‘गणतन्त्र दलाल पुँजीवादको कब्जामा पर्यो ‘

२०८० फाल्गुन ७ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले गणतन्त्र दलाल पुँजीवादको कब्जामा परेको ठोकुवा गरेका छन। फागुन ६ गते, आईतवार अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले आफूहरुले लडेर ल्याएको गणतन्त्र दलाल पुँजीवादको कब्जामा गएकाले आफूहरुले संघर्ष गर्नु परिरहेको उल्लेख गर्दै नेपाललाई दलालहरुको कब्जावाट खोसेर नेपाली युवाहरुको भविश्य सुनिश्चित गर्न उनीहरु नेपालमै बस्नुपर्ने बताउदै भने- ‘कोही पनि निराश हुन जरुरी छैन । नेपाली युवाले प्रेम प्रसाद भएर मर्ने होइन्, संघर्ष गर्नुपर्छ । आफै जलेर मर्दा दलालहरु खुशी हुन्छन् । एउटा विद्रोही मर्या भन्छन् । आफैलाई आगो लगाउने होइन, दलालहरुलाई आगाले झोस्ने हो । स्वाभिमान भएर बाँच्ने हो । अरु अन्यायका विरुद्धमा संघर्ष गर्ने हो ।’
महासचिव विप्लव सीले दलालहरुले नेपालमा निराशा बाँडेर युवाहरुलाई निराश बनाएको बताउदै नेपालमा दलाल पुँजीवादले गरेको हल्लाको पछि लागेर देशका युवा विद्यार्थी निराश हुन जरुरी नभएको बताए । उनले पछिल्लो समय प्रचण्ड सरकारले गरेका कामहरुप्रति लक्षित गर्दै नेपालमा गजब भइरहेको बताउदै भने- ‘हामीले १६ वर्ष अगाडि नै भनेका थियौं देश समस्यामा जाँदैछ, यसलाई छिटो निकास दिनुपर्छ । हामीले १६ बर्ष अगाडि भनेको कुरा अहिले आएर लागु हुँदछ । हामीले १६ बर्ष अघि भनेको कुरालाई लिएर अहिले युवामा निराशा बाँडिदै छ । अब निराशा बाँड्न जरुरी छैन ।’
महासचिव विप्लव सीले ललिता निवासको १ सय ४२ रोपनी जग्गा फिर्ता आउनु, बाँसबारीको जग्गा हडप्नेहरु पक्राउ पर्नु, सुन तस्करहरु पक्राउ पर्नु, भुटानी शरणार्थी प्रकरणका मतियारहरु जेतमा हुनेले नेपालमा गजव भइरहेको सन्देश दिएको बताउदै भने- ‘अरुण चौधरी पक्राउ परे, ललिता निवासको १४२ रोपनी नेपाल सरकारको नाममा आयो भन्ने छ, डलरमाथि चिप्लिएको मान्छे पनि देखियो, विमानस्थलमा सयौं किलो सुनमा उत्तानो परेका मान्छेहरु पनि देख्न पाइयो । त्यहि भएर गजब भइरहेको छ ।’
महासचिव विप्लव सीले नेपालको विद्यार्थी आन्दोलन ऐतिहासिक क्रान्तिकारी आन्दोलन भएको भन्दै सम्पूर्ण परिवर्तन चाहने युवा विद्यार्थीहरु संगठित हुनुपर्नेमा जोड दिए । उनले अखिल (क्रान्तिकारी) क्रान्तिकारीहरुको मात्र नेतृत्व गर्ने संगठन नभएर नेपालका ९० लाख विद्यार्थीको संगठन भएको बताउदै भने- ‘पढ्न पाउने अधिकार र उनीहरुको भविश्यको नेतृत्व अखिल (क्रान्तिकारी)ले गर्नुपर्छ । यो संगठन फाँसीमा झुन्डिन, गोली खान तयार भएका गंगालला श्रेष्ठ, चिनियाकाजीहरुहरुको इतिहास जोडिएको संगठन हो । यसले राजनीतिक अधिकार मात्र होइन शिक्षाका विकृतिका विरुद्धमा लड्ने संगठन हो । यो सबै विद्यार्थीको साझा संगठन हो । यसले सबै विद्यार्थीको नेतृत्व गर्छ। ‘


यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनकी फ्याक्सन इन्चार्ज शिलु सीले पढिरहेको शिक्षा जीवन व्यवहारमा जोडिनुपर्ने बताईन । उनले नेपालको वर्तमान शिक्षा प्रणाली र विभिन्न कलेज विद्यालय विश्वविद्यालयहरुमा अध्यापन भइरहेको शिक्षा जीवन व्यवहारमा जोडिनुपर्ने बताउदै भनिन्- ‘हाम्रा युवा विद्यार्थीहरुले पढिरहेको शिक्षा केवल किताब र घोकाइको रटानमा मात्र होइन, जीवन व्यवहारमा लागू हुनुपर्छ । हामीले यो शिक्षा प्रणाली अवैज्ञानिक छ, अव्यवहारिक छ भनेर बोल्ने मात्र होइन, समस्याको बारेमा बोल्ने मात्रै होइन समाधान दिनुपर्छ, त्यो भनेको वैज्ञानिक समाजवादी शिक्षा हो।’
नेता शिलु सीले नेपालमा पछिल्लो समय साम्राज्यवादी हस्ताक्षेप बढेको र साम्राज्यवादी हस्तक्षेपको नमूना एमसीसीमार्फत देखिएको बताउदै भनिन्- ‘नेपालमा साम्राज्यवादी हस्तक्षेप बढेको छ, यो नेपालमा प्रत्यक्ष आएको छ । त्यो हेर्न लब्सिफेदी जानुहोस्, रातामाटे जानुहोस् । युवा विद्यार्थीहरुले साम्राज्यवादको हस्तक्षेपको विरुद्ध लड्नुपर्ने छ, शिक्षामा भएको निजिकरण र व्यापारीकरणको विरुद्धमा लड्नुपर्ने छ।’


नेता शिलु सी ले दलाल संसदिय व्यवस्थाको अन्त्य नगरेसम्म नेपाली विशेषताको समाजवाद ल्याउन नसकिने बताउदै वैज्ञानिक समाजवादी शिक्षासमेत लागू गर्न नसकिने ठोकुवा गरिन् । उनले नेपालमा साम्राज्यवाद प्रत्यक्ष रुपमै आइसकेकाले नेपाल छिमेकी शक्ति राष्ट्रको टकरावको किडास्थल भन्ने खतरा रहेको र यसको विरुद्ध लड्न साम्राज्यवादलाई नेपालबाट परास्त गर्न माओवादी घटक, समाजवादी शक्ति सम्पूर्ण देशभक्त कम्युनिस्ट शक्तिहरु गणतन्त्रवादीहरु, सच्चा लोकतन्त्रहरुवादी शक्तिहरु एकै ठाउँमा उभिएर सामना गर्दै देश जोगाउनु पर्ने बताइन ।
नेता शिलु सी ले नेकपाको लोकप्रियता र वैज्ञानिक भिजन देखेर यसलाई रोक्न र समाजवादी मोर्चालाई गतिहिन बनाउन विदेशी साम्राज्यवादी दलालहरुको इसारामा देशभक्त कम्युनिस्ट पार्टीमाथि पक्राउ पुर्जी जारी गरिएको बताउदै भनिन – ‘दलालहरुले पक्राउ पुर्जी जारी गर्दैमा क्राम्तिकारिहरु डराएर भाग्दैनन् साम्राज्यवादीहरुकै केन्द्रमा बसेर सामना गर्छन्। आज हामी यही काठमाडौंमा बसेर सामना गरिरहेका छौँ । यही बसेर लड्छौं ।’


प्रकाश सीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले उपस्थित सम्पूर्ण अतिथि र विद्यार्थीलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा सामाना सांस्कृतिक परिवारको टोलीले आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।
उक्त कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख विषम सी, नेकपा स्थायी समिति सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज शिलु , स्थायी समिति सदस्य सुशील सीलगायतका पार्टीका पोलिट ब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, सहिद परिवार, बेपत्ताका आफन्तहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा नमूना सरकारी विद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु