मालेमावादी दर्शनको ऐतिहासिक कार्यभार ः साम्यवादी नौलो संसारको निर्माण

२०८० फाल्गुन ६ गते, आईतवार

हस्तबहादुर केसी

“जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।” – कार्ल माक्र्स – फ्रेडरिक एंगेल्स, संकलित रचना संग्रह खण्ड ३, पृष्ठ १८७, प्रगति प्रकाशन, मास्को १९७५ ।

माक्र्सवाद सर्वहारा वर्ग र सबै उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्त हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शन यसै सिद्धान्तको एक प्रमुख अंग हो । माक्र्सवादले आज विकासकोक्रममा माक्र्सवादको विकासको पहिलो चरण माक्र्सवादको विकास हो । माक्र्सवादको विकासको दोस्रो चरण लेनिनवाद हो । र, माक्र्सवाद – लेनिनवादको तेस्रो र नयाँ चरण माओवादको विकासको चरण हो । यसरी आज माक्र्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो ।

मालेमावाद एक विकासशील र परिवर्तनशील सिद्धान्त हो । मालेमावादका मुख्यतः तीन ऐतिहासिक कार्यभार रहेका छन्– (१) दर्शन ः एक बौद्धिक हतियार, (२) जनताको बीचमा दर्शन, (३) दर्शनको ऐतिहासिक कार्यभार ।

१) दर्शन ः एक बौद्धिक हतियार

दर्शन वास्तविक अर्थमा क्रान्तिको एक बौद्धिक हतियार हो । त्यसैले माक्र्सले माथि व्याख्या गर्नुभएको छ कि उहाँले सर्वहारा वर्ग र क्रान्तिकारी दर्शनका बीच द्वन्द्वात्मक एकरूपता देखाउने काम गर्नुभएको छ । वास्तवमा दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँदछ । यसको अर्थ क्रान्तिकारी दर्शन क्रान्तिकारी वर्गसँग संबंधित रहेको कुरा दर्शाउनु नै हो । त्यसैगरी यहाँ सर्वहारा वर्गले दर्शनमा बौद्धिक हतियार भेटाउने कुरा प्रस्तुत गरिएको छ । यसको अर्थ यस प्रकारको क्रान्तिकारी दर्शन विश्व सर्वहारा वर्गको मुक्तिको प्रश्नसँग अभिन्न रुपमा गाँसिएको कुरालाई दर्शाउनु हो ।

मालेमावादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण र वैचारिक हतियार हो र यसलाई क्रान्तिकारी कम्युनिस्टहरूले दृढताकासाथ अवलम्बन गर्न जरुरी छ । दर्शनको यो बौद्धिक तथा वैचारिक हतियारलाई भुत्ते बनाउनका लागि सबैखाले संशोधनवादी तथा प्रतिक्रियावादीहरुबाट निरन्तर असफल प्रयास हुँदै आएको छ र भविष्यमा पनि हुनेछ । तसर्थ क्रान्तिकारी कम्युनिस्टहरू यसप्रति सतर्क रहन जरुरी छ ।

२) जनताको बीचमा दर्शन

दर्शन जनताको लागि हो । त्यसैले दर्शनलाई जनता कै बीचमा पु¥याउन जरुरी हुन्छ । माक्र्सवाद दर्शनलाई जनताको बीचमा पु¥याउनु पर्ने आवश्यकतामाथि जोड दिँदै कमरेड माओ त्सेतुङले भन्नुभएको छ, “माक्र्सवादको सैद्धान्तिक आधारको रुपमा रहेका द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अध्ययन गर्ने दशौं लाख मानिसहरुका यस्ता डफ्फाहरुको निर्माण गर्ने योजना तयार गर्नैपर्छ र तिनलाई सबै खालका आदर्शवाद र यान्त्रिक भौतिकवाद विरुद्ध जुध्न तयार गराउँनु पर्दछ ।” – माओ त्सेतुङका संकलित रचनाहरु, भाग ५, पृष्ठ १२३, विश्व नेपाली पुस्तक सदन, बागबजार, काठमाडौँ २०६३ । माक्र्सवादी संघर्षको दर्शन बताउनुहुने कमरेड माओ त्सेतुङले यहाँनीर दर्शनलाई व्यवस्थित रुपले जनताका बीचमा पु¥याउनुपर्ने आवश्यकतामाथि विशेष जोड दिनुभएको छ । दर्शनलाई जनताका बीचमा पु¥याउनका लागि सर्वप्रथम क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना नेता कार्यकर्ताहरुलाई दर्शनका विषयमा, मालेमावादका बारेमा गहन अध्ययन र स्कुलिङ गराउन जरुरी हुन्छ । किनभने कम्युनिस्ट पार्टी कार्यकर्ता आधारित जनताको पार्टी भएकोले आफ्ना नेता कार्यकर्ताहरु दीक्षित भए पछि मात्र दर्शनलाई जनताको बीचमा पु¥याउन सकिन्छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु र आम जनसमुदायलाई के कुरा बुझाउन जरुरी हुन्छ भने माक्र्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो र विज्ञान हुनुको नाताले मालेमावादी दर्शन सबैखाले आदर्शवाद, अधिभूतवाद तथा यान्त्रिक भौतिकवादका विरुद्ध वैज्ञानिक विश्वदृष्टिकोणमा आधारित छ । विज्ञान हुनुको नाताले यो दर्शनले व्यवहारिक प्रयोगको माग गर्दछ । साथै सर्वहारा वर्गको वैज्ञानिक हुनुको नाताले मालेमावादी दर्शन वर्गीय पक्षधरतामा आधारित छ र यसले सर्वहारा वर्ग तथा आम जनसमुदायको सेवा गर्दछ भन्ने कुरा बुझाउन जरुरी हुन्छ । जुन दर्शन जुन वर्ग तथा समुदायप्रति पक्षधर छ र तिनको सेवा गर्दछ त्यो दर्शनलाई त्यही वर्ग तथा त्यसै समुदायले गंभीरतापूर्वक आत्मसात् गर्न जरुरी हुन्छ । यस अर्थमा मालेमावादी दर्शनको अध्ययन कुनै विद्वानहरु, पार्टीका नेता, कार्यकर्ताहरु मात्रले होइन सिंगो जनसमुदाय र मानव समुदायको विशाल हिस्साले गर्नुपर्दछ । अनिमात्र दार्शनिक क्षेत्रमा विद्यमान सबैखाले गलत चिन्तन र प्रवृत्तिहरुमाथि विजय प्राप्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले क्रान्तिलाई सही दिशामा अगाडि बढाउन सक्छन् । माथि कमरेड माओ त्सेतुङका उक्त भनाइहरुको असली सार पनि यही नै हो ।

३) मालेमावादी दर्शनको ऐतिहासिक कार्यभार

मालेमावादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका निश्चित, विशिष्ट र बहुविध ऐतिहासिक कार्यभार छन् । ती ऐतिहासिक कार्यभारलाई यसरी संक्षिप्त रुपमा प्रस्तुत गर्न सकिन्छ–

क) अध्ययन र अनुसन्धानको विषय

यो प्राकृतिक विज्ञान र सामाजिक विज्ञानका विविध क्षेत्रहरुमा गरिने अध्ययन र अनुसन्धानका कामहरुमा मालेमावादी दर्शनको विधिलाई सही ढंगले प्रयोग गर्ने र त्यसका आधारमा विज्ञानसम्मत निष्कर्ष निकाल्ने विषयसँग सम्बन्धित प्रश्न हो । आज समाजशास्त्र, मानविकीशास्त्र र संस्कृति सहित ज्ञान विज्ञानका विविध क्षेत्रमा दार्शनिक रुपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी ( वैज्ञानिक ) अध्ययन विधिलाई लत्याउँदै अधिभूतवादी तथा आदर्शवादी विश्वदृष्टिकोणका आधारमा अध्ययन गरी अवैज्ञानिक निष्कर्षमा पुग्ने प्रक्रिया तीव्र रुपमा अगाडि बढिरहेको छ । यहाँनिर मालेमावादीहरुले यसप्रकारको अध्ययन विधिको सशक्त रुपमा विरोध तथा भण्डाफोर र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विधिलाई दृढताका साथ अवलम्बन गर्न आवश्यक छ ।

ख) वर्गसंघर्ष तथा सिंगो सामाजिक क्रान्तिका समस्याहरुको अध्ययन र समाधानको सवाल

समाजमा विद्यमान जनसमुदाय र दुश्मन वर्ग बीचका अन्तर्विरोधहरुलाई ठिक ( वैज्ञानिक ) ढंगले बुझ्ने र तिनको वैज्ञानिक ढंगले समाधान गर्ने प्रश्न नै आजको मुख्य प्रश्न हो । यो प्रश्न नयाँ जनवाद तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक दायित्वसँग सम्बन्धित रहेको छ ।

ग) दुई लाइन संघर्षलाई बुझ्ने त्यसको समाधान गर्ने प्रश्न

कम्युनिस्ट पार्टी सर्वहारा वर्गको संगठित अग्रदस्ता हो । सिंगो सामाजिक क्रान्तिक सम्पन्न गर्ने ऐतिहासिक कार्यभार बहन गरिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नयाँ ढंगको, अब्बल दर्ताको क्रान्तिकारी कम्युनिस्ट पार्टी हुन जरुरी हुन्छ । कम्युनिस्ट पार्टीले विपरीत तत्वको एकत्वलाई स्वीकार्दछ । यो प्रश्न कम्युनिस्ट पार्टी भित्रको दुई लाईन संघर्षलाई ठिकसँग बुझ्ने र त्यसको समाधान गर्ने प्रश्न हो । यो प्रश्न कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाउँदै त्यसको नेतृत्वमा सामाजिक क्रान्तिलाई सचेत तथा प्रभावकारी ढंगले अगाडि बढाउने प्रश्न हो ।

घ) दर्शनलाई जनताका बीचमा पु¥याउने र जनतामा विद्यमान सिर्जनात्मक उर्जाको उद्घाटन गर्ने प्रश्न

यो प्रश्न जनतालाई मालेमावादी सिद्धान्तले शिक्षित तुल्याउने, सिंगो जनसमुदायको सहभागीतामा सामाजिक क्रान्ति सम्पन्न गर्ने र जनताका समग्र उत्पादनमूलक, सामाजिक तथा चिनणतनमूलक गतिविधिहरुलाई योजनाबद्ध रुपमा संगठित तुल्याउँदै अगाडि बढ्ने प्रश्न हो ।

ङ) दिशाबोधको प्रश्न

दार्शनिक क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले कुनै पनि वस्तु र प्रक्रियालाई स्थिर वा शाश्वत मान्दैन र तिनलाई गति, विकास र परिवर्तनको अवस्थामा हेर्दछ । यसले जीवनशील र मरणशील, नवीन र पुरातन तथा उत्पीडित र उत्पीडक शक्ति एवं वर्गका बीचको अन्तर्विरोधलाई सजीव रुपमा प्रस्तुत गर्दै समाजविकासको ऐतिहासिक दिशालाई राम्रोसँग ठम्याउँने गर्दछ ।

यो प्रक्रिया सामन्तवाद, पुँजीवाद एवं साम्राज्यवाद सहित सबैखाले प्रतिक्रियावाद तथा उत्पीडक वर्ग विनाश एवं पराजय र उत्पीडित जनसमुदाय सहित सर्वहारा वर्ग नयाँ जनवाद, वैज्ञानिक समाजवाद एवं साम्यवादको विकास एवं विजयको दिशातर्फ अगाडि बढिरहेका छन् भन्ने कुरालाई राम्रोसँग दर्शाउँछ । यो दर्शन क्रान्तिकारी र आलोचनात्मक हुनुको साथै वैज्ञानिक र आशावादी समेत रहेको छ

च) सिंगो विश्वलाई बुझ्ने र बदल्ने प्रश्न

यो प्रश्न प्रकृति जगत, मानव समाज र चिन्तनको क्षेत्रमा विद्यमान अन्तर्विरोधहरुलाई ठिकसँग बुझ्ने र तिनलाई सिंगो मानव जातिको हित अनुकूल बदल्ने प्रश्न हो ।

निष्कर्ष

क्रान्तिकारी कम्युनिस्टहरूले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका यसप्रकारका कार्यभारहरुलाई राम्रोसँग आत्मसात गरि सिंगो विश्व र आफैँलाई बदल्दै अगाडि बढ्ने महान् ऐतिहासिक अभियानमा संलग्न बन्नु अनिवार्य हुन्छ । क्रान्तिकारी कम्युनिस्टहरू सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र अन्ततः सिंगो मानव जातिकै सुन्दर, सुसंगत तथा उदात्त प्रकारको नयाँ नयाँ संसार निर्माण गर्न चहानुपर्छ । नयाँ संसार भनेको वर्गविहिन, राज्यविहि वैज्ञानिक साम्यवादी संसार हो ।

(लेखक ः वरिष्ठ माक्र्सवादी लेखक र अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु