के हो जनताको जनवादी अधिनायकत्व ?

२०८० फाल्गुन १ गते, मंगलवार

हस्तबहादुर केसी

समाजवादमा पनि वर्ग संघर्ष विद्यमान रहन्छ – माओ त्सेतुङ

 जनताको जनवादी अधिनायकत्व भनेको के हो ? यो व्यवस्था कहिले र कसको नेतृत्व कहिले कायम हुन्छ ? यो व्यवस्था मानव समाजको विकासको कुन क्रममा स्थापना गरिन्छ ? त्यसपछि कुन राज्य व्यवस्था लागू गरिन्छ ? भन्ने जस्ता महत्वपूर्ण प्रश्न र जिज्ञासा हाम्रो समाजमा प्रसस्तै सुन्न पाइन्छ । यस लेखमा सर्वसाधारण पाठकहरुले अर्थात् आमपाठकहरुले बझ्न सक्ने गरी सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ ।

जनताको जनवादी अधिनायकत्व एउटा अर्ध सामन्ती र अर्धऔपनिवेशिक ÷ नवऔपनिक अवस्थामा रहेको देशमा गरिने नयाँ क्रान्ति अर्थात् नयाँ खाले पुँजीवादी क्रान्ति सम्पन्न गरिसकेपछि निर्माण राजनीतिक व्यवस्थाको नाम हो । यसमा क्रान्तिको मोडल नयाँ जनवादी क्रान्तिको मोडल, गाउँदेखि शहर कब्जा गर्ने मोडल, ग्रामीण इलाकाकाहरुमा स्थानीय जनसत्ता निर्माण गर्दै गुरिल्ला वार ( छापामार युद्ध) मोडल अर्थात् दीर्घकालीन जनयुद्धको मोडल पहिलो मोडल हो भने समय र परिस्थिति अनुसार, विश्व परिस्थितिअनुसार सशस्त्र जनविद्रोह (शहरीया आम विद्रोह) मार्फत् शहरमा सशस्त्र जनविद्रोहमार्फत् केन्द्रीय सत्ता कब्जा गरेर क्रान्तिलाई गाउँतिर लैजाने मोडल । यी दुई मोडल मध्ये पहिलो मोडल महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको मोडल हो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सन १९४९ अक्टोबर १ का दिन कमरेड माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले सम्पन्न गरेको मोडल । दोस्रो मोडल अझैसम्म कुनै पनि लागू भएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) आफ्नो पोखरा राष्ट्रिय भेलाबाट पारित गरिसकेको छ । हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको क्रान्तिको मोडल पनि यही दोस्रो मोडलको रुपमा रहेको जनयुद्धको जगमा सशस्त्र जनविद्रोहमार्फत् शहरबाट केन्द्रीय सत्ता कब्जा गरेर क्रान्तिलाई गाउँतिर लैजाने मोडल हो । स्मरणीय कुरा के छ भने तत्कालीन अवस्थामा रहेको रुसमा महान् लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक) ले सन १९१७ अक्टोबर २५ (रुसी नयाँ पात्रो अनुसार सन १९१७, नोभेम्बर ७) क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद लागू गरिएको इतिहास विश्व कम्युनिस्ट आन्दोलनमा एक शिक्षाको रुपमा रहेको छ । तर, यहाँ एउटा अर्धसामन्ती तथा अर्ध उपनिवेशिक÷नवऔपनिवेशिक अवस्थामा रहेको नेपालमा गरिने क्रान्तिको बारेमा विश्लेषण गरिएको हो । किनभने नेपाल आजसम्म पनि अर्ध सामन्ती र अर्धऔपनिवेशिक÷नवऔपनिवेशिक अवस्थामा रहेको नेपालमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । नयाँ खाले पुँजीवादी क्रान्ति हो । यस क्रान्तिमा सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्व हुन्छ र यो क्रान्ति मजदुर – किसान एकतामा आधारित सम्पन्न हुने क्रान्ति हो ।

यो क्रान्तिमा कुन कुन वर्गहरुले भाग लिन्छन् ? (सहभागी बन्छन् ?) भन्ने कुरा प्रमुख विषय हो । हाम्रो देश नेपाल एउटा अर्धसामन्ती र अर्ध उपनिवेशिक ÷ नवऔपनिवेशिक अवस्थामा रहेको देश भएकोले महान् नयाँ नेपाली जनवादी क्रान्ति भनेको सामन्तवाद – साम्राज्यवाद विरोधी क्रान्ति हो । आज नेपालमा सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्तको दलाल संसदीय व्यवस्थालाई ध्वस्त पारेर मात्र जनताको नयाँ जनवादी व्यवस्था निर्माण गरिनेछ ।

यस क्रान्तिमा कुन कुन वर्गले भाग लिन्छन् भन्ने प्रश्नमा यसको जवाफ हो यस क्रान्तिमा मजदुर – किसान वर्ग मुख्य क्रान्तिका शक्ति हुन्छन् भने राष्ट्रिय पुँजीपति वर्गदेखि तलको औद्योगिक मजदुर (सर्वहारा वर्ग) धनी वर्ग, शहरीया मध्ये वर्ग, निम्न मध्ये वर्ग, शहरीया गरीब वर्ग र धनी किसानदेखि तलको कृषि मजदुर वर्ग अर्थात् धनी किसान, मध्येम वर्गीय किसान, निम्न मध्यम किसान, गरीब किसान, भूमिहिन किसान समेत क्रान्तिका सहयोगी शक्ति हुन् । यो क्रान्ति माथि उल्लेखित वर्गहरुकाबीचमा संयुक्त राजनीतिक मोर्चा गठन गरिनेछ ।

यसरी राष्ट्रिय पुँजीपति वर्गदेखि औद्योगिक मजदुर वर्ग र धनी किसानदेखि कृषिहर मजदुर वर्गले भाग लिने र क्रान्तिलाई सहयोग गरेकोले यिनै राष्ट्रिय पुँजीपति वर्गदेखि औद्योगिक मजदुर वर्ग र धनी किसान देखि कृषिहर मजदुर वर्ग सहितको संयुक्त सहभागीतामा अर्थात् क्रान्तिका मुख्य र सहायक शक्तिका रुपमा रहेका यिनै वर्गको सामुहिक स्वामित्व र सहभागीमा आधारित जनताको जनवादी अधिनायकत्व रहने गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरिन्छ ।

यस व्यवस्था “जमिन जोत्नेको, घर लिप्नेको” अर्थात् “जसको जोत उसको पोत” को नारा दिइन्छ । यस व्यवस्थामा मुलुकको सम्पूर्ण उद्योगधन्दा तथा कलकारखानाहरु राष्ट्रियकरण गरिन्छ । सामन्त तथा जमिन्दारको जमिन खोसेर (जफत) गरेर किसानहरुलाई बाँडिन्छ । किसानहरु जमिनका मालिक बन्दछन् । र, यस व्यवस्था जनता देशका मालिक बन्छन् । यस प्रकारको व्यवस्थालाई जनताको जनवादी अधिनायकत्व सहितको नयाँ (नौलो) जनवादी व्यवस्था भनिन्छ र यो व्यवस्था वैज्ञानिक समाजवादमा फड्को मार्नका लागि पुलको काम गर्दछ । अर्थात् नयाँ जनवादी राज्यव्यवस्था वैज्ञानिक समाजवाद निर्माणका लागि बीचको संक्रमणकालीन राज्य व्यवस्था हो ।

 जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी व्यवस्था एउटा वर्गीय व्यवस्था भएकोले यहाँ वर्ग संघर्ष विद्यमान रहन्छ । अर्थात् यहाँ पनि वर्ग संघर्ष जारी रहन्छ । त्यति मात्र होइन वैज्ञानिक समाजवादी व्यवस्था पनि वर्गीय व्यवस्था हो । त्यहाँ पनि मजदुर वर्ग पहिलो वर्ग, शासक वर्ग अर्थात् सत्तारुढ वर्गका रुपमा रहेको हुन्छ भने पुँजीपति वर्ग दोस्रो वर्गका रुपमा रहेको हुन्छ । त्यसैले कमरेड माओ त्सेतुङले “समाजवादमा वर्ग विद्यमान रहन्छ” भन्नुभएको छ ।

जनताको जनवादी अधिनायकत्व कायम गरिएको त्यस व्यवस्थाले हिजो क्रान्तिका विरुद्ध उत्रिएका सामन्त र साम्राज्यवादका दलालहरु, देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु, देशीय, सामन्तीहरु, क्रान्ति विरोधी दलाल तथा नोकरशाही पुँजीपति वर्गहरु, क्रान्तिका सम्पूर्ण शत्रु तथा अपराधीहरुलाई कडा भन्दा कडा कार्वाही मार्फत्, दण्डित गरेर समूहनष्ट गरेर ठिकसँग ठेगान लगाएर मात्र वैज्ञानिक समाजवादमा प्रवेश गरे पछि प्रतिक्रारी शक्तिलाई टाउको उठाउन नदिने गरेर मात्र वैज्ञानिक समाजवादमा प्रवेश गर्नुपर्ने हुन्छ । महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि कमरेड माओको नेतृत्वमा चिनियाँँ कम्युनिस्ट पार्टीले विश्व मै पहिलोपटक जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरिएको थियो । र सन १९५४ सालमा चीनमा नयाँ संविधान बनाइएको थियो र कमरेड माओ त्सेतुङलाई राष्ट्राध्यक्ष्यमा निर्वाचित गरेको थियो । तर, चीनमा जनताको जनवादी अधिनायकत्व सही रुपमा लागू हुन सकेको थिएन । शुरु मै कमरेड माओ र रुसी ख्रुश्चोवी आधुनिक संशोधनवादका चिनियाँ चेला ल्यू शाओ चिको गद्धार गुटबीच वैचारिक विवाद शुरु भएकोमा थियो । कमरेड माओले “चीनमा यतिबेला राजनीतिक संघर्ष पहिलो हो र प्राकृतिक आर्थिक (प्राकृतिक) संघर्ष दोस्रो हो” भन्नुभएको थियो र त्यो सही थियो भने किनभनेचीनमा त्यतिबेला राजनीतिक संघर्ष समाप्त भएको थिएन । ल्यू शाओ चि गद्धार गुटले भने “चीनमा यतिबेला राजनीतिक संघर्ष समाप्त भयो, आर्थिक (प्राकृतिक) संघर्ष पहिलो हो” भनेर अर्थवादी दृष्टिकोण अगाडि सारेको थियो । ल्यू शाओ चिको उक्त दृष्टिकोण नितान्त संशोधन वादी – सुधारवादी एवं अवसरवादी थियो ।

यी विपरीत विचारहरु समाधान नगरिएकै अवस्थामा सन १९५६ चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनको आयोजना गरिएको थियो । उक्त महाधिवेशनमा गद्दार ल्यू शाओ चि गुटले दस्तावेजीय रुपमा आफ्नो संशोधनवादी राजनीतिक दस्तावेज प्रवेश गरायो । त्यसपछि चीनमा प्रतिक्रान्तिले प्रवेश ग¥यो । त्यसका विरुद्ध कमरेड माओले सन १९६६ देखि १९७६ सम्म महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको सफल नेतृत्व गर्नु भयो । महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा वर्गको नेतृत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त मानिन्छ । यसैलाई नै पछि माओवाद भनियो । आज माक्र्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्ति पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ र माओवादलाई आत्मसात गर्न नसक्नेहरु सच्चा क्रान्तिकारी कम्युनिस्ट मानिँदैनन् र उनीहरूलाई क्रान्तिको नेतृत्व गर्ने कुरै आएन ।

यो चिनियाँ कम्युनिस्ट पार्टी बीचको दुई लाइन संघर्षको इतिहास विश्व कम्युनिस्ट आन्दोलन र विश्व सर्वहारा वर्गका निम्ति एउटा शिक्षाको रुपमा रहेको छ ।

आज नेपालमा नयाँ जनवादी क्रान्तिको नेतृत्व गरिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र नयाँ क्रान्तिका पक्षधर कम्युनिस्ट पार्टीहरुले सामरिक कार्य दिशाका रुपमा वर्तमान दलाल संसदीय व्यवस्थाको विकल्पमा जनगणतन्त्रात्मक व्यवस्थालाई अगाडि सार्दै आएका छन् र नेपाली विशिष्ठताका आधारमा महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने रणनीतिक लक्ष्य बनाइरहेका छन् । र, महान् नेपाली नयाँ जनवादी क्रान्ति अवश्यम्भावी बन्न गएको छ ।

(लेखक ः वरिष्ठ माक्र्सवादी लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु