पीटीआईद्वारा प्रतिपक्षमा बस्ने घोषणा

२०८० फाल्गुन ७ गते, सोमबार


काठमाडौँ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले राष्ट्रिय सभा र पञ्जाब प्रान्तीय सभामा प्रतिपक्षमा बस्ने बताएको छ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीको यो निर्णय पीटीआईका ब्यारिस्टर अली सैफले घोषणा गरेका हुन् । एक दिनअघि पीटीआईले ओमर अयुब खानलाई प्रधानमन्त्री पदका लागि र अस्लम इकबाललाई पञ्जाबको मुख्यमन्त्रीका रूपमा उम्मेदवार बनाएको थियो। इस्लामाबादमा कौमी वतन पार्टीको भ्रमण गरेपछि मिडियासँग कुरा गर्दै सैफले पार्टी संस्थापक इमरान खानको निर्देशनअनुसार पार्टीले केन्द्र र पञ्जाबमा विपक्षमा बस्ने निर्णय गरेको बताए।
पाकिस्तानमा ८ फेब्रुअरीमा भएको आम चुनावपछि न त कुनै दलले स्पष्ट बहुमत पाएको छ न त गठबन्धन सरकार बनाउने प्रयास नै सफल भएको छ । पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले ९२ सीटहरू प्राप्त गरे, जबकि पाकिस्तान मुस्लिम लिग-नवाज र पाकिस्तान पीपुल्स पार्टीले क्रमशः ७५ र ५४ सीटहरू प्राप्त गरे।
नयाँ सरकार गठनको लागि निरन्तर प्रयास जारी छ। यस्तो अवस्थामा पीएमएल-एन पार्टीले शाहबाज सरिफलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेको छ । यसैबीच, बिलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले सरकार गठनका लागि पीएमएल-एनलाई बाह्य समर्थन दिने निर्णय गरेको छ। साथै, नवाज शरीफले आफ्नी छोरी मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्रीको उम्मेदवार बनाएका छन्।

प्रतिक्रियाहरु