बन्न गएका थिए ।
 माक्र्स पत्रकार पनि हुनुहुन्थ्यो । उहाँ १८४२ मा राइन समाचार पत्रको सम्पादक बन्नु भयो । त्यसमा वहाँको क्रान्तिकारी जनवादप्रतिको आकर्षण स्पष्टै देखिन थाल्यो । फलतः सरकारले सुरुमा त्यसको सेन्सरसिप ग¥यो । त्यस स्थितिमा माक्र्सले सम्पादकबाट राजिनामा दिनुभयो । तर पनि सो पत्रिका बन्द गरियो । त्यस पश्चात माक्र्स केही साथीहरूसित मिली आमूलवादी पत्रिका निकाल्नका लागि पेरिस जानु भयो । त्यहाँ माक्र्स र एङ्गेल्सको सम्पादनमा ‘जर्मन फ्रान्सिसी वार्षिकी पत्रिका’१८४४ मा निस्कियो । त्यसमा माक्र्सको क्रान्तिकारी सोच स्पष्टता मुखरित भयो । अनि प्रसियाली सरकारको आग्रहमा माक्र्सलाई पेरिसबाट निर्वासित गरियो र वहाँ ब्रसेल्स जानु भयो ।
आफ्नी बालसखा जेनी फान वेस्ट फालेनसित १८४३ मा कार्ल माक्र्सको विवाह भयो । विवाह पश्चात् जेनी माक्र्सको साथमा पेरिसमै रहनु भयो र पेरिसबाट ब्रसेल्स जाँदा पनि दुवै साथसाथै बस्नु भयो । १८४२ मा माक्र्सको एङ्गेल्ससित भेट भयो र उहाँहरू बीच जीवनभर अटुट मैत्री कायम रह्यो । माक्र्स १८४१ देखि १८४८ सम्मको अवधिमा वामपन्थी हेगेलवादी फायरबाख पक्षधर हुँदै नयाँ विचारको खोजमा तल्लीन बन्नुभयो । कोल्निश जाइटुङ्गको एक अग्रलेखमा माक्र्सले दर्शनलाई धर्मबाट मुक्त गर्नका लागि जोड दिनुभयो र दर्शनलाई “आफ्नो युगको बौद्धिक सारतत्व” बताउनु भयो । त्यसैगरी १८४३ मा प्रकाशित आफ्नो“हेगेलको न्याय दर्शनको समालोचनाको प्रयास” शीर्षक लेखमा वहाँले भन्नुभयो, “जसरी दर्शनले सर्वहारमा आफ्नो भौतिक अस्त्र देख्तछ, त्यसरी नै सर्वहाराले दर्शनमा आफ्ना आत्मिक अस्त्रहरूको दर्शन गर्दछ । “यसपश्चात् माक्र्सले आफ्नो महत्वपूर्ण पुस्तक १८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू” तयार पार्नुभयो । यी कृतिहरू माक्र्सवादको निर्माणमा नयाँ मोडहरू थिए । त्यसै क्रमश माक्र्स र एङ्गेल्स मिलेर पवित्र परिवार (१८४५), जर्मन विचारधारा (१८४५ – १८४६) जस्ता कृतिहरू तयार पारिए । यसै सिलसिलामा माक्र्सका फायरबाखसम्बन्धी निबन्ध(१८४५), दर्शनको दरिद्रता (१८४७) जस्ता कृति थिए । त्यसै प्रक्रियामा माक्र्स र एङ्गेल्स एउटा गुप्त संगठन “कम्युनिस्ट लिग” मा सामेल हुनु भयो र त्यसको दोस्रो काँग्रेस (नम्बर १८४७ लण्डन) मा भाग लिनु भयो । यसै कम्युनिष्ट लिगको निर्णय अनुसार माक्र्स र एङ्गेल्सले “कम्युनिस्ट पार्टीको घोषणापत्र” तयार पार्नुभयो र त्यो १८४८ मा प्रकाशित भयो । कम्युनिस्ट पार्टीको घोषणापत्रको प्रकाशन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा युगान्तकारी ऐतिहासिक परिघटना थियो ।
१८४८ को आसपासको अवधि फ्रान्स, जर्मनी लगायतका युरोपिय देशहरूमा वर्गसंघर्षको उथलपुथको अवधि थियो । त्यो बेला माक्र्सलाई बेल्जियमबाट निर्वासित गरियो र वहाँ पेरिस जानुभयो । अनि त्यहाँबाट पुनः जर्मनकीको कोलोनमा गई नयाँ रायन समाचार पत्रको सम्पादक बन्नुभयो । प्रतिक्रान्ति पश्चात् माक्र्समाथि मुद्दाबाट छुटकारा पाएपछि उहाँलाई निर्वासित गरियो ।  त्यस पश्चात् वहाँ झण्डै मृत्युपर्यन्त लण्डनमै बस्नुभयो । माक्र्सको जीवनमा पत्रकारिता, निर्वासन र क्रान्ति अभिन्न रूपमा जोडिएका छन् । त्यसै प्रक्रियामा माक्र्सले ‘फ्रान्समा वर्गसंघर्ष’ (१८५०), “लुई बोनापार्टको अठारौ बुमेर” (१८५२) जस्ता ऐतिहासिक भौतिकवादको विकाससित सम्बन्धित महत्वपूर्ण पुस्तक लेख्नुभयो । त्यसै क्रममा माक्र्स लिखित“राजनीतिक अर्थशास्त्रको समीक्षाको एक प्रयास (१८५१)”शीर्षक विशेष महत्वपूर्ण कृति तयार भयो । यो कृति ऐतिहासिक भौतिकवाद र राजनीतिक अर्थशास्त्रको क्षेत्रसित सम्बन्धित छ । यस अवधिमा माक्र्सले राजनीतिक अर्थशास्त्रसम्बन्धी अन्य विभिन्न पाण्डुलिपिहरूको निर्माण गर्दै“पुँजी”का लागि साग्रीहरूलाई व्यवस्थित तुल्याउनु भयो ।
१८५० यता निर्वासन जीवन यापन गर्दा माक्र्सले ठूलो आर्थिक समस्या झेल्नु प¥यो । सानी छोरी मर्दाका समयमा कपन किन्न पैसा नहुनु, घरभडा तिर्न नसक्दा ठूलो अपमान सहन पर्नु, गरिबी तथा अभावका कारण स्वास्थ्य स्थिति कमजोर भई बालबच्चा अकाल मृत्युको शिकार बन्नु निकै दर्दनाक विषय हुन् । परन्तु, माक्र्सले आफ्नै उच्च मनोबल, जीवनसाथी जेनीको अविचल साथ र एङ्गेल्सको न्यानो सहयोग पाएर त्यस प्रकारका समस्याको सामना गर्नुभयो ।
१८६० को दशकमा माक्र्स आन्दोलन र संगठनको फाँटमा बढी क्रियाशील हुनु भयो । कम्युनिस्ट लिगको विघटन (१८५२) पश्चात् माक्र्स अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको तयारीमा जुट्नु भयो र १९६४ मा लण्डनमा पहिलो अन्तर्राष्ट्रियका रूपमा अन्तर्राष्ट्रिय मजदुर संघको स्थापना गरियो । यस संगठनमा माक्र्सले एकातिर पुँधो, बाकुनिनसहितको अराजकता र अर्कोतिर लासाली दक्षिणपंथी अवसरवादका विरुद्ध जुध्नुभयो । त्यसै क्रममा पेरिसमा मजदुर आन्दोलन सशक्त रूपमा विकसित भयो र पेरिसका मजदुरहरूले पुँजीपति वर्गको सत्तामाथि धावा बोल्दै १८७१ मा ‘पेरिस कम्युन’ को स्थापना गरे । यसै विषयमा केन्द्रित रहेर माक्र्सले “फ्रान्समा गृहयुद्ध” (१८७१) जस्तो महत्वपूर्ण पुस्तक लेख्नुभयो । त्यति मात्र होइन, त्यसै अवधिमा माक्र्सले राजनीतिक अर्थशास्त्रको क्षेत्रमा युगान्तकारी भूमिका निर्वाह गर्ने महत्वपूर्ण कृति “पुँजी खण्ड – १” (१८६७) तयार पार्नुभयो ।
पेरिस कम्युनको पराजय र बाकुनिनवादीहरूद्वारा खडा गरिएका व्यवधानहरूको कारण युरोपमा कम्युनिस्ट इन्टरनेशनलको अस्तित्वमा गम्भीर खतरा पैदा भयो । त्यस स्थितिमा माक्र्सको प्रस्तावमा त्यसको हेग कांग्रेस (१८७२) मा इन्टरनेशनलको जेनेरल काउन्सिल न्युयोर्कमा सार्ने निर्णय लिइयो । पहिलो अन्तर्राष्ट्रियले आफ्नो ऐतिहासिक भूमिका पूरा ग¥यो । अब संसारका सबै देशहरूमा कम्युनिष्ट पार्टीहरूको निर्माण गरी मजदुर आन्दोलनलाई अगाडि बढाउनुपर्ने परि स्थिति बन्यो । १८४८ देखि पेरिस कम्युनसम्मका अनुभवहरूका आधारमा माक्र्सले वैज्ञानिक समाजवादको क्षेत्रमा सर्वहारा अधिनायकत्वको सिद्धान्तलाई राम्रोसित सूत्रबद्ध तथा स्थापित तुल्याउनु भयो । त्यसै प्रक्रियामा वहाँले अवसरवादका विरुद्धको संघर्षको क्रममा आफ्नो “गोथा कार्यक्रमको आलोचना” (१८७५) तयार पार्नुभयो र त्यसमा पुँजीवाददेखि समाजवादसम्म संक्रमणकालीन अवधिका लागि सर्वहारावर्गको अधिनायकतव अपरिहार्य हुने कुरा बताउनु भयो । माक्र्स पश्चात् एङ्गेल्सले १८८९ मा दोस्रो अन्तर्राष्ट्रियको स्थापना गर्नुभयो ।
१८१४ मा जन्मिएकी माक्र्सकी पत्नी जेनीको २ डिसेम्बर, १८८१ मा देहान्त भयो । त्यस पश्चात् १४ मार्च, १८८३ मा माक्र्सको लण्डनमा देहान्त भयो । कार्ल माक्र्सको समाधिमा भाषण दिँदै १७ मार्च, १८८३ मा एङ्गेल्सले भन्नुभएको थियो –“यस ओजस्वी आत्माको महाप्रयाणले जुन अभाव पैदा भएको छ, मानिसहरूप्रति शीघ्र नै त्यसको अनुभव गर्नेछन् ।.......उनको नाम युगौंयुगसम्म अमर रहनेछ, त्यसरी नै उनको काम पनि अमर रहनेछ ।”
माक्र्सको निधनपश्चात् एङ्गेल्सले “पुँजी” को सम्पादन गर्नुभयो र तिनका बाँकी खण्डहरूलाई प्रकाशित गर्ने व्यस्था मिलाउनु भयो । माक्र्सको सहयोगमा एङ्गेल्सले १८७८ मा डु्युहरिङ्ग मतखण्डन जस्तो गहन सैद्धान्तिक कृति लेख्नु भयो । माक्र्स पश्चात् एङ्गेल्सले – “परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति”, लुडविग फायरबाख तथा क्लासिकल जर्मन दर्शनको अन्त्य” – जस्ता महत्वपूर्ण कृतिहरू लेख्नुभयो । माक्र्सवादको निर्माण र विकासमा एङ्गेल्सको महत्वपूर्ण भूमिका रह्यो । एङ्गेल्सले माक्र्सका निम्ति आर्थिक सहयोग मात्र गर्नुभएन, विचारधारात्मक सहयोग पनि गर्नुभयो । माक्र्सका विचार र शिक्षाहरूलाई माक्र्सवादका रूपमा नामाङ्कन गर्ने विशिष्ट काम पनि एङ्गेल्सबाट नै सम्पन्न भयो । १८२० मा जर्मनीमा जन्मिएका एङ्गेल्सको १८९५ मा देहान्त भयो । अन्तर्राष्ट्रिय आन्दोलनको इतिहासमा माक्र्स र एङगेल्सको मैत्री एक अद्वितीय परिघटना थियो ।  अर्थात आजकै दिन १४ मार्च १८८३ का दिन महान दफाहरू तथा साम्यवाद सिद्धान्तकार कार्ल माक्र्सको देहावसान भएको दिन आज विश्व सर्वहारावर्गले माक्र्सको १४१ आंैं स्मृति दिवस भव्यताको साथ मनाइरहेका छन् । यस अवसरमा हाल उहाँले माक्र्सको क्रान्तिकारी जीवनयापनका बारेमा यो लेख लेख्ने प्रयत्न गरिएको छ ।

(लेखक केसी वरिष्ठ माक्र्सवादी लेखक हुन ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु