फ्री वाइफाईमार्फत अनलाइन बैंकिङ सेवा प्रयोग जोखिमपूर्ण

२०८० फाल्गुन ६ गते, आईतवार


काठमाडौँ । साइबर सुरक्षा विज्ञले पब्लिक (फ्री) वाइफाईबाट बैंकिङ कारोबार नगर्न आग्रह गरेका छन् । आज आयोजित एक कार्यक्रममा बोल्दै साइबर सुरक्षा विज्ञ विजय लिम्बूले फ्री वाइफाई (पब्लिक वाइफाई) द्वारा मोबाइल बैंकिङमार्फत कारोबार जोखिम हुने बताएका हुन् । लिम्बूका अनुसार फ्री वाईफाईमा सबैको पहुँच हुने गर्छ । लिम्बूले फ्री पब्लिक वाइफाईको इन्टरनेट नेटवर्कमा सबैलाई प्रसारित गरिन्छ र ह्याकरहरूले सजिलै नियन्त्रणमा लिन सक्ने बताउदै भने- ‘फ्री पब्लिक वाइफाई र प्राइभेट पब्लिक वाइफाई गरि दुई किसिमको वाइफाई हुन्छन् । फ्रीमा दिइएको वाइफाई भनेको जहिले पनि खतरापूर्ण हुन्छ। पब्लिक वाइफाईमा तपाईँको युजरनेम पासवर्डदेखि लिएर सबै इन्टर गरिसकेपछि सकिन्छ। त्यसले गर्दा फ्री पब्लिक वाइफाई कहिले प्रयोग नगर्नुस। ’
लिम्बूले मोबाइल बैङ्किङ प्रयोग गर्दा डेटा प्याक वा प्राइभेट वाइफाईबाट मात्र इन्टरनेट चलाउन सुझाव दिंदै भने -, ‘रेस्टुरेन्टतिरको पनि प्रयोग नगर्नुस् भन्छु। रेस्टुरेन्टको प्राइभेट वाइफाइ धेरैले प्रयोग गरिरहेको हुन्छ। रेस्टुरेन्ट–क्याफेलगायत सार्वजनिक स्थानमा प्रयोग गरिने वाइफाईमा धेरै व्यक्ति पहुँच हुने गर्दा धेरैले इन्टरसेभ गरेर राखेको हुन्छ जसले गर्दा प्राविधिक रूपमा ह्याकिङको सम्भावना रहन्छ ।’
पछिल्लो समय अनलाइन कारोबार गर्नेहरूको संख्या बढ्दो छ। इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो ग्राहक र प्रयोगकर्ताहरूका लागि भन्दै विभिन्न स्थानमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइरहेका छन् । तर यसरी निःशुल्क उपलब्ध हुने वाइफाई छिटो ह्याक हुने जोखिम उच्च रहेको लिम्बूले बताए ।
साइबर अपराधीहरूले असुरक्षित नेटवर्कहरूलाई ह्याक गर्न र त्यसबाट प्रयोगकर्ताको व्यक्तिगत डेटा चोरी गर्न विभिन्न प्राविधिक उपकरणहरूको संयोजन प्रयोग गर्छन्। यसमा प्रयोगकर्ताको पासवर्ड, बैंकिङ जानकारी, वा व्यक्तिगत डेटा समावेश हुन सक्छ। र, यी कुराहरू साइबर अपराधीहरू (ह्याकर) ले पहिचान चोरीको लागि प्रयोग गर्न सक्छन्। सार्वजनिक उपलब्ध वाइफाई र वाइफाई प्रयोगकर्ताको डेटा विभिन्न तरिकाले ह्याक हुन सक्छ।
यसरी प्रयोगकर्ताको पासवर्ड, बैंकिङ खाता, व्यक्तिगत डेटाहरू ह्याक हुन सक्छ। कतिपय समय प्रयोगकर्ता आफैलाई आफ्नो खाताहरू ह्याक भएको तत्काल थाहा नहुन सक्छ।
सार्वजनिक रूपमा उपलब्ध हुने वाइफाईको सुरक्षा प्रणाली नै कमजोर हुने सुम्भावना बढी हुन्छ। त्यसैले कुनै पनि स्थानमा निःशुल्क वाइफाई उपलब्ध छ भने पनि त्यसमा जोडिहाल्नु हुँदैन।

प्रतिक्रियाहरु