बागमती साकोस समिट फागुन १६ देखि

२०८० फाल्गुन ७ गते, सोमबार


काठमाडौँ । ‘सहकारी सुदृढीकरणको आधार : सहकार्य, एकता र विश्वास’ भन्ने मूल उद्देश्यका साथ् ‘बागमती प्रदेश साकोस समिट–२०८०’ १६ फागुनदेखि हुने भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को आयोजनामा भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेशभरिका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।
सहकारी सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका लागि नयाँ विषयमा बहस चलाउने, सहकारीका असल अभ्यासलाई धेरै संस्थामा पुर्‍याउने र अभियानमा ऐक्यबद्धता कायम गर्ने तथा सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिको रुपमा बचाइ राख्ने समिटको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
त्यसैगरी अभियानका साझा सबालहरुमा साझा धारणा विकास गरी बहस पैरवीमा प्रभावकारिता ल्याउने, सहकारीका वर्तमान चुनौतीहरुको सामनाका लागि कार्यक्रममार्फत सबै संस्थालाई जागरुक गराउने र बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता कायम गर्ने उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए ।
समिटको पहिलो दिन सहकारी सुध्रिढीकरणको आधारः सहकार्य, एकता र विश्वास, सहकारी अभियानको शुद्धिकरण : कानुन कार्यन्वयन, एकीकरण र वर्गिकरण र सहकारीको वर्तमान आवश्यक्ताः साझा अभियानका लागि साझा सञ्जाल विषयमा विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बताए ।
त्यसैगरी दोस्रो दिन सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण : भावी जोखिम र कार्यन्वयन रणनीति, दक्ष जनशक्ति पलायन : सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण उपाय, प्रभावकारी सेवाका लागि जनशक्ति उत्पेरणा र सहकारी सुशासन प्रर्वद्धनमा : प्रविधिमैत्री कारोबारका विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सहभागीहरुबीच छलफल हुने दाहालले बताए । समिटले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानमा समेत मार्ग प्रशस्त गर्ने दाहालले बताए । बागमती प्रदेशमा करिब ८ हजार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु