वर्तमान संकट संसदीय व्यवस्थाको संकट

२०८० माघ २९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य सन्जीव सीले वर्तमान संकट संसदीय व्यवस्थाको संकट भएको ठोकुवा गरेका छन । नेकपा दाङको शान्तिनगर गाउँपालिकाले आइतबार आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र पेश गर्दै उनले सो ठोकुवा गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सन्जीव सीले भने – ‘ मुलुक अहिले गम्भीर संकटमा छ भन्ने कुरा हामीले मात्रै होइन सरकारमै भएका मान्छेहरुलेसमेत भन्ने गरेका छन् तर त्यसको निकासको बारेमा कसैले पनि चिन्ता गरेको देखिदैन । हामीले अहिलेको भनेका छौँ अहिले संकट केवल अमुख पात्र र व्यक्तिको मात्रै संकट नभएर संसदीय व्यवस्थाको संकट हो । यसको निकास नेपाली विशेषताको समाजवाद हो भन्ने हाम्रो निष्कर्ष हो । हामी नेपालका सबै राजनीतिक दललाई नेपाली विशेषताको समाजवाद जाऔं भनेर अपिल गरिरहेका छौँ , यदि त्यसो गरिएन भने मुलुक बर्बादीतिर जानेछ।’
नेता सन्जीव सीले राष्ट्रघाती एमसीसी परियोजना लगाएतका तमाम राष्ट्रघाती सन्धी-सम्झौताहरु पूर्ण खारेजी गर्नुपर्नेसमेत बताए ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदीप सी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत , गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनीका प्रमुख रुद्र सी , शान्तिनगर २ का वडा अध्यक्ष सुनिल वली , नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक केसी , नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रतिनिधि देवराज रिजाल , नेकपा एमालेका खुम बहादुर वली , माओवादी केन्द्र शान्तिनगरका अध्यक्ष नेप बहादुर रोका , माओवादी केन्द्र क्षेत्रीय निर्वाचन संयोजक मोहन वली , जेष्ठ नागरिक मन्च लुम्बिनी प्रदेश सदस्य नर बहादुर वली , नेकपा एस शान्तिनगरका अध्यक्ष खम्बु जैसी , विव्यस अध्यक्ष देवराज मल्ल , सामुदायिक वनका अध्यक्ष लक्ष्मण केसी , अखिल (क्रान्तिकारी) पश्चिम दाङका जिल्ला कमिटी सदस्य केवी वली लगाएतले अवधारणा पत्रमाथि टिप्पणी व्यक्त गरेका थिए ।
नेकपा पश्चिम दाङका जिल्ला सदस्य मनोज सीको सञ्चालनमा सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा शान्तिनगरका इन्चार्ज सुधार सीले गरेका थिए ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य विजय सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी र नेकपा बबईका इन्चार्ज उज्वल सीको समेत आतिथ्य रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु